भलमन्सामा महिला
टीकापुर — थारू गाउँको नेतृत्व गर्ने बडघर सधैं पुरुष हुँदै आएका थिए । सदियौंदेखिको यो रीत बदलिएको छ । कैलालीका केही गाउँमा यो वर्ष महिला बडघर (भलमन्सा) छानिएका हुन् ।
महिला भलमन्सा हुँदा स्थानीय महिलाले आफ्ना समस्या राख्न सहज महसुस गरेका छन् । ‘थारू गाउँमा सबभन्दा पहिला आफ्नो समस्या भन्ने बडघरलाई हो, महिला बडघर हुँदा महिलाले समस्या सजिलै सुनाउन सक्छन्,’ टीकापुर, विजयनगरकी भलमन्सा हेमा
चौधरीले भनिन् ।
गाउँमा श्रीमान्–श्रीमतीको झगडा, कुटपिट, गालीगलौजजस्ता लैंगिक हिंसा हुने र तिनमा महिला बढी पीडित हुने गोदावरी नगरपालिका–८ जोनापुरकी भलमन्सा सीता चौधरीको अनुभव छ । मुद्दा टुंग्याउन गाउँका महिला र वडा कार्यालयका मेलमिलापकर्ताले पनि सघाउँछन् । ‘गाउँघरका धेरै घटना गाउँमै टुंग्याउन सफल भएको छु,’ उनले भनिन्, ‘गम्भीर प्रकृतिका घटनामा प्रहरीमा जान सिफारिस गर्छु तर त्यस्ता घटना नगण्य मात्रामा हुन्छन् ।’
महिला भलमन्साले आफ्नो भूमिकालाई सामाजिक, सांस्कृतिक र धार्मिक कार्यमा मात्रै सीमित राखेका छैनन्, स्थानीय तहसँग समन्वय, पूर्वाधार तथा सामाजिक विकास क्षेत्रमा समेत काम गर्न थालेका छन् । ‘गाउँमा खेतीपाती, सिँचाइ कुलो, शिक्षा, स्वास्थ्यलगायत विकासका लागि स्थानीय तहको योजना र कार्यान्वयनमा पनि चासो दिन्छु । गाउँलेलाई जानकारी गराउँछु,’ सीताले भनिन् ।
बडघर/महटावा/भलमन्सा महासंघ कैलालीका अध्यक्ष बिलारु थारूले पहिले महिला बडघर नहुने गरे पनि अहिले उनीहरूले नै गाउँको नेतृत्व सम्हाल्न थालेको बताए । ‘कैलालीमा बडघर भेला भइनसकेकाले कति महिलाले गाउँको नेतृत्व गर्न पाएका छन् भन्ने संख्या यकिन हुन सकेको छैन,’ उनले भने । कैलारी, जोशीपुर, भजनीलगायत गाउँमा महिला भलमन्सा बनेका उनले सुनाए ।
भलमन्सा बनेर गाउँको नेतृत्व गर्दा समस्या झेल्नुपरेको अनुभव सीताको छ । ‘समाजले महिलालाई सुरुमा पत्याउनै मुस्किल पर्छ,’ उनले भनिन्, ‘कतिपय पुरुषले महिलाले पनि बडघर चलाउन सक्छन् भन्दै कुरा काटेको पनि सुनियो ।’ श्रीमान् र अन्य महिलाको सहयोगले आफूलाई केही सजिलो भएको उनले बतइन् । ‘म भलमन्सा भएपछि गाउँका महिला सामाजिक काममा भाग लिन थालेका छन्,’ उनले भनिन्, ‘गाउँका काममा करिब ९० प्रतिशत महिलाको उपस्थिति हुने गरेको छ ।’
प्रकाशित : फाल्गुन ७, २०७५ ०८:१३