खेल मैदान निर्माणको लहर

प्रदेश १ ब्युरो

विराटनगर — फुटबललगायत खेलमा खेलाडी र दर्शकको रुचि बढिरहेका बेला पूर्वका विभिन्न गाउँ–नगरमा खेल मैदान बनाउने लहर चलेको छ । पहिलेदेखि भएका मैदान व्यवस्थित पार्ने र स्तरोन्नति गर्न थालिएको हो । यसमा स्थानीय तहहरूले लगानी गरेका छन् ।

खेल मैदान निर्माणको लहर

इलाम नगरपालिका २ सुम्बेकमा गएको माघमा फुटवल प्रतियोगिता भयो । यसअघि स्थानीय सुम्बेक माविको खेल मैदानमा गरिएको प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध हुनुका साथै मैदान पनि सानो भएकाले वडा कार्यालयले नयाँ विकल्प खोजेर प्रतियोगिता गराएको थियो ।


वडा कार्यालय नजिकै मैदान सम्याएर प्रतियोगिता गरियो । ‘मैदान अभाव पहिलेदेखि खड्किएकाले ५ रोपनी जग्गा यसअघि गाविस हुँदै खरिद गरिएको थियो,’ वडाध्यक्ष नारद लम्सालले भने, ‘अहिले नगरपालिकाको सहयोगमा साडे ४ रोपनी जमिन खरिद गरेर सम्याइएको हो ।’ यो मैदानलाई विद्यालयले समेत प्रयोग गर्ने व्यवस्था गरिएको छ ।


इलाम नगरपालिकाकै वडा ९ घट्टिटारमा पनि खेल मैदान निर्माण भइसकेको छ । त्यस्तै वडा नम्बर ३ को पुवामझुवा र ८ को महभिरमा पनि मैदान निर्माणको काम अघि बढेको छ । फाकफोकथुम ४ फूएतप्पाको लिम्बूगाउँका बासिन्दा पनि के कम । उनीहरूलाई अहिले गाउँपालिका या कुनै सरोकारवाला निकायको सहयोग छैन । तर मंसिरको अन्तिममा प्रतियोगिता गरेरै छाडे । उनीहरूले उनीहरू घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माण गरेका हुन् ।


खेलमैदानको अभाव पूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग संकलन गरिएको छ । ‘नजिकै मैदान नभएकाले स्थानीयले मन फुकाएर सहयोग गरेका हुन्,’ समूहका सचिव दिपक योङहाङले भने, ‘अव मैदान विस्तार र स्तर वृद्धिका लागि गाउँपालिका र सरोकारवाला निकायले सहयोग गर्छन् भन्नेमा आशावादी छौं ।’


गच्छेअनुसार १ हजारदेखि २० हजार रुपैयाँसम्म रकम संकलन गरेर मैदान निर्माण गरिएको हो । तिहरमा देउसीभैलो खेलेर उनीहरूले ४७ हजार रुपैयाँ सकलन गरेका थिए । चन्दा र देउसीभैलोबाट संकलित रकमवाट ६ रोपनी जग्गा खरिद गरी ‘चासोक तङनाम खेलमैदान’ निर्माण भएको हो ।


जिल्लाका अन्य क्षेत्रमा पनि नयाँ मैदान बनाउने र पुरानोलाई विस्तार र व्यवस्थित गर्ने क्रम बढेको छ । पूर्वको चर्चित गजुरमुखी धाममा कात्तिके पूर्णिमामा मेलाको अबसरमा योपटक फुटबल प्रतियोगिता थपियो । मेलको आर्कषणकोरुपमा रहेको फुटबल प्रतियोगिता पहिलो पटक यहाँ आयोजना भएको थियो ।


मेला लाग्ने निश्चित भए पछि लेभेन साइडको मैदान तत्काल निर्माण गरियो । स्थानीयको सहभागितासँगै माङसेबुङ गाउँपालिकाको सहयोगमा नयाँ मैदान निर्माण गरिएपछि प्रतियोगिता आयोजना गर्न नै स्थानीय सफल रहे । देउमाई खोला किनारमा जमिन व्यवस्थापन गरेर नयाँ मैदान बनाइएको हो ।


व्यवस्थित हुँदै रंगशाला

विराटनगरमा दुइटा रंगशालालाई व्यवस्थित गरिएको छ । सहिद रंगशलालाई फुटबलका लागि र बैजनाथ रंगशालालाई क्रिकेट, सफ्ट टेनिस र सुटिङ खेलका लागि व्यवस्थित गरिएको छ ।


दुई करोड रुपैयाँ लागतमा सहिद मैदानलाई व्यवस्थित पार्ने काम भइरहेको छ । यही रंगशालामा फागुन २८ देखि चैत ८ सम्म पाँचौं महिला साफ च्याम्पियनसीप प्रतियोगिता हुँदैछ । त्यसका लागि महानगरको एक करोडको लागतमा खेलाडीका लागि ड्रेसिङ रुम र मैदानको थप लेबलिङ गर्ने काम भइरहेको छ ।


यसअघि रंगशलाको स्तर वृद्धि गरी दर्शक अटाउने क्षमता बढाउन र रात्रिकालीन लाइटको व्यवस्थाका लागि विराटनगर महानगरले १ करोड ३० लाख र राष्ट्रिय खेलकुद परिषद्ले ६५ लाख रुपैयाँ लगानी गरेर व्यवस्थीत वनाइएको थियो ।


रंगशालामा ६० लाखको लागतमा सोलार बत्तीको व्यवस्था गरिएको छ । स्तर र क्षमता वृद्धिसँगै अब यो रंगशलामा ९ हजार दर्शक अटाउछन । जिल्ला खेलकुद मोरङका प्रमुख देवराज कटुवालका अनुसार स्तर र क्षमता वृद्धि पहिला सहिद मैदानमा ७ हजार ५ सय दर्शक अटाउने क्षमता थियो ।


राष्ट्रिय खेलकुद परिषद्ले मोरङको बैजनाथपुर रंगशलामा अत्याधुनिक क्रिकेट मैदान निर्माण गरेको छ । परिषदको १ करोड ७० लाख बजेटले मैदानसहित त्यसको वरिपरि ड्रेन र मैदानको दक्षिणतर्फ बग्ने खोल्सामा तटबन्ध निर्माण कार्य गरेको हो ।


खेलाडीको सम्मानमा तस्बिर

धनकुटाको तल्लो टुँडिखेलको प्याराफिटको भित्तामा चार व्यक्तिको आकर्षक तस्बिर सजिएको छ । यो कुनै नेता तथा अभिनेताको तस्बिर भने होइन । धनकुटाबाट खेलयात्रा सुरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल पहिचान बनाएका खेलाडीको सम्मानमा चित्र बनाइएको हो ।


धनकुटाको माटोमा फुटबल खेल्दै उच्च पहिचान बनाएका किरण चेम्जोङ, सुजल श्रेष्ठ, बुद्ध चेम्जोङ र कराँते खेलमा नामअनुसार कुशल खेलाडी कुशल श्रेष्ठको तस्बिर प्याराफिटको भित्तामा सजिएका छन् । पछिल्लो समय माल्दिभ्समा समेत उत्कृष्ट गोलकिपरबाट पुरस्कृत किरण जिल्लाको चौबिसे गाउँपालिकास्थित राजारानीका बासिन्दा हुन् ।


यस्तै, धनकुटा ७ हुलाकटोलका सुजल जसले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको जित दिलाउन निर्णायक गोल गरिसकेका छन् । अर्का चर्चित फुटबलर बुद्ध पनि राजारानी निवासी हुन् । करातेमा साफ गेममा समेत स्वर्णपदक विजेता कुशल चित्रमा समेटिएका छन् ।


ती चित्र अघिल्लो वर्ष नै कलाकार अनिल सुब्बाको अगुवाइमा विभिन्न कलाकारले बनाएका थिए । श्यामश्वेत चित्रले प्याराफिट र समग्र टुँडिखेलको नै शोभा दिएको जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द राई बताउँछन् । ‘धनकुटावासीले खेलाडीलाई कत्तिको माया गर्छन् भन्ने यसले पुष्टि गरेको छ’, उनले भने, ‘यसै माटोबाट खेल जीवन सुरु गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्दामा उत्कृष्ट प्रस्तुति गर्ने खेलाडीलाई सम्मान दिइएको हो ।’


अघिल्लो वर्ष विभिन्न मुलुकका कलाकारले प्रस्तुत गरेको पर्फमेन्स आर्टको क्रममा खेलाडीको चित्र बनाइएको देउराली युवा क्लबका सचिव विपिन राजभण्डारीले बताए । पछिल्लो समय मनाङ मस्र्याङी टिमका प्रशिक्षक सुमन श्रेष्ठ, अग्रज गोल रक्षक राजु नगरकोटीलगायत चर्चित खेलाडी छन् । यी लगायत अन्य विधाका उत्कृष्ट खेलाडीलाई समेत समेटेर कलाकारले थप चित्र बनाउने बताएका छन् ।


धमाधम मैदान

तेह्रथुमको पर्यटकीय क्षेत्र वसन्तपुरमा व्यवस्थित खेल मैदान बनाउने काम अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र निर्माण सक्ने जनाइएको छ । त्यसपछि प्रदेश स्तरीय खुला फुटबल प्रतियोगिता आयोजना हुने छ ।


देउराली भुल्केधारा सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा सहरी विकास मन्त्रालयको लगानीमा खेल मैदान निर्माण भइरहेको हो । पहिलेको खेल मैदानको क्षेत्रफल बढाएर व्यवस्थित बनाउन लागिएको नयाँ शहर आयोजना कार्यालय वसन्तपुरका ईन्जिनियर रोषन नेपालले बताए ।


आयोजना कार्यालयको ४० लाख रुपैयाँ सहयोगमा गत वर्षबाट काम सुरु गरीएको खेल मैदान निर्माणका लागि यो बर्ष ३ करोड २१ लाख बजेट आएको छ ।


खेलाडीलाई समस्या

पछिल्लो समय खेलकुद हबका रूपमा विकास गर्न संखुवासभाका खेलसम्बद्ध निकाय, स्थानीय तह र क्लवहरू लागेका छन् । भलिबल, फुटबल र ब्याडमिन्टनका प्रतियोगिताहरू ठूलो धनराशि खर्च गरेर हुने गरेको छ । खेलहरूमा जिल्लाबाट राष्ट्रिय स्तरका खेलाडीहरू उतिकै संख्यामा उत्पादन भइरहेका छन् । १० लाख बढी राशिका वार्षिक दर्जन प्रतियोगिता हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले बताए ।


तर, जिल्लामा म्याराथुन प्रतियोगिताको आयोजना भने न्यून हुन्छ । वर्षमा दुई पटकसम्म सञ्चालन गरिने म्याराथुनमा धावकहरूको उल्लेख्य उपस्थिति रहे पनि अन्य खेलका प्रतियोगिता जस्तै ठूलो राशिको पुरस्कार र ठूलो प्रतियोगिता भने अझै हुन सकेको छैन ।

विनोद भण्डारी (विराटनगर), विप्लव भट्टराई (इलाम), रमेशचन्द्र अधिकारी (धनकुटा), चन्द्र कार्की (तेह्रथुम), दीपेन्द्र शाक्य (संखुवासभा)

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?