राजनीतिसँगै कृषिमा अब्बल

प्रतीक्षा काफ्ले

स्याङ्जा — उनी ०७० सालको संविधानसभा उम्मेदवार हुन् । १५ सय मत अन्तरमा पराजय भएका उनी ०५४ को स्थानीय तहको निर्वाचनमा पनि वालिङ नगर प्रमुखको उम्मेदवार बनेका थिए ।

राजनीतिसँगै कृषिमा अब्बल

मेयरमा ७१ मतले पराजित भएका उनी जिल्लामै राजनीति क्षेत्रमा अब्बल व्यक्तिका रूपमा चिनिन्छन् । वालिङ नगरपालिका–१ रामबाच्छा घर भएका ४९ वर्षीय कृष्ण खाँडको यतिबेला परिचय नै फेरिएको छ । ०३७ सालदेखि नै विद्यार्थी राजनीतिमा छवि बनाउँदै आएका खाँडले ०६९ मा सामूहिक व्यवसायमा हात हालेका थिए ।


०६८ मा वालिङ क्याम्पसको अध्यक्ष भएका खाँड पूर्वएमालेबाट क्षेत्र नम्बर दुईको दुई कार्यकाल सभापति र तीन कार्यकाल जिल्ला सदस्य भएका थिए । जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका उनी पिपुल्स भोलेन्टियर राष्ट्रिय कमिटी सदस्य पनि भइसकेका छन् । राजनीतिभन्दा पनि उनी सामाजिक कार्यमा नै व्यस्त हुने गरेको बताउँछन् ।


सुरुमा सामूहिक लगानीमा गरिएको कृषि व्यवसायमा दुई करोडभन्दा बढी घाटा एक्लै व्यहोर्नुपरेपछि उनले विगत एक वर्षदेखि एकल व्यवसाय गर्दै आएका छन् । पुख्र्यौली ४ रोपनी क्षेत्रफलमा ओम एग्रो फार्म दर्ता गरी ५० लाख रुपैयाँ लगानी गरी भैंसीपालन सुरु गरेको उनले बताए । उनका अनुसार फार्म आधुनिक प्रविधिमा बनाइएको छ । ०७४ पुसदेखि फार्ममा १५ वटा माउ भंैसी पालिएको थियो । अहिले तिनीहरूका १५ वटा पाडापाडी छन् ।


समाजसेवासँगै खेतीकिसानीलाई पनि सँगसँगै लगेका खाँड भन्छन्, ‘राजनीति र समाजसेवाले मात्र जिन्दगी चलाउन गाह्रो भयो र व्यवसायमा हात हालेको थिएँ । मैले व्यवसायमा हात हालेको समय ठूलो बाढी आयो । बाढीले दुई करोडको नोक्सान गर्‍यो ।’ उनले चार जनाले सामूहिक लगानी गरेको भए पनि नोक्सान भने आफू एक्लैले व्यहोर्नुपरेको बताए ।


उनकी श्रीमती ४३ वर्षीय ओमकुमारीका अनुसार व्यवसायमा घाटैघाटा मात्रै व्यहोर्नुपरेकाले एकल लगानी गरिएको हो । ‘संयुक्त लगानी गरिएको ठाउँमा नोक्सान पनि सबैले व्यहोरेको भए यति गाह्रो हुने थिएन,’ उनले भनिन्, ‘उहाँले फेरि दुई जनाको लगानी गरी त्यही व्यवसायलाई निरन्तरता दिन खोज्नुभयो, मैले एकलतर्फ जोड गरेकी हुँ ।’ उनले एकल लगानीमा गरिएको व्यवसायको नाफा–नोक्सान पनि आफूलाई नै हुने बताइन् ।


४ सय ६० रोपनी जग्गा भाडामा लिई हरित ज्योति अर्गानिक एग्रो फार्म प्रा.लि. नामक संस्था दर्ता गरी संयुक्त रूपमा व्यवसाय अगाडि बढाएको खाँड बताउँछन् । ‘प्रतिरोपनीको २५ सयका दरले ७ वर्षका लागि जग्गा सम्झौता गरी विभिन्न जातका हिउँदे तथा वर्षे तरकारी, माछा, भैंसीपालन, उखु खेतीलगायतको व्यवासय गर्दै आम्दानी गर्न सफल भएका थियौं,’ उनले विगत सम्झिए, ‘पूरै खेतीयोग्य जमिन बगरमा परिणत भयो । स्थानीय शिव डुम्रे र मेरो लगानीमा फेरि व्यवसाय सुरु गर्‍यौ त्यस वर्ष पनि ठूलो बाढी आयो र झन् बगर बनायो ।’


बगरको क्षेत्रफलमा घाँस रोप्ने र त्यस ठाउँभन्दा केही माथि रहेको ३ रोपनी जग्गा लिजमा लिएर ७५ वटा भैंसी पाल्न सुरु गरिएको अर्का व्यवसायी शिव डुम्रेले बताए । खाँडका अनुसार बगरमा रहेको जग्गा पतञ्जली योगपीठले गुरुकुल गाईपालन गर्ने हुँदा जग्गा किन्ने र बेच्ने कुरा आएको थियो ।


पतञ्जलीलाइ दिए विकासमा टेवा पुग्ने उद्देश्यले उनले ७५ वटै भैंसी विस्थापित गराएको बताए । पतञ्जलीको योजनाअनुसार काम नभएपछि सामूहिक रूपमा पनि पुन: व्यवसाय सुरु गरिएको खाँड बताउँछन् ।


खाँड र डुम्रेको भने सरकारको “समृद्ध नेपाल, सुखी परिवार” नारा सफल र सार्थक बनाउने लक्ष्य छ । मुर्गा जातको भंैसी भारतको बोर्डरबाट ल्याइने ओमकुमारीले बताइन् । ‘एउटा भैंसीको मूल्य एक लाखदेखि डेढ लाखसम्म पर्न जान्छ,’ उनले भनिन्, ‘घरमा पालिएका भैंसीका लागि प्रशस्त मात्रामा खर र पराल किनेका छौं । उन्नत जातको घाँस पनि रोपेका छाैं । घरकै जग्गामा डाले घाँस प्रशस्त छन् ।’ घाँस, दानापानीका लागि समस्या नभएको ओमकुमारी बताउँछिन् । उनका अनुसार व्यक्तिगत लगानीमा नै ७० वटा भैंसी पाल्ने योजना छ ।


फार्म सुरु गर्न लागेका नयाँ र व्यवसाय सुरु गरिसकेका कृषकहरू फार्ममा यतिबेला सल्लाह र सुझाव लिन आउने गर्छन् । निर्वाचन क्षेत्र नम्बर २ का विकास निर्माणदेखि लिएर अन्य कार्यमा कृष्ण खाँडको ठूलो योग्दान छ । भने, अर्कोतर्फ कृषि व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाई समाजसेवाबाहेकको समय आफ्नो व्यवसायमा बिताउने गर्दछन् ।


१५ वटा भैंसीबाट दैनिक एक सय लिटर दूध उत्पादन हुने ओमकुमारीले बताइन् । ‘दूध बिक्री गरेर मासिक दुई लाख आम्दानी र डेढ लाख खर्च हुन्छ,’ उनले भनिन्, ‘आम्दानी सिजनअनुसार थपघट हुन्छ । जुन सिजनमा पनि ५० हजार रुपैयाँ सजिलै बचाउन सकिन्छ । प्रतिलिटर दूध सय रुपैयाँमा बिक्री हुन्छ ।’ उनले दूध लोकल मार्केटमा नै बिक्री हुने भएकाले बजारको समस्या नभएको बताइन् । शुद्ध दूध बिक्री गर्ने भएकाले पनि ग्राहक घरमै लिन आउने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?