भट्टराईको ट्वीटले आलु किसानलाई अप्ठेरो

आश गुरुङ

लमजुङ — किसानले कृषिमा अनुदान पाउन कर्मचारीलाई ५० प्रतिशत घूस खुवाउनुपर्ने बाध्यता रहेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टीट गरे । नयाँ शक्ति पार्टीको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानमा लमजुङ आएका उनले सुन्दरबजार नगरपालिका–७ पाउँदीढिकका कृषक खुसीराम मिश्र र उनको खेतमा गएको फोटोसहित फागुन २ मा टीट गरेका हुन् ।

भट्टराईको ट्वीटले आलु किसानलाई अप्ठेरो

आफ्ना निकट नातेदारसमेत रहेको भन्दै मिश्रले गुनासो गरेझैं भट्टराईको टीट ‘भाइरल’ बन्यो । भोलिपल्ट जनकपुर घुम्न गएका मिश्र हतारहतार फर्किए । उनले कुनै पनि कर्मचारीलाई आक्षेप नलगाएको बताए पनि कसैले पत्याएनन् । ५० प्रतिशत घूस खाएको व्यक्ति को हो ? भनेर उनलाई सोध्नेको भीड लाग्यो ।


उक्त विषय बाहिर आएपछि खानसमेत राम्रोसँग नसकेको र निदाउनै गाह्रो परेको बताउने ६५ वर्षीय यी किसान आइतबार बेंसीसहरस्थित प्रशासन कार्यालय पुगे । सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखा प्रमुख रामचन्द्र सेढाइँ, पशु सेवा शाखा प्रमुख सुलब चौधरीलाई लिएर नगरप्रमुख जनकराज मिश्र पनि प्रशासनमा आए । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख एवं कृषि अर्थविज्ञ मदन रेग्मी पनि प्रशासन पुगे । ‘पूर्वप्रधानमन्त्रीको टीटलाई लिएर हामीलाई विभागबाट के हो भन्ने र मौखिक सोध्नेसम्म भयो । हामीले के जवाफ दिने ? बुझेर जवाफ दिन्छु भनेँ,’ रेग्मीले भने ।


किसान मिश्रले करिब ६ रोपनीमा आलु लगाएको र त्यो हेर्ने क्रममा पूर्वप्रधानमन्त्री बारीमै पुगेको बताए । ‘साँझ बास बसेपछि भोलिपल्ट २ गते बिहान हामी आलुबारी गयौं । उहाँले किसानको दुखेसोबारे सोध्नुभएको हो । मैले नगरपालिकाको अनुदानमा काम गरेको हुँ भनेँ । तर, अनुदानको ५० प्रतिशत कर्मचारीलाई दिनुपर्छ भनेको छैन,’ उनले भने । पूर्वप्रधानमन्त्रीको उक्त ट्वीटप्रति आफ्नो आपत्ति रहेको मिश्रले बताए । ‘नगरपालिका अनुदान हो भनेर हेरियो । कर्मचारीले खायो भन्नु झूट हो । यो कुरा सबै मिलेर खोज्नुपर्छ । म कृषिसँग नङ र मासु भएर बसेको छु,’ उनले भने ।


भट्टराईले ट्वीट गर्दै ‘लमजुङको सुन्दरबजार नपा, पाउँदीढिकमा उद्यमी किसान खुसीराम (हाम्रा निकट नातेदार) को आलु तरकारी बीउविजन बारीको अवलोकन गर्दा एकातिर समृद्ध नेपाल बन्छ भन्ने विश्वास जाग्यो, अर्कोतिर सरकारी अनुदानमा कर्मचारीलाई ५० प्रतिशत घूस दिनुपर्छ भन्ने सुन्दा दिक्क लाग्यो,’ लेखेका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा वा लेख्दा संयम अपाउनुपर्ने बताए । सुन्दरबजार नगरपालिका प्रमुख जनकराजले ट्वीटपछि कर्मचारीलाई बारम्बार यस विषयमा कुरा गरेको र ‘हुनै नसक्ने’ भनी कर्मचारीले भनेको बताए । ‘यस्ता कुराले कर्मचारीको मनबोल गिर्छ । उनीजस्तो नेताले आलोकाँचो कुरा गर्न सुहाउँदैन,’ उनले भने ।


नयाँ शक्तिका गण्डकी प्रदेश संयोजक देवेन्द्र पराजुलीले किसानले राज्यको प्रोत्साहन छैन, सहयोग गरेन भनी गुनासो गरेको बताए । सुन्दरबजारकै कृषकले व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को अनुदानमा ५० प्रतिशत घूस खुवाउन बाध्य रहेको बताएपछि भट्टराईले उक्त ट्वीट गरेको बताए । ‘हामीले खुसीरामसँग भेट्यौं । उहाँले दुखेसो पोख्दै ५० प्रतिशत घूस दिनुपर्छ भन्नुभएको होइन । भन्ने किसान अरू हुनुहुन्छ । अझ मैले ५० होइन, ६० प्रतिशत घूस खुवाउनुपर्छ भनेर थपेँ । हुन पनि हो । जिल्लामा पछिल्लो समय केही सुधार आएको छ,’ उनले भने । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समेत घूस नदिई काम नबन्ने गरेको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?