२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गाउँपालिकामा जेसीबी : आम्दानी थोरै, खर्च धेरै

डम्बरसिं राई

खोटाङ — विभिन्न पालिकाले खरिद गरेका जेसीबी (ब्याक लोडर) ले पालिका प्रमुखहरूलाई टाउको दुखाइको विषय बनेको छ । जिल्लाका दस पालिकामध्ये आधासरोले जेसीबी खरिद गरी सडक लगायतका काममा प्रयोग गर्दा त्यसको भाडा उठाउनमै सास्ती भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका, रावाबेंसी गाउँपालिका, ऐसेंलुखर्क गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमै जेसीबी खरिद गरेका हुन् । जेसीबी खरिदपछि सडक, खेलमैदान, भवन निर्माणको जग खन्नलगायतमा प्रयोग गरिंदै आएको छ । यसको भाडा उठाउन हम्मे परेको पालिका प्रमुखहरूले बताएका छन् ।


हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार जेसीबी उपयोग गरेबापत रकम लिने निर्णय भए पनि समस्या आएको बताए । ‘वडामा प्रयोग गरेको जेसीबीको रकम माग्नै समस्या छ ।’ राईले भने, ‘सार्वजनिक काममा प्रयोग भएको जेसीबीको पैसा लिन पनि अप्ठ्यारो हुँदोरहेछ ।’ उनले भने, ‘तेल खर्चचाहिँ नगरपालिकाले गर्नुपर्ने हुन्छ ।’


राईका अनुसार एक वर्षअघि करिब ३२ लाख रुपैयाँमा जेसीबी खरिद गरिएको हो । त्यसलगत्तै जेसीबी सञ्चालनमा आएको तर तेल खर्च भने कति भयो भन्ने नै आफूलाई थाहा नभएको बताए । त्यस्तै दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिकाले पनि अघिल्लो आर्थिक वर्षमै जेसीबी गरिद गरेका छन् । नगरको गौरवको आयोजनाबाहेक अन्यका लागि भाडा निर्धारण गरिएको छ । नगरप्रमुख दीपनारायण रिजालका अनुसार प्रतिघण्टा २७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । यद्यपि यसको आम्दानी भने शून्य रहेको लेखा स्रोतले जनाएको छ ।


रावाबेंसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार गत आर्थिक वर्ष करिब ४० लाख रुपैयाँमा जेसीबी खरिद गरी सञ्चालनका लागि कार्यविधि नै बनाइए पनि सञ्चालनमा समस्या आएको बताए । उनका अनुसार जेसीबी प्रयोग गर्न तीन प्रकारका भाडादर कायम गरिएको छ । पालिका आफैंले प्रयोग गर्दा पच्चीस सय, उपभोक्ताले तीन हजार र उपभोक्ता बाहिर प्रयोग गरिए पैंतीस सय रुपैयाँ भाडा कायम गरिएको छ ।


जेसीबी भाडामा दिंदा गाउँपालिका आफैंले तेल व्यवस्था गर्दै आएको छ । यद्यपि भाडा भने उठ्न हम्मे परेको पालिका अध्यक्ष निरौलाले सुनाए । ‘जेसीबी उपयोगी छ,’ अध्यक्ष निरौलाले भने, ‘तर भाडा नउठेर समस्या छ ।’


त्यस्तै ऐसेंलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाका अनुसार गत वर्ष नै करिब ३५ लाख रुपैयाँमा जेसीबी खरिद गरिएको छ । त्यसले काम पनि थुप्रै भएको निरौलाले सुनाए । जेसीबी सञ्चालनका लागि प्रतिघण्टा तीन हजार रुपैयाँका दरले भाडा निर्धारण गरिएको छ । यसका लागि गाउँपालिकाले नै तेल व्यवस्था गर्ने गरेको अध्यक्ष निरौलाले सुनाए । उनका अनुसार इन्धनका लागि करिब १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यद्यपि कति आम्दानी भयो भन्ने लेखा भने आफूलाई थाहा नभएको अध्यक्ष निरौलाले सुनाए ।


जन्तेढुङ्गा गाउँपालिकामा पनि गत वर्ष नै जेसीबी खरिद गरिएको हो । करिब ४० लाख रुपैयाँमा जेसीबी खरिद गरी पालिकाभर बाह्रैमास यातायात सञ्चालन हुने गरी सडक बनाइएको गाउँपालिका अध्यक्ष शंकर राईले बताए । उक्त जेसीबी अन्यले चलाउँदा भाडा भने उठ्न नसकेको अध्यक्ष राईले सुनाए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?