१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जीर्ण बन्दै पासाङल्हामु मार्ग, सरकारी निकाय मौन 

बलराम घिमिरे

(रसुवा) — पासाङल्हामु सडक खण्ड मर्मत सम्भार नहुँदा दिन दिनै जीर्ण हुँदै गएको छ । रसुवा जिल्लाको स्याउबारीदेखि धुन्चे हुँदै स्याफ्रुसम्मको सडक खण्ड जीर्ण हुँदै गएको छ । कालोपत्रे भत्किएर बनेको खाल्टाखुल्टी नपुरिँदा र पहिरो गएको ठाउँहरूमा स्तरोन्नति नहुँदा सडक जीर्ण बनेको हो । 

जीर्ण बन्दै पासाङल्हामु मार्ग, सरकारी निकाय मौन 

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो । भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । भारतले नाकाबन्दी गर्दा पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने विषयमा पनि निकै चर्चा चलेको थियो । नाकाबन्दीको बेला चीन सरकारले दिएको अनुदानको तेल यही मार्ग हुँदै काठमाडौं पुगेको हो ।


नाकाबन्दीताका भूकम्पका कारण बन्द भएको रसुवागढी नाका खोल्न र पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै मन्त्रीहरू नाकासम्म पुगेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाढीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने सरकारले योजना समेत सार्वजनिक गरेको थियो । नाका त सञ्चालनमा आयो तर सडकको अवस्था भने जस्ताको तस्तै छ । सरकारले त्यति बेला गरेको सडक स्तरोन्नति गर्ने घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यो सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत हुने गरेको छ । पासाङल्हामु मार्ग सिंगल लेनको कच्ची सडक हो । साँघुरो कच्ची सडक त्यसमाथि भूकम्प र ठाउँठाउँमा गएको पहिरोको कारण तहसनहस भएको छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको छ । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको छ । साँघुरो सडक ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकहरूले अनेकौं समस्या झेल्नुपरेको छ । सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनरहरू बिग्रन्छन्, साइड दिने ठाउँ हुँदैन घण्टौंसम्म जाम हुने गरेको छ ।


ठाउँठाउँमा परेको खाल्टाखुल्टीले यात्रा जोखिम रहेको कन्टेनर चालक रामशरण आचार्यले बताए । ‘खाल्टाखुल्टी नपुरिँदा स्याउ बोकेको कन्टेनर कोल्टिएर दुर्घटना हुने गरेको छ,’ उनले भने । वर्षातको समयमा त पासाङल्हामु मार्गको यात्रा झनै कठिन हुने गरेको छ । वर्षातमा मूलखर्क सडकखण्ड हिलाम्मे हुने गर्छ । हिलोमा दिनहँु सवारीसाधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा फसेका सवारीसाधनहरूलाई यात्रु र चालकहरूले डोरीले तानेर निकाल्नुपर्ने अवस्था आउँछ । ‘सडक हिलाम्मे हुन्छ र खाली गाढी उकालोमा चढ्न सक्दैन,’ चालकहरू गुनासो गर्छन् ।


सडकको दयनीय अवस्थाको कारण यात्रुहरूले पनि समस्या झेल्नुपरेको छ । सवारी चालकहरू मर्कामा पर्ने गरेका छन् । पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत धेरै ठाउँमा पहिरोको समस्या छ । ‘साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक राजकुमार वाइबाले बताए । ‘यो सडकमा खाल्टाखुल्टी धेरै छन्,’ उनले भने । सडक बोर्ड अन्तर्गत विनियोजित भएको रकमबाट नियमित मर्मत गर्ने काम मात्र भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए । ‘पासाङल्हामु मार्गका लागि पर्याप्त मात्रामा बजेट नआएकाले ठूलाखाले मर्मत हुन सकेको छैन,’ उनले भने । अहिले स्याउबारीदेखि धुन्चे सडक खण्डमा ढलान गर्ने काम भइरहेको शाक्यले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?