२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बनेनन् विपन्न दलितका घर

काम अघि बढ्न नसकेपछि आवास निर्माणका लागि आवेदन दिएकाहरू निराश
हरि गौतम

(रुकुम पूर्व) — जनता आवासमार्फत अघि सारिएको विपन्न दलितका लागि घर अभियानको काम अझै सुरु हुन सकेको छैन । जिल्लाका ३ वटै स्थानीय तहले एक वर्षअघि नै बस्ती छनोट गरेका थिए । तर, अहिलेसम्म प्रक्रिया नै अघि बढ्न सकेको छैन । 

बनेनन् विपन्न दलितका घर

गत चैत महिनामा भवन डिभिजन रोल्पाले जनता आवास कार्यक्रममार्फत विपन्न दलितका लागि घर बनाइदिने भनेपछि सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले एक/एक वडाका एक/एक बस्ती छनोट गरेका थिए । त्यसअनुसार सिस्ने गाउँपालिका–४ को भीङ, भूमे गाउँपालिका–९ को डाँडागाउँ र पुथाउत्तरगंगा गाउँपालिका–१२ को कोल छनोट भएका थिए । भीङ र कोलमा १५/१५ एवं डाँडागाउँमा २० घर बनाउने तयारी भवन डिभिजन कार्यालय रोल्पामार्फत भए पनि काम अघि बढ्न नसकेपछि आवास निर्माणका लागि आवेदन गरेका अहिले निराश बनेका छन् ।


‘आवास बन्ने भयो भनेर खुसी लागेको थियो,’ भूमे गाउँपालिका–९, डाँडागाउँका वीरबहादुर परियारले भने, ‘जिल्लामा पुगेर फारम भरियो तर एक वर्षसम्म हाम्रो निवेदन लिनेबाहेक अरू काम हुन सकेन ।’ ढिलाइको कारण पनि अहिलेसम्म जानकारी नभएको उनले बताए । प्रतिघर ३ लाख ३५ हजार रुपैयाँका दरले निर्माण गर्ने गरी भवन डिभिजन कार्यालय रोल्पाले कार्यक्रम बनाएको थियो । घर बन्ने परिवारले १० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको थियो ।


जनता आवास कार्यविधि, २०७३ र भवन डिभिजनको डिजाइन र स्पेसिफिकेसनअनुसार नै भवन निर्माण हुन्छन् । भवन निर्माणपछि अन्तिम किस्ताबापतको रकम भक्तानी लिनुपूर्व नै अनिवार्य शौचालय बनाउनुपर्ने प्रावधान छ । भवन डिभिजन कार्यालय रोल्पाका तत्कालीन प्रमुख ईश्वरराज जोशीले गत आर्थिक वर्षमै जनता आवास कार्यक्रममार्फत भवन बनाउने तयारी गरिए पनि भवन डिभिजन कार्यालय रोल्पा खारेज भएपछि योजनाका कार्यक्रम अघि बढ्न नसकेको बताए । डिभिजन कार्यालय रोल्पा खारेज गरेर त्यसको कामकाज हेर्ने गरी दाङमा कार्यालय सञ्चालन गरिएको छ । सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवद्र्धन बुढाले जनता आवास निर्माणका लागि वडा, बस्ती तथा घरसमेत छनोटको काम गरिए पनि अन्तिममा योजना नै कार्यान्वयन हुन नसकेको बताए ।


संघीय संरचनाअनुसार पुराना कार्यालय खारेजी र नयाँ स्थापनाको चरणमा रहेकाले अब फरक ढंगले छनोट भएकै स्थानमा कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । भूमे गाउँपालिकाले पनि पहिलो चरणको कामबाहेक थप काम हुन नसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बस्ती छनोटबाहेक थप काम नभएको बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?