३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आरोहीको आँखा नयाँ शिखरमा

‘नामै नसुनिएका अत्यन्तै नयाँ चुचुरा खोज्ने क्रम अहिले बढेको छ’
कुम्भराज राई

ओखलढुंगा — काइटु एक्सपिडिसन प्रालिमा आबद्ध पर्वतारोही तथा पथप्रदर्शक निमातेन्जी शेर्पाको टोलीले विगत चार वर्षयता नयाँ तीन शिखर आरोहण गरे । गतवर्ष रोल्वालिङ उपत्यकाको लाङडुङ हिमालमा पहिलोपटक आरोहण गरेको थियो ।

६ हजार ३ सय ५७ मिटर अग्लो लाङडुङमा निमासहित चारजनाले पहिलो पाइला टेकेका हुन् ।


गतवर्ष तीन पटकको प्रयासपछि डेभिड लामाले रोल्वालिङकै लुनाग्री हिमाल आरोहण गरे । ६८९५ मिटर उचाइको लुनाग्री आरोहण गर्ने पहिलो आरोहीका रुपमा उनको नाम दर्ज भयो । निमातेन्जी र डेभिड उदाहरणमात्र हुन् । स्वदेशी र विदेशी आरोही अहिले नयाँ शिखर आरोहणका लागि अवसर खोजिरहेका छन् ।


‘आरोहण नभएका नयाँ शिखर थुप्रै छन् । जसलाई प्रवद्र्धन गर्न सकिएको छैन ।’ निमातेन्जीले भने, ‘त्यसैले हामीले आरोहण नभएका नयाँ शिखर खोजिरहेका छौँ । त्यसमा विदेशी आरोहीको पनि उत्तिकै आकर्षण छ ।’ पछिल्लो केही वर्षमा आरोहण भएका नयाँ शिखरहरूमा लार्के पिक, पाङबुक दक्षिण, नाङपाई गोसुम, फुंगी हिमाल, चेकिगो सानो, बामाङ्गगो, पान्द्रा, खाङकार्पो, नुप्त्से उत्तरपश्चिमलगायत छन् ।


नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पासमेत पछिल्लो समय आरोहीले नयाँ (भर्जिन) हिमाल आरोहणका लागि आकर्षित भएको स्वीकार्छिन् । ‘नयाँ शिखर आरोहणपछि नयाँ कीर्तिमानी रहन्छ । अनुभव पनि नयाँ हुन्छ,’ उनले भनिन्, ‘सुनिएका भन्दा नसुनिएका अत्यन्तै नयाँ चुचुरो खोज्ने क्रम पहिलेभन्दा बढेको छ ।’


नयाँ शिखर आरोहण क्रम बढ्नु पर्यटन र पर्वतारोहण क्षेत्रका लागि फाइदाजनक भएको उनले बताइन् । ‘नयाँ शिखर आरोहणबारे जानकारी भएपछि विदेशीहरू पनि खोज्दै आउँछन् । शिखर र त्यसक्षेत्रको पर्यटन प्रवद्र्धन हुन्छ । पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै यसबाट पुग्ने सबै किसिमका लाभ देशका लागि वृद्धि हुन्छ,’ उनले थपिन् ।


४ सय १४ शिखर आरोहणका लागि पर्यटन विभागले खुला गरेको छ । यीमध्ये पछिल्लो समय एकदमै नयाँ अर्थात् कसैले आरोहण नगरेको शिखर खोज्ने विदेशी र नेपाली आरोहीको संख्या बढेको विभागको पर्वतारोहण शाखाका अधिकृत हुमनाथ पाण्डेले बताए ।

नेपालभित्र प्रमाणित भएका ८ हजार मिटरभन्दा अग्ला १४ शिखर छन् । पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटरभन्दा माथिका १ हजार ३ सय १० शिखर छन् ।


सन् २०१८ को वसन्त ऋतुमा २९ चुचुरोमा १ सय ७ समूहका ८ सय ४४ आरोहीले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि ३८ समूहका ३ सय ४६ र ल्होत्सेका लागि १० समूहका १ सय ७ जना थिए । विभिन्न पाँच चुचुरोमा एकल आरोहणका लागि अनुमति लिएका थिए ।


हिमाल आरोहण अनुमतिका लागि उचाइ र ऋतुअनुसार पर्यटन विभागले फरक फरक राजश्व लिने गर्छ । सगरमाथा आरोहणका लागि नेपालतर्फबाट वसन्त ऋतुमा एक विदेशी आरोहीलाई ११ हजार डलर बुझाउनुपर्छ । शरदका लागि ५ हजार ५ सय ५० र शिशिर र वर्षा ऋतुमा २ हजार ७ सय ५० डलर बुझाउनुपर्छ । त्यसैगरी नेपालीका लागि भने नेपालतर्फबाट सगरमाथा आरोहण गर्न राजश्व शुल्क वसन्त ऋतुका लागि ७५ हजार रुपैयाँ तोकिएको छ ।


पर्यटन उद्योगमा दर्ता भएका ट्रेकिङ एजेन्सीको संख्या हेर्ने हो भने आर्थिक वर्ष ०७४/७५ को जेठ मसान्तसम्म २ हजार ५ सय ५२ रहेका छन् । ट्राभल एजेन्सीको संख्या ३ हजार ३ सय ४९ छन् । ट्रेकिङ गाइडको संख्या १३ हजार १० छन् । पर्वतारोहण अनुमतिबाट सरकारले ०७४/७५ पुस मसान्तसम्ममा मात्र ४६ करोड ५८ लाख ३५ हजार ९ सय ५० रुपैयाँ संकलन गरेको थियो । जुन रकम अघिल्लो आवको तुलनामा ७ करोड बढी हो ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?