‘दलित’ भन्दै घरनिकाला

कान्तिपुर संवाददाता

सल्यान — कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् ।

‘दलित’ भन्दै घरनिकाला

२१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासु(ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट लखेटे,’ उनले भनिन्, ‘म त जसरी पनि बाँच्थे होला, छोरीलाई के खुवाएर बचाउने भन्ने चिन्ता छ ।’


चार महिनाअघि घरबाट निकालिएकी उनी कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारिरहेकी छन् । यही पीडा पोख्न उनी अहिले सदरमुकाम आएकी हुन् । श्रीमानका साथै सासू प्रीतिकला र ससुरा भागीराम मिलेर घरबाट निकालेको उनले बताइन् । ‘आहारा नपुगेर छोरी रोइरहन्छे, कहाँबाट ल्याएर खुवाउँ ?’ उनले भनिन्, ‘आफन्त र गाउँघरकाले पनि कति दिन खान दिउन् ?’ घरनिकाला गर्नेविरुद्ध उजुरी गरे पनि कारबाही नभएको बताइन् ।


एलिसाले जातीय छुवाछूतको पीडा बिहे भएको केही दिनमै पाउन थालिसकेकी थिइन् । सासू(ससुराले बिहेलगत्तै छोरा(बुहारीलाई घरबाट निकालेका थिए । तर, श्रीमान् टीकाराम घर फर्केर बाआमासँग बस्न थाले भने एलिसा माइतीको शरणमा पुगिन् ।


‘दुवैलाई घरबाट निकाल्दा त केही पिर थिएन, उनी (श्रीमान्) घर फर्किएपछि भने एक्लो महसुस भयो,’ उनले भनिन्, ‘हुँदाहुँदा बाआमासँग मिलेर मैमाथि अन्याय गर्न थाले ।’ छोरी जन्मिएपछि एलिसा घर फर्किइन् । तर, परिवारले घर बस्न दिएन । बरु जिउलाको गोठमा गएर बस्न भन्यो । उनी श्रीमान्सँगै केही दिन गोठमै बसिन् । श्रीमान्ले पनि रातदिन रक्सी खाएर कुटपिट गर्न थाले । ‘गोठमै भए पनि खानेकुरा जुटाउलान् भनेको त उल्टै रक्सी खाएर कुट्न थाले,’ उनले भनिन्, ‘जति सम्झाउँदा पनि भएन, त्यसपछि त सँगै बस्न सक्ने अवस्था रहेन ।’


दूधे छोरीसँग गोठमा बसिरहेको बेला सासू(ससुरा आएर मार्ने धम्की दिन थालेपछि जीवनमा थप त्रासदी थपिएको उनले सुनाइन् । धारिलो हतियार ल्याएरै आएपछि भागेचौरस्थित इलाका प्रहरीमा शरण माग्न गएको उनको भनाइ छ । ‘मैले उजुरी दिएपछि प्रहरीले श्रीमान् र सासू(ससुरालाई चौकीमा ल्यायो, तर मिलापत्र गराउन खोज्यो,’ उनले भनिन्, ‘त्यसपछि त उनीहरू प्रहरीकै अगाडि कुटपिट गर्न थाले, प्रहरीले पनि केही गर्न सकेन ।’ अहिले सुरक्षा खतरा बढदै गएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनले बताइन् 

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?