हिउँमै स्कुल जान्छन् मनाङका बालबालिका

आश गुरुङ

लमजुङ — बाक्लो हिउँले वस्ती, बाटो र चउर ढपक्कै ढाकेको छ । तैपनि मनाङका बालबालिका अब घर बस्न पाउन्नन् । फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भएकाले उनीहरू हिउँमै स्कुल जान थालेका छन् । 

हिउँमै स्कुल जान्छन् मनाङका बालबालिका

मनाङका ४ स्थानीय तहमध्ये चामे र नासों गाउँपालिकाका विद्यालयले पठनपाठन थालेका छन् । जाडो छल्न काठमाडौं र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सञ्चालन गरिएको शिक्षकहरूले बताए । वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न सहर झरेका थिए ।

चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले भर्ना अभियानसँगै विद्यार्थी आउन थालेको बताए । उनका अनुसार हिमपात र जाडोको बीच पठनपाठन सुरु गरिएको छ । ‘हामीले मंसिर अन्तिमतिर जाँच सक्यौं,’ उनले भने, ‘परीक्षाफल प्रकाशित गरेपछि पठनपाठन बन्द गरेका थियौं । फागुन १ गतेबाट पठनपाठन सुरु गर्‍यौं ।’ उनका अनुसार हिमपात अझै भइरहे पनि पठनपाठन सुचारु छ । हिमपातले पठनपाठनमा भने समस्या पारेको उनले बताए । ‘विद्यार्थीहरू बाक्लो लुगा र गम्बुट लगाएर आउँछन्, तैपनि चिसो भयो भन्छन् । हिमपात रोकिएको छैन,’ उनले भने ।

नासों गाउँपालिका–५, थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार फागुन १ गतेबाट भर्ना अभियान सुरु भएको छ । उनले चालु शैक्षिक सत्रदेखि विद्यालयलाई आवासीय बनाउनेतर्फ लागेको बताए । मनाङको तल्लो क्षेत्रमा कक्षा १२ सम्म पठनपाठन हुने प्रकाशज्योति मात्रै विद्यालय हो । तालको भानु माविमा कक्षा १० सम्म पढाइ हुन्छ । तल्लो मनाङस्थित स्रोतव्यक्ति रामजी पन्तले पठनपाठन सुरु भइसकेको बताए । ‘गएका वर्षभन्दा १५ दिनअगावै पठनपाठन थालेका छौं । फागुन १५ पछि मात्रै पठनपाठन हुने गरेकोमा यस पटक छिट्टै पठनपाठन सुरु भएको हो,’ उनले भने ।

माथिल्लो क्षेत्रको नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको स्कुलमा भने पठनपाठन सुरु भइसकेको छैन । ती ठाउँका विद्यालयमा फागुन १६ गतेदेखि पठनपाठन हुन्छ । ‘अहिले नै विद्यालय खोलेर माथिल्लो क्षेत्रमा सकिँदैन । दिनदिनै हिमपात भइरहेको छ । विद्यार्थी हिँड्ने बाटा छैनन् । स्कुलैभरि हिउँ छ । छानाभरि हिउँ छ,’ एक शिक्षकले भने ।

चामेस्थित लोकप्रिय माविले अन्य जिल्लासरह वैशाखबाट शैक्षिक सत्र थाल्ने भएको छ । उक्त स्कुलमा माघ २० गतेदेखि पठनपाठन थालिएको छ । चैतमा परीक्षा लिने र वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । मनाङमा ११ र १२ कक्षा सञ्चालन हुने दुईसहित ४ मावि, १० आधारभूत र १२ प्रावि गरी कुल २६ वटा सामुदायिक विद्यालय छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?