२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

छानबिन समितिको निष्कर्ष : मन्त्रीकै ‘उस्काहट’ मा मन्त्री–सचिव कुटाकुट

मन्त्री भेट्दा सचिवले टेरेनन् भन्ने सचिवलाई आफ्नो अडान नछाड्न भन्दै उक्साएर घटना घट्यो
कान्तिपुर संवाददाता

जनकपुर — उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवकै उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

पुस अन्तिम साता मन्त्री–सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री–सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार पारेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । स्रोतका अनुसार मन्त्री–सचिवबीच टकराव र कुटाकुटको अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख छ ।


मन्त्री–सचिवबीच कुटाकुटपछि आन्तरिक मामिलामन्त्री यादव संयोजकत्वमा गठन भएको समितिमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव हरि फुयाल सदस्य छन् । कर्मचारी आन्दोलनमा उत्रिएपछि समितिमा कर्मचारी संगठनलाई पनि समावेश गरियो । ‘मन्त्री–सचिवबीच कुटाकुटको अवस्था कसरी आयो ? हामीले यो पाटोमा पनि अनुसन्धान थाल्यौं,’ छानबिन समिति स्रोतले भन्यो, ‘विभागीय मन्त्रीले अरु मन्त्रालयका मन्त्री र आफ्नै मन्त्रालयका सचिवलाई उक्साएको देखिन्छ । झगडाको मूल जड यही हो ।’


सात दिनको म्याद दिएर गठन गरिएको समितिले झन्डै १ महिना समय लम्ब्याएर मन्त्री–सचिव कुटाकुटको प्रतिवेदन तयार पारेको हो । मुख्यमन्त्री लालबाबु राउतलाई बुझाउन बाँकी रहेको प्रतिवेदन गोप्य राखिएको छ । उद्योगमन्त्री रायले आफ्ना मन्त्रालयका सचिव झा र आर्थिक मामिला मन्त्री यादव दुवैलाई ‘मिस गाइड’ गरेर उनीहरूबीच तनावको स्थिति बनाएको थियो । ‘मन्त्री रायले सचिवले टेरेन भनेर आर्थिक मामिला मन्त्रीलाई उक्साए । अरु मन्त्रीले अराएको नटेर्नुस् भनेर सचिवलाई उचालेको देखिन्छ,’ स्रोतले भनेको छ, ‘मन्त्री–सचिवबीच तनाव बढ्नुको कारण यही हो ।’


ससर्त अनुदानमा प्रदेश २ उद्योग मन्त्रालयले ८ वटै जिल्लामा उद्यम कार्यक्रम लागू गर्न एनजिओ छनोटमा लफडा परेपछि आर्थिक मामिला मन्त्री यादव र सचिव झाबीच कुटाकुट भएको थियो । उद्योगमन्त्री रायले आफूले रुचाएको र सिफारिससमेत गरेको एनजिओ छनोटमा नपरेपछि उनी सचिव झासित बिच्किए ।


उद्यम कार्यक्रमको एनजिओ छनोट जसरी पनि रोक्न विभागीय मन्त्री रायले आर्थिक मामिलामन्त्री यादवलाई उचाले । ‘आर्थिक मामिला मन्त्रीले उद्योगमन्त्री रायलाई सरकारको कानुनी सल्लाहकारसँग सल्लाह गर्न सुझाव दिए,’ स्रोतले भन्यो, ‘उहाँले बाहिर हिँडेको भन्दै कानुनी सल्लाह लिन र सचिवलाई सम्झाइदिन पनि मन्त्री यादवलाई नै अर्हाए ।’


सचिवलाई ‘सम्झाइदिन’ भन्दै तर्किएका विभागीय मन्त्री रायले भने, ‘अरु मन्त्रीले भनेको किन मान्ने, आफ्नो कुरा कडासँग राख्नुस्’ भन्दै सचिव झालाई नि थप्थपाए । ‘मन्त्री–सचिवबीच कुटाकुट हुनुको मुख्य जरो यही हो,’ स्रोतले भने । छानबिन समितिसित आर्थिक मामिला मन्त्री यादवले सचिवलाई नकुटेको तर विवाद चाहिँ भएको स्वीकारेका छन् ।


सचिव झाले भने कार्यकक्षमै बोलाएर थप्पड हिर्काएको दाबी गरेका छन् । कुटाकुटपछि सचिव झाले दिएको अश्लील गाली र व्यवहारलाई छानबिन समितिले ‘गम्भीर’ गल्ती मानेको छ ।


झाको भने मंगलबार नै प्रदेश ३ मा सरुवा भएको छ । उनको ठाउँमा काठमाडौंबाट प्रेम कडेल आएका छन् । समिति संयोजक आन्तरिक मामिलामन्त्री यादवले प्रतिवेदन तयार भइसकेको र केही दिनमै मुख्यमन्त्रीलाई बुझाउने बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?