कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रक्सौल डिपोबाट आयात भएको इन्धनमा पानी र लेदो

भूषण यादव

वीरगन्ज — सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम(आईओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ । पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले मङ्गलवार रक्सौल डिपोबाट पेट्रोल र डिजेल लोड गरी भित्रिएका ट्यांकर चेकजाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो भेटिएको हो । 

रक्सौल डिपोबाट आयात भएको इन्धनमा पानी र लेदो

नेपालमा प्रयोग हुने कुल इन्धनको करिब ६० प्रतिशत यही नाकाबाट भित्रिने गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले नेपाल आयल निगमको वीरगन्ज कार्यालय अगाडि डिजेल र पेट्रोल बोकेको ट्यांकर चेकजाँच गरेको थियो ।


मङ्गलवार अपरान्हसम्म रक्सौल डिपोबाट डिजेल बोकेका २१ र पेट्रोलका १० ट्यांकर गाडी आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले नेपालका लागि भारतबाट खरिद गरी ल्याएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाट पानी र लेदो फेला परेको जानकारी दिए । ‘थप अनुसन्धानका लागि नमुना सङ्कलन गरेका छौँ,’ उनले भने, ‘इन्धनसँगै पानी र लेदो पनि भेटिएको छ ।’ परस्पर वार्तापछि थप खुलासा हुने उनले बताए ।


इन्धन ढुवानी गर्ने ट्यांकरमा तीन देखि चारवटा चेम्बर हुन्छन् । व्यवसायीका अनुसार एउटा चेम्बरमा झन्डै २० लिटरसम्म पानी र लेदो छ । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विनोद चौरसियाका अनुसार विगत एक सातादेखि विभिन्न पेट्रोल पम्पका सञ्चालकले इन्धनमा पानी र लेदोको मिसावट फेला परेको गुनासो गरेका थिए । ‘सुख्खा बन्दरगाह अगाडि रहेको आफ्नै पेट्रोल पम्पमा समेत पानी र लेदो भेटिएको थियो,’ उनले भने, ‘पानी र लेदोको मिसावट बारे नेपाल आयल निगमका कर्मचारीलाई गुनासो गर्दा कुनै चासो देखाएनन् ।’


चौरसियाका अनुसार बिलिङ भइसकेको इन्धनमा निगमले 'रिक्स' लिन नसक्ने कर्मचारीले जवाफ दिन्थे । गत फागुन एकमा वीरगन्जको बाइपास रोडमा रहेको बाबा पेट्रोल पम्पबाट बिक्री भएको डिजेलमा पानी र लेदो फेला परेपछि स्थानीय प्रशासनले शिलबन्दी गरेको थियो । त्यस पम्पबाट डिजेल खरिद गरेका उपभोक्ताको सवारी साधन बिग्रिएपछि प्रशासनलाई उजुरी गरेका थिए ।


मिसावटबाट पीडित भएका पर्सा र बाराका पम्पवालाले मङ्गलवार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएपछि चेकजाँच भएको हो । प्रशासनले आयल निगम, खाद्य तथा गुणस्तरका कर्मचारी र पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारीको रोहबारमा पेट्रोलियम पदार्थको परीक्षण गरेको थियो ।


नेपाल आयल निगम वीरगन्ज कार्यालय प्रमुख जगदीश चन्द्र यादवले रक्सौल डिप्पोको ट्यांकी सफा भइरहेकाले पाइपमा पानी र लेदो छुटेको हुनसक्ने बताउँछन् । ‘त्यही पानी र लेदो इन्धन लोड गर्ने बेलामा ट्यांकीमा आएको हुनसक्छ,’ उनले भने, ‘चालकलाई इन्धनमा मिसावटको शङ्का लागेमा रक्सौल डिप्पोमा वाटर फाइन्डिङ टेस्ट गर्न भनेको छु ।’


कार्यालय प्रमुखले आईओसी डिप्पोको ट्यांकी सफाइका कारण पानी र लेदो आएको हुनसक्ने बताएपनि व्यवसायीले आइओसीले बदमासी गरेको दाबी गर्छन् । ‘ट्यांकी सफाई भएको ८/९ दिनसम्म कसरी पानी र लेदो आउँछ,?’ एक पेट्रोल पम्प व्यवसायी भन्छन्, ‘नेपाली पक्षकै उदासिनताले ठगिएका छौँ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?