कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बसाइँ सराइले सुनसान गाउँ

चन्द्र कार्की

(तेह्रथुम) — पिउने पानीका मुहान सुकेपछि छथर गाउँपालिका बाँसपानीका २५ भन्दा बढी परिवार एकै पटक पूर्वी तराईमा बसाइँ सरे । गाउँभरि पानीका मुहान सुकेपछि उनीहरू आफ्नो थातथलो छाड्न बाध्य भएका हुन् ।

बसाइँ सराइले सुनसान गाउँ

जिल्लाकै सुक्खाग्रस्त यो गाउँका मुहान सुकेर पिउने पानी हाहाकार भएपछि पानी खोज्दै गाउँले तराई झरेको स्थानीय टीकाराम बस्नेतले बताए । ‘पानी नै खान नपाएपछि को बस्छ गाउँमा ?’ उनले भने, ‘अब गाउँमा रहेका पनि पानी खोज्दै तराई झर्ने तयारीमा छन् ।’ बितेको पाँच वर्ष अघिसम्म गाउँका खोल्साखोल्सीमा प्रशस्तै पानी पाइन्थ्यो । अहिले सबै मुहान सुकेर गाउँ उजाड बनेको उनले सुनाए ।


एक दशकदेखि सुक्न थालेका ती मुहान यो वर्षदेखि ठप्पै भयो । गाउँमा पिउने पानी नै नभएपछि हरिमाया न्यौपाने, खडगबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुण्य न्यौपानेको परिवार गाउँ छोडेर पूर्वी तराई बसाइँ सरेको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रअ केदार बस्नेतले बताए । ‘अरू दुई दर्जन परिवार पनि गाउँ छाडने तर्खरमा छन्,’ उनी भन्छन्, ‘पाँच वर्षको अवधिमा गाउँ नै खाली भयो ।’


अन्यत्रबाट पानी ल्याउने स्रोत पनि नभएको र भएका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार सुकेपछि समस्या परेको हो । सात वर्ष अघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले संख्या घटेर आधाआधी भएको प्रअ बस्नेतले बताए ।


वारिपारिका गाउँलेका खेतबारीमा यतिबेला आलु, साग, हिउँदे मकै, गहुँ, तोरी, फापर, काउलीलगायत लहलह छन् तर यो गाउँमा पानी नहुँदा गाउँभरका खेतीयोग्य जमिनमा धूलो उडिरहेको छ । ‘पानी परेन भने त एक दानो अन्न फल्दैन,’ स्थानीय जगतबहादुर घोर्सानेले भने, ‘अब के खाएर बाँच्ने भन्ने चिन्ताले गाउँलेलाई सताउँछ ।’ गाउँलेका खेतबारीमा हिउँदे कमाइ हुन सकेको छैन ।


स्थानीय केरापानी, देवीथान, ठोक्रे खोलालगायतमा रहेका आधा दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन् । एक गाग्री पानी ल्याउन एक घण्टा टाढाको अँधेरी खोला पुग्नुपर्छ । ‘जाँदा एक घण्टा लाग्छ,’ प्रअ बस्नेतले भने, ‘पानी बोकेर आउँदा दुई घण्टाभन्दा बढी लाग्छ ।’ अब त यो खोलामा पनि पानी सुक्दै गएको छ । आधा दशक अघिसम्म धान फल्ने खेतमा अहिले किर्ने काँडाले ढाकेको छ । पानी अभावमा हिउँदे कमाइ लगाउन नपाउँदा ५ हजार रोपनीभन्दा बढी खेतीयोग्य भूमि बाँझै रहेको गाउँलेवासीले सुनाए । खेती लगाउन नपाएपछि प्रत्येक वर्ष अन्न उत्पादनसमेत घट्दै गएको छ ।


यहाँबाट बसाइँ सरेर तराई झरेका कसैले गाउँको जग्गाजमिन सुक्रीबिक्री गर्न सकेका छैनन् । यी सबै जमिन बाँझै छन् । ‘कमाइ लगाएर गरी खा भन्दा पनि कोही तयार हुँदैन,’ स्थानीय टीकाराम बस्नेत सुनाउँछन् । उनका अनुसार यो गाउँमा विगत एक दशक अघिदेखि जग्गा किनबेच ठप्प छ । पानी नै नभएपछि पूरै गाउँ मरुभूमिसरह भएको दुखेसो उनले पोखे । गाउँका प्रत्येक परिवारसँग जग्गाजमिन प्रशस्तै भए पनि आफ्नो उत्पादनले कसैलाई वर्षको ६ महिनाभन्दा बढी समय खान पुग्दैन ।


गाउँमा दसौं रोपनी जमिन भएका तराई झरेर अर्काकामा अधियाँ र कुतमा खेती गरेर जीवन गुजारा गरिरहेका छन् । गाउँमा पानीको व्यवस्था गरेर बसाइँसराइ रोक्ने प्रयास गाउँपालिकाले गरिरहेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।


सुक्खा सहन सक्ने बाली र बोटबिरुवा रोप्न यहाँका गाउँलेलाई स्थानीय सरकारले सहयोग गर्ने अध्यक्ष लिम्बूले सुनाए । अन्य गाउँमा जनसंख्या बढेर जमिन साँघुरिँदै गएको अवस्थामा यहाँ भने भएको जनसंख्या पनि सकिँदै गएर जमिन खाली भएको छ ।


सित्तैमा जग्गा दिन्छु भन्दा पनि कोही नआएको झापा सरेकी हरिमाया न्यौपानेले बताइन् । ‘मुखभरि पानी नै खान नपाएपछि भएको जग्गाजमिन र घरसमेत छोडिदिएर हिँडेका हौं,’ तराईबाट गाउँमा बाँकी रहेका सरसामान लिन आएकी उनले भनिन्, ‘तराईमा त मनग्य पानी पाइँदोरहेछ ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?