३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एसईईमा प्रदेशपिच्छे प्रश्नपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ थालेको छ ।

एसईईमा प्रदेशपिच्छे प्रश्नपत्र

जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘प्रदेशमा सेक्युरिटी प्रेस छैन,’ उनले भने, ‘प्रश्नपत्र यहीँ छपाएर पठाउन लागेका हौं ।’ एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको छ ।


संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो । शिक्षा ऐनको आठौं संशोधनले एसईई परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी र एसईई परीक्षा सञ्चालन गर्दै आएका थिए ।


कार्यालय बोर्डमा गाभिएपछि प्रदेश, बोर्डको प्रदेश कार्यालय र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा चलाउन लागेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत उत्तरपुस्तिका छपाइ, परीक्षा केन्द्र सञ्चालन, व्यवस्थापन र कापी परीक्षणको काम हुनेछ । बोर्डले प्रश्नपत्र छपाइ र नतिजा प्रकाशनको काम गर्ने पौडेलले बताए ।


चैत २१ गतेसम्म हुने परीक्षामा नियमिततर्फ ५ लाखभन्दा बढी र आंशिकतर्फ ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । एसईई सञ्चालन गर्न केन्द्रीय परीक्षा व्यवस्थापन समितिको बैठक बसेर तयारी थालेको हो । अर्थ मन्त्रालयले एसईई परीक्षाका लागि बोर्डलाई २३ करोड र ७ वटै प्रदेश सरकारलाई २६ करोड विनियोजन गरेको छ । मुलुकभरका एक हजार नौ सय ६१ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।


प्रदेश ३ मा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा थोरै परीक्षा केन्द्र कायम भएका छन् । जिल्लास्तरमा समन्वय इकाई र प्रमुख जिल्ला अधिकारी संयोजक हुने परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमन, निरीक्षण, आवश्यक कर्मचारी छनोट र नियुक्तिको काम गर्नेछन् ।


यसअघि ५ वटा विकास क्षेत्रमा क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा जिल्ला शिक्षा कार्यालयले उक्त काम गर्दै आएका थिए । बोर्डले ७ वटै प्रदेशका शाखा कार्यालय स्थापना गरिसकेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?