१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेविसंघ नेतृत्व महिलालाई दिन दबाब

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस भ्रातृ संगठन नेविसंघको नेतृत्व महिलालाई दिन माग गर्दै विभिन्न क्याम्पसका नेतृहरूले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

संघकी निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनेको नेतृत्वमा विद्यार्थी नेतृहरूले शनिबार देउवालाई निवासमै भेटेर दबाब दिएका हुन् ।


यस्तो दबाब दिनेहरू संस्थापनपक्षीय हुन् । उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयनमा ल्याउनसमेत माग गरेका छन् । उनीहरूले निवर्तमान सहमहामन्त्री चलाउनेलाई तदर्थ समितिको नेतृत्व दिन आग्रह गरे ।


संघको नेतृत्वमा अहिलेसम्म महिला नआएको भन्दै इतिहास राख्ने अवसर दिनसमेत उनीहरूले जोड गरेका थिए । ‘कम्युनिस्टको विद्यार्थी संगठनमा महिलाले नेतृत्व गरेका छन्, हाम्रो किन नहुने ?’ उनीहरूको सामूहिक भनाइ थियो, ‘सभापतिले आफूलाई फरक देखाउन पनि महिलालाई नेतृत्व दिनुपर्छ ।’ देउवाले यस विषयमा अन्य नेताहरूसँग छलफल गर्ने बताएका थिए ।


नेविसंघ अध्यक्षबाट नैनसिंह महरले राजीनामा दिएपछि पार्टीले तदर्थ समिति बनाउने तयारी गरेको छ । उनको राजीनामापछि तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा पार्टी नेताहरूबीच तँछाडमछाड छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोज आचार्यको संयोजकत्वमा समिति बनाउन जोड गरेका छन् ।


उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई संयोजक तोक्ने पक्षमा छन् । संस्थापन पक्षकै बालकृष्ण खाँणले प्रकाश घिमिरे र सहमहामन्त्री प्रकाशरण महतले प्रेमराज जोशीलाई संयोजक बनाउन दबाब दिइरहेका छन् ।


३२ वर्ष उमेरहद लगाउने कि नलगाउने भन्नेमा पार्टीभित्रै विवाद छ । धेरैजसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै उमेरहद लगाउन नहुने पक्षमा छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?