चुरे फेदीमै ढुंगा झिक्न अनुमति

माधव अर्याल

पाल्पा — चुरे फेदी खोलाछेउमै ढुंगा निकाल्न खानी सञ्चालक र स्थानीयबीच सहमति भएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठलगायतको उपस्थितिमा वातावरण सन्तुलन राखेर ढुंगा निकासी गर्न शुक्रबारको छलफलबाट स्थानीय सहमत भएका हुन् । 

चुरे फेदीमै ढुंगा झिक्न अनुमति

तिनाउ गाउँपालिका–२, खुर्सानेनजिकै अक्कले घाटबाट ढुंगा निकाल्न राष्ट्रपति चुरे तराई मधेस विकास समितिले अनुमति दिएपछि विवाद सुरु भएको थियो । खुर्सानेमा गठित प्राकृतिक स्रोत संरक्षण मञ्चले केही दिनअघि तिनाउ गाउँपालिका, राष्ट्रपति चुरे तराई मधेस विकास समिति, जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालयलगायतमा आवश्यक छानबिन गरी कारबाही माग्दै निवेदन दिएको थियो । ढुंगाखानी सञ्चालकले धमाधम निकासी थालेपछि स्थानीयले आवश्यक कारबाहीका लागि निवेदन दिएका हुन् ।


मञ्चले विभिन्न निकायमा बुझाएको पत्रका सम्बन्धमा गाउँपालिकामार्फत छलफल गरेको थियो । त्यही छलफलले चुरे फेदीमै ढुंगा निकाल्ने अनुमति दिएको हो । स्थानीय वरपोखरी सामुदायिक वनका उपभोक्ता, सरोकारवाला, सर्वाेत्तम मिनरल्स, अल्फा सिमेन्टका प्रतिनिधि, खोलाछेउका ढुंगा संकलक, स्थानीय वडाका जनप्रतिनिधि र प्रहरी चौकीका प्रतिनिधिबीच वातावरण सन्तुलन कायम गर्नेसमेत सहमति भएको छ ।


खुर्साने क्षेत्रबाट चुनढुंगा खानीमा गुड्ने टिपरमा सहचालक अनिवार्य राख्नुपर्ने स्थानीयको माग छ । त्यसमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, सहचालकले टिपर चलाउन नपाउनेसमेत निर्णय भएको छ । टिपर रातको ९ बजेपछि चलाउन नपाइने, बाटो मर्मत गर्नुपर्ने निर्णयसमेत भएको वडाध्यक्ष श्रेष्ठले बताए । सडकछेउमा पर्ने स्थानीको खेत बाटोकै कारण भत्किएको छ । कटिङ गर्नुपर्ने बाँकी स्थानमा स्थानीयको सल्लाहपछि मात्र काम गर्ने निर्णय भएको छ ।


‘विभिन्न निकायमा बुझाएको निवेदनका आधारमा हामीले छलफल गराएका हौं,’ वडा सदस्य बलबहादुर सारूले भने, ‘स्थानीयको चित्त नबुझाई काम गर्न नहुनेमा हामी पनि गम्भीर छौं ।’ दोभान खोलाको छेउमा निजी जग्गाबाट निकाल्ने ढुंगाले खुर्साने र बगाहालाई प्रत्यक्ष प्रभाव पार्ने मञ्चले दिएको निवेदनमा उल्लेख छ ।


अक्कले घाटमा ०३८ सालको बाढीले घरगोठ, गाईबस्तुसहित अक्कलबहादुरको परिवार बगाएको थियो । यहाँ पटक–पटक बाढी पसेको तथा नदीले कटान भएको थियो । गाउँलाई प्रभाव परेको थाहा हुँदाहुँदै केही व्यक्तिले कृषि प्रयोजनका लागि खेत सम्याउने भन्दै जग्गा खरिद गरेका थिए । आर्थिक, राजनीतिक, सामाजिक पहुँच र दम्भको आडमा एस्काभेटर प्रयोग गरेर खोला बगर गहिराइएको स्थानीय रामु विकले बताए ।


‘स्थानीय आर्थिक चलखेल गर्ने व्यक्तिबाहेक प्रभावित क्षेत्रसँग सरसल्लाह तथा सम्झौता नगरी ग्राभेलसमेत नभएको कच्ची बाटोबाट धूलोधूवाँ उडाएर टिपर गुडाइएको छ,’ उनले भने, ‘यहाँबाट ढुंगा निकाल्न गहिराइको मापदण्डसमेत बढाएर अनुमति लिएको थाहा पाइएको छ ।’ स्थानीय केही टाठाबाठाले भने यसमा सबैको सहमति छ भन्ने गराएका थिए ।


राजनीतिक नेतृत्व, पहुँचवाला, ढुंगागिट्टीको काम गर्ने ठेकेदारले ‘लाइन’ मिलाएर चुरे क्षेत्रबाट ढुंगा निकाल्ने अनुमति लिएको स्थानीयको आरोप छ । चुरे क्षेत्र पर्ने त्यस स्थानमा जिल्ला अनुगमन समितिले अनुगमनै नगरी स्वीकृति दिएको छ । जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेयले गाउँपालिका, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सिफारिसमा मात्रै सहमति दिने गरेको बताए ।


दोभान क्षेत्रबाट दर्जनभन्दा बढी स्थानमा अघिल्लो वर्ष पनि खेत सम्याउने नाममा अनुमति लिएका थिए । रूपन्देही र जिल्लाकै राजनीतिक पहुँच भएकाहरू राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको केन्द्रीय कार्यालयमा पुगेर अनुमति लिएर आउने गरेकाले पनि स्थानीयले पत्तो नपाएको राजन विश्वकर्माले बताए । ढुंगा निकाल्दा कति निकालेको छ भन्ने अनुगमनसमेत हुँदैन । अनुगमनमा गए पनि त्यसको परिमाण सोधीखोजी गर्दैनन् ।


गाउँपालिकाले एकपटकको ३ सय ३९ रुपैयाँ मात्र पाउँछ । ‘ढुंगा निकाल्ने अनुमति लिँदा घाटगद्दी गरेर प्राविधिकले नापजाँच गरेर मात्र लैजाने भनिएको हुन्छ,’ विकले भने, ‘जति मन लाग्यो त्यति लैजाने गरेको पाइएको छ ।’ खुर्सानेको खोलामा निकालेको ढुंगाले गाउँमा धूलोधूवाँ भएको, बाटोमा पर्ने घरहरूमा खाना पकाउन, कपडा सुकाउन, पशुपन्छी पालन र कृषिमा असर परेको स्थानीय श्यामकली विकले बताइन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?