१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालमा लगानी गरे दोहोरो फाइदा : प्रधानमन्त्री

कान्तिपुर कन्क्लेभ सुरु
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताका लागि नेपाल ठूलो सम्भावनायुक्त मुलुक भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । ‘यहाँ सबै क्षेत्रमा हुने लगानी नाफामूलक छ,’उनले भने,‘व्यवसायका लागि सुनिश्चित अवसर र निश्चित नाफा आवश्यक पर्छ । नेपालले यो दुवै दिन्छ ।’

नेपालमा लगानी गरे दोहोरो फाइदा : प्रधानमन्त्री

कन्क्लेभको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालले खुला हृदयले स्वागत गर्ने बताए । उनले वैदेशिक लगानीमा नेपालमा उद्योग खोल्ने र आर्थिक क्रियाकलापमा मात्रै सघाउने नभई बाँकी विश्वसँग जोड्न पनि सघाउने बताए । ‘वैदेशिक लगानीले उद्योगको वृद्धिमा सघाउने तथा प्रतिस्पर्धा र अन्वेषणमा सघाउने मात्रै नभई यसले देशलाई बाँकी विश्वसँग जोड्न पनि मद्दत गर्छ,’ उनले भने, ‘वैदेशिक लगानीलाई हामी खुला हृदयले स्वागत गर्छौं ।’


सरकारले आन्तरिक लगानी परिचालनको लागि पर्याप्त काम गरिरहेको र त्यसलाई सघाउने गरी विदेशी लगानी आवश्यक परेको प्रधानमन्त्री ओलीले बताए । उनले कृषिको आधुनिकीकरण, विद्युत उत्पादन र प्रसारण, पूर्वाधार विकास, पर्यटन र उत्पादनमुलक उद्योग, सूचना प्रविधि, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा लगानीमार्फत अर्थतन्त्रको मुहार फेर्न सकिने आँकलन सरकारले गरेको बताए ।


लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले लगानी सहजीकरणको लागि सुशासन र नीतिगत क्षेत्रमा काम गर्ने बताए । उनले व्यवसायमैत्री कानुनहरू केही निर्माण भइसकेको र केही निर्माण हुने क्रममा रहेको बताए । ‘सक्रियरुपमा प्रशासनिक सुधार गर्ने र सरकारी संयन्त्रहरूलाई बलियो बनाउने काम भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने,‘लगानीकर्तालाई एकद्वारबाट सेवा दिने सरकारको योजना छ ।’ उनले नेपालको अर्थतन्त्र र मजदुरसम्बन्धी कानुन पनि लगानीमैत्री रहेको दाबी गरे । सरकारले देशका प्रमुख सहरहरूमा औद्योगिक क्षेत्र स्थापनाको लागि पूर्वाधार तयार पारिरहेको बताए ।


‘हामी विदेशी लगानीकर्तालाई शतप्रतिशत स्वपूँजीमा कम्पनी स्थापना गर्न दिन्छौं,’ उनले भने, ‘यहाँ कमाएको नाफा र पूँजी पनि उनीहरूको देशमा लैजान सहजीकरण गर्छौ ।’ उनले सरकारले विदेशी लगानीकर्तालाई पनि स्वदेशी लगानीकर्ताझैं व्यवहार गर्ने बताउँदै स्थापना भएका उद्योगहरू राष्ट्रियकरण नहुने सुनिश्चितता व्यक्त गरे । उनले दोहोरो करको मारमा लगानीकर्तालाई पर्न नदिन सरकारले विभिन्न द्विपक्षीय र बहुपक्षीय सन्धी सम्झौता गरेको जानकारी गराए ।


परिवर्तनकारी उद्यमको लागि सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘परिवर्तनकारी प्रकृतिको उद्यमको लागि मैले किन महत्व दिएको छु भने यस्ता उद्योगले सम्बन्धित देशको विकासको नक्सा नै बदलेको हामीले देखेका छौं,’ उनले भने ।


प्रधानमन्त्री ओलीले फिनल्याण्डको नोकिया, कोरियाको सामसङ, एलजी र हुण्डाई, जापानको टोयटा, अमेरिकाको फेसबुक, ट्वीटर, माइक्रोसफ्ट, चीनको अलिबाबा, भारतको इन्फोसिसजस्ता कम्पनी स्थापना नेपालमा पनि स्थापना होस् भन्ने सरकारको चाहना रहेको बताए ।


‘हामीलाई यस्तै एउटा उद्योग चाहिएको छ,’ उनले भने,‘जसले नेपाललाई उदाउँदो अर्थतन्त्र र समृद्ध देशको पहिचान देओस् । नेपाल दुई ठूला अर्थतन्त्रको नजिक रहेकाले यसले पनि नेपालमा हुने व्यवसायलाई फाइदा गर्ने बताए । ‘छिमेकमा हुने विकासको तापबाट नेपाल अछुतो रहँदैन,’ उनले भने,‘नेपाललाई दुई ठूला अर्थतन्त्र नजिक हुनुको लाभ पनि छ ।’ दुई ठूला अर्थतन्त्रसँग जोडिएकाले नेपालमा विकास अवसम्भावी भएको ओलीको धारणा छ ।


प्रधानमन्त्री ओलीले सरकार र नेपालमा लगानी भित्र्याउनेको रुची पनि मिल्ने दाबी गरे । ‘हामी लगानी बढाएर तिव्रत्तर विकास चाहन्छौं,’ उनले भने, ‘लगानीकर्ताहरू लगानी गर्ने र त्यसबापत राम्रो प्रतिफलको मौकामा छन् ।’ प्रधानमन्त्री ओलीले सरकारलाई हरेक वर्ष ५ लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्‍यौं र विकासको काम अघि बढायौं भने मात्रै यो सम्भव छ,’ उनले भने ।


उनले सूचना प्रविधिको तीव्रत्तर विकासलाई पछ्याउन नसके भविष्यमा झन् पछि परिने चिन्ता व्यक्त गरे । नेपाली अर्थतन्त्रका समस्या, चुनौति र सम्भावनाको विषयमा केन्द्रित रहेर छलफल गर्न आयोजित कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको एजेण्डा विकास बाहेक अरु नभएको बताए । ‘सरकारको एजेण्डा विकासलाई गति दिनु हो,’ उनले भने,‘यसमा हामी प्रष्ट र प्रतिबद्ध छौं ।’


विकासका लागि आवश्यक पर्ने सबै तत्व नेपालमा उपलब्ध रहेकाले पनि सरकार समृद्धिको लागि आशावादी बनेको ओलीले बताए । ‘हामीसँग स्रोत, संयन्त्र र नीति सबै छन्,’ उनले भने, ‘हामीसँग युवा जनशक्ति छन् र विकासको लागि उपयुक्त वातावरण छ ।’

कन्क्लेभको उद्घाटन सत्रमा बोल्दै नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंककी निर्देशक इदा रिदीहगले नेपालको समृद्धि यात्रामा विश्व बैंकले पैसा मात्रै नभई भावनात्मक लगानी पनि गर्ने बताइन् । उनले आर्थिक बृद्धि र अवसरको वितरणलाई नेपालले सन्तुलन गर्न सक्नुपर्ने धारणा राखिन् । ‘आर्थिक बृद्धिबाट प्राप्त अवसर सबै प्रदेश र स्थानीय तहसम्म पुग्नुपर्छ,’ उनले भने,‘नेपाललाई सघाउन विश्व बैंक सदैव तयार छ ।’


भारतको एमबी बिर्ला सिमेन्टका कार्यकारी निर्देशक सन्दीप घोषले आर्थिक समृद्धिको लागि नेपालले आफ्नो तुलनात्मक लाभको क्षेत्र पहिचान गर्नुपर्ने धारणा राखे । उनले भारतीय किसानले प्रयोग गरेको आधुनिक कृषि प्रविधिको उदाहरण दिंदै यस्ता प्रविधिले मूल्य पाउने र एउटा क्षेत्रको रुपान्तरणमा सघाउने धारणा राखे ।


‘नेपालमा उत्पादित कफीले पनि बजार बढाउँदै लगेको छ,’ उनले भने,‘यस्ता तुलनात्मक लाभको क्षेत्रलाई पहिचान गर्नुपर्छ ।’ नेपालजस्तै भौगोलिक आकार भएका साना देशले पनि प्रगति गरेको उदाहरण दिंदै उनले अरुले प्रयोग गरेको विकासको सूत्र नेपालमा नमिल्ने भएकाले मौलिक खालको शैली विकास गर्नुपर्ने धारणा राखे । उनले आर्थिक समृद्धिको लागि ठूला उद्यमी मात्रै नभई साना उद्यमीको सिर्जनशील व्यवसायले भूमिका खेल्ने बताए । कन्क्लेभ सोमबार सकिंदैछ ।

प्रकाशित : फाल्गुन ५, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?