२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

कर्णालीको तटबन्ध भत्किँदै

दक्षिणी भेगबाट नदीको पानी बस्तीमा पस्ने जोखिम
कान्तिपुर संवाददाता

टीकापुर — कर्णाली नदीमा करिब २ वर्षअघि बनाइएको तटबन्ध भत्किन थालेको छ । हुलाकी सडकमा रहेको कर्णाली पुलभन्दा करिब ५ सय मिटर तलतिरको तटबन्ध भत्किन थालेको हो ।

कर्णालीको तटबन्ध भत्किँदै

कर्णालीको पानी पश्चिमी भेगमा एकतर्फी आएपछि तारजालीले बनाइएको तटबन्ध भत्किएको टीकापुर नगरपालिका ८ का अध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनले भने, ‘पानीले तटबन्धभन्दा मुनि खन्दै लगेको छ । तल खनेपछि तटबन्ध भासिँदै गएको छ ।’


तटबन्ध भासिने क्रम यही रूपमा रहे यो वर्षामा कर्णालीको पानी बस्ती पस्ने खतरा रहेको उनले बताए । अध्यक्ष ठकुल्लाले भने, ‘कुनै कुनै ठाउँमा त अग्लो तटबन्ध भासिन २/४ मिटर मात्र बाँकी छ ।’


समयमा मर्मत नभए टीकापुरको अरुणाफाँटा, बटनपुरलगायत गाउँ डुबानमा पर्ने उनले बताए । बर्सेनि कर्णाली नदीको कटान र डुबान समस्या भएपछि रानी जमरा कुलरिया सिंचाइ आयोजनाले बस्ती बचाउन कर्णाली चिसापानीदेखि भारतको सिमानासम्म तटबन्धको काम गर्दै आएको छ ।


वर्षे सिजनमा दौलतपुर घाट नजिक नदी कटान तीव्र भएपछि तटबन्ध सुरु गरिसकिएको रानी जमरा कुलरिया सिंचाइका सिनियर डिभिजन इन्जिनियर मनीष महर्जनले बताए । उनले भने, ‘जोखिम बढी भएको ठाउँलाई प्राथमिकतामा राखेर तटबन्ध हुँदै आएको छ । केही ठाउँमा बाँकी छ । अर्को चरणमा सबै ठाउँमा हुने गरी काम हुन्छ ।’


कर्णाली नदीबाहेक मोहना पथरैयामा पनि तटबन्ध गरिएको सिंचाइ आयोजनाले जनाएको छ । इन्जिनियर महर्जनले भने, ‘सबै गरेर करिब ३८ किलोमिटर तटबन्ध भइसकेको छ ।’

यसले जोखिम कम हुँदै गएको स्थानीय बताउँछन् । टीकापुर नगरपालिका ७ का भीम बिकले भने, ‘सिंचाइले गरेको तटबन्धले बाढीबाट जोगिने र जग्गा कटान तथा पटानबाट जोगिने आशा जागेको छ ।’


तटबन्ध नहुँदा कर्णाली र मोहना नदी किनारका बासिन्दा सुरक्षित स्थानमा बसाइँ सर्दै आएका थिए । अरू गाउँमा जनसंख्या बढै गए पनि बाढी प्रभावित यहाँका गाउँमा भने जनसंख्या घटै आएको थियो ।


बर्सेनि आउने बाढीका कारण यहाँको धनजनको क्षति हुँदै आएकामा अब त्यो खतरा कम भएको जमरा कुलो जल उपभोक्ता समिति अध्यक्ष लालवीर चौधरीले बताए । उनले भने, ‘बाढीले बालीनालीका साथै मान्छेको ज्यान पनि जोखिममा थियो, अब त्यो कम भएको छ ।’

प्रकाशित : फाल्गुन ५, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?