२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाघको डरले  विद्यालय जान छाडे विद्यार्थी

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका–२, सीतापुरको अमरज्योति माविमा कक्षा ९ पढ्ने हिमांशु ठाकुर बिहानी कक्षामा जानै छाडेका छन् । बिहान ५ बजे विद्यालयको अतिरिक्त कक्षा जाने समयमा बाटोमा बाघको त्रास बढेकाले पढ्नै नगएको उनले बताए । कक्षा १० मा पढ्ने सोनम श्रेष्ठको अवस्था पनि ठाकुरको जस्तै छ । बाघको त्रासले विद्यालय जान नसकेको उनले सुनाए ।

बाघको डरले  विद्यालय जान छाडे विद्यार्थी

दुई साताअघि मात्रै बाघको आक्रमणबाट चन्द्रबहादुर शाहीले ज्यान गुमाएका थिए । यसपछि गाउँमा त्रास फैलिएको छ । बाघको आक्रमणमा विजय बुढाक्षेत्री घाइते भएका थिए । सीतापुर र आसपास गाउँमा अहिले पनि बाघको त्रास कायमै छ । साँझदेखि बिहान घाम नझुल्केसम्म कोही बाहिर निस्किँदैनन् ।


अमरज्योति माविका शिक्षक विक्रम बर्माले बाघको त्रासले बिहानको अतिरिक्त कक्षामा झन्डै ५० प्रतिशत विद्यार्थी घटेको बताए । ‘यो क्रम अझ बढदो छ,’ उनले भने, ‘वार्षिक परीक्षा फागुन २६ गतेबाट हुने तय भएको छ । बाघको त्रासले विद्यार्थीको पढाइमा असर गर्‍यो ।’ गत शनिबार बिहान बढैयाताल–१, प्लट नं. ३१ मा मानबहादुर सुनारले पालेको बाख्रा बाघले खाएपछि थप त्रास बढेको स्थानीयले बताए । एक सातामा २ छाडा चौपायासमेत बाघले मारेको स्थानीय लालप्रसाद घिमिरेले बताए । ‘दिनहँु गाउँ वरिपरि बाघ देखिन थालेपछि आतंक बढ्यो,’ उनले भने, ‘स्थानीय प्रशासनले बाघको खोजी गरी निकुञ्जतिर नधपाएसम्म त्रास रहिरहन्छ ।’


स्थानीय हरिबहादुर मल्लले बाघका पाइला आँगनमा देखिएकाले घरपरिवार सबै डराएको बताए । गाउँमा घरबाहिर शौचालय भएका धेरै छन् । बाघ गाउँनजिक रहेको सामुदायिक वनवरिपरि रहेको जानकारी आएको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले सुनाए । ‘घरबाट बिहानै उठेर खेतमा जान कोही मान्दैनन्,’ उनले भने, ‘बाघको खोजी प्रहरीले गरे पनि पत्ता लाग्न सकेको छैन ।’


बढैयातालस्थित जमुनी प्रहरी चौकी र सशस्त्र प्रहरी बीओपी पोस्टमा बेलाबेला बाघ कराएको आवाज सुनेको बताइएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला र जिल्ला वन अधिकृत कोमलराज काफ्लेको टोली घटनास्थल पुगेको थियो ।


दुई साताअघि बाघको आक्रमणबाट शाहीको मृत्युलगत्तै बर्दिया राष्ट्रिय निकुञ्जको चिकित्सकसहितको सुरक्षा टोली यहाँ आएको थियो । बाघ फेला नपरेको भन्दै टोली निकुञ्ज मुख्यालय ठाकुरद्वारा फर्केको हो । सीतापुरनजिक सामुदायिक वन भएकाले पनि बाघ फेरि आउने हो कि भन्ने आशंका स्थानीयको छ । अहिले सामुदायिक वनमा घाँस–दाउरा गर्न कोही जाँदैनन् । घना बस्ती भएको गाउँनजिकको खेतमा बाघ कहाँबाट आयो कसैलाई थाहा छैन । स्थानीयले बाघसँगै दुईवटा डमरु पनि भएको बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?