कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जीर्ण बन्दै डोरबहादुर सम्झाउने संरचना 

एलपी देवकोटा

(जुम्ला) — समाजशास्त्री डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो तर चौधबीस क्षेत्रका जनताको मनमा उनी झलझली आउँछन् । भौतिक रूपमा हराए पनि जुम्लामा उनले बनाएका संरचनाका कारण सम्झाइरहन्छ ।

जीर्ण बन्दै डोरबहादुर सम्झाउने संरचना 

०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे । साबिक डिल्लीचौर गाविसको लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरे । ऋणमोक्ष विद्यालय स्थापना गरे, यो अहिले जिल्लाकै नमुना विद्यालय मानिन्छ । उनले स्थानीयलाई पशुपालन, कृषि व्यवसायमा प्रेरणा मिल्ने अन्य थुपै्र काम गरे । ‘अहिले पनि विष्टलाई हामी भगवानकै रूपमा मान्छौं,’ पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने, ‘लामो समयदेखि सम्पर्कमा नआए पनि उनको योगदानले सम्झाउँछ ।’


विष्ट ०५२ पुस २५ गते घर (काठमाडौं) जान्छु भनेर गाउँबाट हिँडेका थिए । त्यसयता अत्तोपत्तो छैन । चार वर्षसम्म विष्टसँगै उनको इन्स्टिच्युटमा काम गरेका बोहोरा भन्छन्, ‘बेपत्ता भएपछि उनले बनाएका संरचना टुहुराजस्तै भएका छन् ।’


स्थानीय मनीषा बोहोरालाई विष्टले तरकारी लगाउन सिकाएको अहिल्यैजस्तो लाग्छ । उनले मनीषाजस्तै अरू महिलालाई पनि तरकारी खेतीमा लाग्न प्रेरित गरेका थिए । ‘विष्ट’बा हाम्रा लागि त भगवानै हुन्,’ मनीषा भन्छिन्, ‘यस्तो दुर्गम गाउँमा आएर यति दु:ख किन गर्नुभयो होला भन्ने अहिले पनि अचम्म लागिरहन्छ ।’


विष्टले उतिबेलै गाउँमा विद्युतीकरणको सुरुवात गरे । तिर्खु गाउँमा ३ किलोवाट, लामरीमा १० किलोवाट र जमुनामा १४ किलोवाट क्षमताको विद्युतगृह स्थापना गरियो । उनकै योगदानले कर्णालीका कतिपय जिल्ला सदरमुकाम अँध्यारो रहेकै अवस्थामा डिल्लीचौर भने झिलिमिली थियो । अहिले पातारासी गाउँपालिकाले राष्ट्रिय आयोजनाका रूपमा सञ्चालन गरिरहेको चुकेनी जलविद्युत् आयोजनाको विष्टले सर्भे गरेका थिए । ‘कर्णाली इन्स्टिच्युटमा काम गर्दा नै चुकेनी विद्युतको मुहान ताक्लाकोटमा सर्भे भइसकेको थियो,’ गाउँपालिका अध्यक्ष बोहोराले भने, ‘उहाँ हराएपछि त्यतिकै रोकिएको थियो, अहिले सञ्चालन भएको छ ।’


विष्टले गाउँगाउँमा प्राविधिक खटाई किसानलाई कृषिमा जोड दिएका थिए । इन्स्टिच्युटका सदस्य नवराज शाहीका अनुसार उनले कृषि तथा भेटेरेनरी जेटीएका साथै अहेव/अनमी र शिक्षकसमेत गाउँगाउँमा पठाएका थिए । ‘सरकारले ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि प्राविधिक जनशक्ति व्यवस्था गर्न सकेको छैन,’ शाहीले भने, ‘विष्टले भने करिब तीन दशकअघि जुम्ली जनतालाई यी सेवा प्रदान गर्नुभएको थियो ।’ प्राविधिक जनशक्ति व्यवस्थापनका साथै पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र, स्वास्थ्यचौकी पनि स्थापना गरेको उनले बताए ।


विष्टले जुम्लाको चौधबीसलाई देशविदेशमा परिचित पनि गराए । चौधबीसमा स्वदेशी/विदेशी पर्यटकको ओइरो लाग्यो । अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, विदेशी कूटनीतिक नियोगका प्रमुख गाउँमै पुग्दा स्थानीय दंग नपर्ने कुरै भएन । विष्टबारे परिवारलाई जति चिन्ता छ, उत्तिकै चिन्ता छ चौधबीसवासीलाई । उनको अभावमा चौधबीस क्षेत्रको विकास रोकियो । स्थानीयको रोजगारी खोसियो । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्रियाकलाप प्रभावित भए । ‘एक हिसाबले हामी टुहुरा भएका छौं,’ इन्स्टिच्युटका सदस्य शाही भन्छन्, ‘उहाँले बनाएका विकासे संरचना पनि जीर्ण छन् ।’


अहिले जुम्ली जनताले विष्टको अभावमा अवरुद्ध र जीर्ण बन्दै गएका विकास प्रक्रिया सुरु गर्न उनका छोरा केशरबहादुरसँग अनुरोध गरिरहेका छन् । नाति विराज स्थानीय विकास सहायकमन्त्री भएका बेला करिब तीन वर्षअघि चौधबीस पुगेर इन्स्टिच्युट पुन: सञ्चालन गर्ने बताएका थिए तर अहिलेसम्म पहल भएन ।

को हुन् विष्ट ?


प्रख्यात समाजशास्त्री डोरबहादुरलाई नेपालमा समाजशास्त्र र मानवशास्त्रको सूत्रधारका रूपमा चिन्ने गरिन्छ । नेपालमा समाजशास्त्र र मानवशास्त्रको अध्ययन, अध्यापन र अनुसन्धानको सुरुवात उनैबाट भएको हो ।

उनीद्वारा लिखित ‘पिपल अफ नेपाल’ नामक पुस्तकले नेपाललाई विश्वसामु परिचित गराउन ठूलो भूमिका खेलेको छ । ‘फयाटालिज्म एन्ड डेभलपमेन्ट’ले नेपालको विकासमा भाग्यवाद अवरोध भएको बलियो तर्क दिएको छ । उनका ‘सबै जातको फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’ जस्ता कृति समाजशास्त्रका लागि राम्रै उपलब्धि मानिन्छन् । ती पुस्तकमा जातीय विभेद, भाग्यवाद, यथास्थितिवाद र ठालुवादले नेपाली समाजलाई निरन्तर विकास र उन्नतिको मार्गतर्फ रोकिरहेको तर्क दिएको छ ।


कहाँ हराए ?

डोरबहादुरले इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाई २०५२ पुस २५ मा चौधबीस छोडेका थिए । त्यसको दुई दिनपछि पुस २७ गते नेपाल वायु सेवा निगमको जहाजबाट नेपालगन्ज पुगे तर घर नगई बर्दिया हुँदै कैलाली चिसापानी गएको अनुमान गरिएको छ । त्यहाँबाट उनी कता गए, अत्तोपत्तो छैन ।


किन आए जुम्ला ?

डोरबहादुर पहिलोपल्ट ०४७ सालको अन्त्यतिर जुम्ला आएका थिए । २०४८ देखि भने चौधबीसको डिल्लीचौरलाई स्थायी कर्मथलो बनाउने निर्णय लिए । विश्वविद्यालयमा पढाउने, पुस्तक लेख्ने, देश/विदेशका विश्वविद्यालयमा प्रवचन दिनेजस्ता काम उनका लागि काठमाडौंबाटै सम्भव थिए । घरमै बसेर नाम/दाम कमाउन कमाएर आरामको जीवन जिउन सक्थे तर उनले अभावग्रस्त विकट चौधबीसलाई कर्मथलो बनाउने निर्णय गरेर सबैलाई चकित पारे ।


उनका नाति विराजका अनुसार मानिसको सोच, सिद्धान्त र जीवनशैली परिवर्तन गरिदिएर समतामूलक समाजको निर्माण गर्ने उद्देश्यका साथ जुम्ला पुगेका हुन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?