कोपिलाकी ‘प्यारी माँ म्यागी’

ज्योति कटुवाल

सुर्खेत — अमेरिकी नागरिक म्यागी डोयन अनाथ बालबालिकाका लागि ‘प्यारी माँ’ बनेकी छन् । ०६४ देखि सुर्खेतमा बस्दै आएकी म्यागी अनाथ र गरिबीको चपेटामा परेका बालबालिकाको पढ्ने इच्छा पूरा गराउन सफल भएकी छन् ।

कोपिलाकी ‘प्यारी माँ म्यागी’

सुरुमा २४ अनाथ बालबालिकाबाट सुरु गरेको विद्यालयमा अहिले ४ सय ५० भन्दा बढी बालबालिका अध्ययन गरिरहेका छन् ।

सुरुमा बाँसले बारेको स्कुलमा अध्यापन गराउँदै आएको विद्यालय भर्खरै पूर्वाधारयुक्त भवन बन्यो । वीरेन्द्रनगरस्थित कोपिला भ्याली विद्यालयलाई यहाँसम्म पुर्‍याउन निकै परिश्रम गर्नुपरेको म्यागीले सुनाइन् । कोपिलामा अध्ययन गरेका विद्यार्थी अहिले देश/विदेशमा छात्रवृत्तिमा अध्ययन गर्दै आइरहेका छन् ।

०६४ सालमा कोपिला भ्याली समाजका रूपमा स्थापना भएको गैरसरकारी संस्थाले स्कुल पनि सञ्चालन गरेको हो । अमेरिकाको न्युजर्सी घर भएकी म्यागी १२ वर्षयता सुर्खेतमा बसेर समाज सेवा गर्दै आएकी छन् । उनी यसअघि मानव सेवा गरेबापत सन् ०१५ मा अमेरिकाको केबल न्युज नेटवर्क (सीएनएन) बाट हिरो अफ द इअरको उपाधि प्राप्त गर्न सफल भएकी थिइन् । उनलाई पुरस्कारस्वरूप एक लाख दस हजार अमेरिकी डलर दिइएको थियो ।

म्यागीले पुरस्कारबापत प्राप्त रकम सोही स्कुलमा लगानी गरेकी छन् । करिब साढे १२ करोडको लगानीमा बालमैत्री तथा विभिन्न संरचनासहितको विद्यालय बनेको हो ।

अहिले कोपिला भ्याली सेवा समाजअन्तर्गत कोपिला भ्याली स्कुल, कोपिला भ्याली बालगृह र कोपिला भ्याली महिला केन्द्र सञ्चालनमा आएका छन् । सुर्खेतलगायत अन्य जिल्लाबाट ४ सय ५० भन्दा बढी बालबालिकालाई नि:शुल्क शिक्षासहित आवश्यक परामर्श सेवा दिँदै आएको संस्थाले जनाएको छ ।

अहिले विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । अन्तर्राष्ट्रिय गैरसकारी संस्था विलिङ्कनाउ फाउन्डेसनको लगानीमा सञ्चालन भएको स्कुलमा नि:शुल्क रूपमा बालबालिका अध्ययन गर्दै आएका छन् ।

विद्यालयले गरिब, अनाथ, असहाय तथा पिछडिएका परिवारका बालबालिकालाई नि:शुल्क शिक्षा दिइरहेको कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए । उनले आफू पनि अनाथ भएकाले म्यागी र आफ्नो कुरा मिलेपछि यो स्कुल स्थापना गर्ने योजना बनाएको जनाए । ‘८ कक्षा पास गरेको थिएँ । नेपालमा बस्न सक्ने वातावरण नभएपछि विदेसिएँ र उता गएपछि पनि निकै संघर्ष गर्नुपर्‍यो,’ उनले भने, ‘म्यागी र मेरो भेट एउटा संस्थामा काम गर्दैगर्दा भएको थियो । त्यसपछि यहाँ आएर कोपिला भ्यालीको काम सुरु गर्‍यौं ।’ अहिले कोपिलाको आर्थिक सहयोगमा ५ विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

संस्थापक म्यागी र टोपबहादुर मल्लले निकै राम्रोसँग चलाएको अभिभावकको भनाइ छ । प्रिन्सिपल नइम चौधरीका अनुसार कर्णाली प्रदेशमा विपन्न र अनाथ विद्यार्थीलाई पढाउने यो एकमात्र विद्यालय हो । अहिले विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १५० किलोवाट विद्युत् उत्पादन हुन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?