कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वन्यजन्तुको मार्गमा धराप 

वसन्ता र मोहना अन्तर्राष्ट्रिय जैविकमार्गमा वन्यजन्तुको आवतजावत अवरोध पार्ने गरी भारतले सीमा क्षेत्रमा गहिरो नाली ‘ट्रेन्च’ खनेको हो  
मोहन बुढाऐर

धनगढी — वसन्ता र मोहना अन्तर्राष्ट्रिय जैविकमार्गलाई अवरोध पार्ने गरी भारतले सीमा क्षेत्रमा गहिरो नाली ‘ट्रेन्च’ खनेको छ । जैविकमार्ग भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ । संरक्षणकर्मीले ‘वन्यजन्तु ओहोरदोहोर गर्ने बाटोमा धराप थाप्ने काम भएको’ बताएका छन् । 

वन्यजन्तुको मार्गमा धराप 

कैलारी गाउँपालिका–३ को शिवरत्नपुर क्षेत्रको दशगजा क्षेत्रमा भारतले करिब २ किलोमिटर लामो ट्रेन्च खनेको छ । भारतको दुदुवा नेसनल पार्कलाई जोड्ने वसन्ता जैविकमार्गको मुख्य घाटी (नाका) हो । त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने सीमावर्ती डोकेबजारको सीमा क्षेत्रमा २ किलोमिटर ट्रेन्च खनिएको छ । चुरेबाट बग्ने मोहना नदी डोकेबजारको पश्चिमतिरबाट दुदुवा नेसनल पार्कलाई जोड्छ ।


एक मिटर चौडाइ र त्यत्तिकै गहिराइको ट्ेरन्च निर्माणले वन्यजन्तुको आवतजावतलाई अवरोध पुगेको संरक्षणकर्मीको भनाइ छ । ट्रेन्चका कारण वर्षायाममा नेपालतर्फका सीमावर्ती बस्तीसमेत डुबानमा पर्ने स्थानीय बताउँछन् । तराई भू–परिधिको अवधारणामा वसन्ता र मोहना जैविकमार्गले नेपाल र भारतका संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जका वन्यजन्तु वारपारमा सहयोग पुर्‍याउँछन् ।


‘हरेक वर्ष वसन्ताको शिवरत्न र मोहना जैविक मार्गको डोकेबजार पश्चिम नदी किनारबाट हात्तीहरू नेपाल पसेर चुरे हुँदै पूर्व वाग्मतीसम्म पुग्छन्’ मोहना–लालझाडी जैविकमार्ग संरक्षण समितिका राजबहादुर ऐरले भने, ‘यो मार्गमा बाघसमेत आवतजावत गर्छन् ।’


ऐरले डोकेबजार क्षेत्रमा स्थानीयले विरोध गरेपछि भारतले केही समय ट्रेन्च खन्न रोकेको बताए । तर एकतर्फी रूपमा खन्न सुरु गरेको भन्दै उनले सरकारीस्तरबाटै रोक्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले यसबारे प्रदेशसभा संसद्मा कुरा उठिसकेकाले सीमा सुरक्षा बलका अधिकारीलाई बुझ्न पठाएको बताए ।


सीमा सुरक्षा बल सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले कैलालीको शिवरत्नपुरमा दशगजा क्षेत्रबाट सय मिटरभित्र आफ्नो क्षेत्रमा २ किलोमिटर ट्रेन्च खन्ने काम भएको बताए । उनले खनिएको नालीले प्राकृतिक रूपमा बग्ने वर्षाको पानी थुनिएर नेपालतिर डुबान हुन सक्ने बताए ।


भट्टका अनुसार दुदुवा नेसनल पार्कले वन्यजन्तुको सुरक्षा र अवैध गतिविधि रोक्न ट्रेन्च खनेको भारतीय पक्षको दाबी रहेको छ । ‘ट्रेन्च खनेको ठाउँको स्थलगत अध्ययन गरी फर्कदां भारतीय एसएसबी फोर्सको स्थानीय कमान्डरसँग कुरा भएको थियो,’ उनले भने, ‘उनीहरूबाट नेसनल पार्कले वन्यजन्तुको सुरक्षा र तस्करीलगायतका गतिविधि रोक्न ट्रेन्च खनेको कुरा आयो ।’


कैलालीका प्रदेश सांसद वीरभान चौधरीले भारतले सीमा क्षेत्रमा एकलौटी रूपमा निर्माण भएको नालीले सीमावर्ती दर्जन बस्ती डुबानमा पर्ने खतरा औंल्याए । ‘एक मिटर गहिरो नाली खनेर निकालेको माटोले अढाई मिटर अग्लो ड्याम निर्माण भएको छ,’ उनले भने, ‘यसले वन्यजन्तुको आवागमनमा अवरोध मात्र नभई नेपालका सीमावर्ती बस्ती वर्षामा चुर्लुम्म डुब्ने भए ।’ उनले दुवै देशको सहमतिबिना भारतले एकलौटी रूपमा ट्रेन्च नखन्न आफूले प्रदेश संसद्मा कुरा उठाएको बताए । उनले भने, ‘अहिले २ किलोमिटर मात्रै निर्माण गरेको हो । हरेक वर्ष बढाउँदै लैजाने उनीहरूको योजना छ ।’


तराई भू–परिधि कार्यक्रमका संयोजक पूर्णेश्वर सुवेदीले ट्रेन्च खन्ने कामले वन्यजन्तुको स्वतन्त्र आवतजावतमा अवरोध सिर्जना भएको बताए । उनले जैविकमार्गमा खनिएको ट्रेन्च वन्यजन्तुको बाटोमा धराप थाप्ने काम भएको बताए । ‘परिधिको अन्तर्राष्ट्रिय सीमालाई जोड्ने वसन्ता र मोहना मुख्य जैविकमार्ग हुन्,’ उनले भने, ‘दुदुवा नेसनल पार्कबाट वन्यजन्तु आवतजावत गर्ने मोहनाको डोकेबजार पश्चिम र शिवरत्न मुख्य घाटी (नाका) हुन् ।’


उनले दुदुवा नेसनल पार्कसँग जोडिएको वसन्ता र मोहना जैविकमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्न नसक्ने गरी ट्रेन्च खनेको जानकारी माथिल्लो तहमा जानकारी गराएको बताए । उनले केन्द्रमा भएको जानकारीबाट भारतको ताल र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) सम्म कुरा पुग्ने बताए ।


तराई भू–परिधिको अवधारणामा भारतमा पनि ताल र डब्लूडब्लूएफले त्यहाँको सरकारसँग मिलेर काम गर्दै आएको छ । पूर्वमा नेपालको वाग्मतीदेखि पश्चिम भारतको यमुना नदीसम्मको विस्तृत संरक्षण भूभागलाई तराई भू–परिधि भनिन्छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?