कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्थानीय सरकार सर्वेसर्वा हैन : उपप्रधानमन्त्री पोखरेल

किर्ने,दोलखा — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय सरकारहरूले संवैधानिक व्यवस्था बिर्सेर सर्वेसर्वा मै हुँ भन्ने सोचबाट बाहिर आउनुपर्ने बताएका छन् । सोमबारदेखि दोलखा र रामेछापको सीमा किर्नेमा सुरु भएको दुई दिने गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, ३ नम्बर प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारले के के न पायौँ भनेर सङ्घीय र प्रदेश सरकारलाई समेत नटेर्ने अवस्था आएकोमा रोष प्रकट गरे ।

स्थानीय सरकार सर्वेसर्वा हैन : उपप्रधानमन्त्री पोखरेल

‘हाम्रा साथीहरू कतै अलमलिएको जस्तो,बरालिएको जस्तो,मेलोमा काम नगरेको जस्तो भएको छ’ पोखरेलले भने,‘मेलोमा नहिँड्नेलाई सधैँ सिर्कना लगाउने हैन, आफैँ मेलोमा पनि हिँड्ने कोसिस गर्नुपर्छ । उनले वर्तमान अवस्थामा स्थानीय सरकारले खोलामा झ्याम्ल्याङ्ग झ्याम्लुङ्ग हाम फालेर नहुने भएर खुट्टाले पानीभित्रको खतरा केलाउँदै अघि बढ्नुपर्ने बताए ।


सरकार नभेट्नेहरूका लागि भेटिने सरकारको रूपमा स्थानीय सरकार आएको उपप्रधानमन्त्री पोखरेलले बताए । ‘अब तपाईँहरु सरकार पल्टिने हैन,सर्वैसर्वा चंगाचैट भएझैँ मै हुँ भनेर अरू सरकारबाट अलग भएर काम गर्न थालियो भने आफैले संवैधानिक दायराको उल्लघंन गरेको हुन्छ’ पोखरेलले भने,‘संविधानले दिएको अधिकारलाई विचार गरेर काम गरौँ ।’ उनले स्थानीय सरकारले गरेका कतिपय कामहरूमा ढंग नपुगेको र कतिपयले गति छाडेको कुरा बाहिर चर्चा हुने गरेको औँल्याए ।


राजनीतिक र संवैधानिक परिवर्तन भए पनि प्रणालीमा परिवर्तन भइनसकेकाले कार्यान्वयनको चरणमा सरकारलाई असजिलो भएको पोखरेलले बताए । परिवर्तित व्यवस्था अनुकूल संरचना र प्रणालीमा सुधारका लागि समयानुकूल कानुनमा परिवर्तन गर्नेतर्फ सरकार लागेको उनले बताए । आपसमा बाझिएका कानुनका कारण सरकारहरुबीच समस्या, उल्झन र कटाक्ष हुन थालेको बताउँदै पोखरेलले उक्त समस्या कानुनमा सुधार गरेपछि आफैँ हटेर जाने बताए ।


परिवर्तनकारी कम्युनिस्टहरू दुई तिहाइको सरकार बनाएर शक्तिशाली भए पनि पार्टीगत रूपमा अनुशासनबाट अलग भएको उनले बताए । ‘कता कता पार्टी नै नभएको जस्तो पो भएको छ’ पोखरेलले भने । उनले चुनावी प्रतिस्पर्धा सकिएकोले अब सरकार र प्रतिपक्ष नभनी विकास निर्माणको काममा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?