कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कान्तिपुर राष्ट्रको वाचडगको बलियो भूमिकामा : अध्यक्ष सिरोहिया

विमल खतिवडा

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले अग्रणी सञ्चार प्रतिष्ठान कान्तिपुरले राष्ट्रको ‘वाचडग’ का रूपमा बलियो भूमिका निर्वाह गर्दै आएको बताएका छन् । कान्तिपुुर पब्लिकेसन्सको २६औं वार्षिकोत्सवका अवसरमा पब्लिकेसन्स मुख्यालय थापाथलीमा मंगलबार आयोजित समारोहमा बोल्दै सिरोहियाले पाठकको बढदो चासो र सरोकार आत्मसात गर्दै आफ्ना सामाग्रीलाई विविधीकरण गरी पत्रिकालाई थप खोज र अनुसन्धानमूलक बनाउँदै लैजाउने बताए ।

कान्तिपुर राष्ट्रको वाचडगको बलियो भूमिकामा : अध्यक्ष सिरोहिया

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको अर्थ नागरिकलाई सही सूचना दिनु र सुसूचित जनमत निर्माण गर्नु हो,’ उनले भने, ‘हामीले तय गरेको यात्रा नेपालको लोकतन्त्र, प्रेस स्वतन्त्रतासहित नागरिक अधिकारका लागि संघर्षको दस्तावेज हो ।’


‘यस वर्ष हाम्रा लागि विशेष अनुभव भयो,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेसँगै हामीले पनि प्रादेशिक संस्करणहरू सुरु गर्‍यौं, ७ वटै प्रदेशका छुट्टाछुट्टै संस्करणमार्फत प्रदेश र स्थानीयतहका सामग्रीले विशेष प्राथमिकता पाएका छन् ।’ उनले पाठकको डिजिटल पहुँच विस्तारसँगै अनलाइन सेवालाई थप गतिशील बनाउँदै लैजाने बताए ।


‘सबै सहकर्मी साथीहरूको समर्पण र लगनशीलताद्वारा आज हामी यो अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘मल्टिमिडियाको प्रयोगद्वारा डिजिटल माध्यमलाई रूपान्तर गर्दै लैजाने प्रतिबद्धता पनि हाम्रो छ ।’ उनले सफलताको स्रोत ‘टिम स्पिरिट’ रहेको सुनाए । ‘जनतालाई सही सूचना तपाईंको अधिकार भन्ने मर्मसाथ पत्रकारिता अभ्यास गर्दै आएका छौं र गरिरहने अठोट पनि दोहोर्‍याउन चाहन्छु,’ उनले भने, ‘हामी डराउने होइन, जनतालाई सही तरिकाले सुसूचित गर्नका लागि जतिसुकै कडाइका साथ कदम चाल्नुपर्छ, हामी चाल्न तयार छौं । सही सूचनाका लागि म अदालतदेखि जेल जानसम्म छाती खोलेर तयार छु ।’


उनले यो वर्ष २ वटा विशेष कार्यक्रम गर्न सफल भएको सुनाए । ‘कान्तिपुर कन्क्लेभ र कान्तिपुर आइकन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोग रह्यो,’ सिरोहियाले भने, ‘कान्तिपुर मिडिया ग्रुप मुलुकको अग्रणी व्यावसायिक सञ्चार प्रतिष्ठान भएकाले राष्ट्रको विकासमा अभिन्न रूपले जोडिएको छ । यसले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसन पनि सुरु गरेको छ र यसका तर्फबाट हरेक २ वर्षमा हामीले राष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा आफ्नो लगन र समर्पणद्वारा समाजलाई आस भरोसा दिने प्रतिभालाई कान्तिपुर आइकनका रूपमा सम्मान गर्दै आएका छौं, यो वर्ष ४ विधामा गर्‍यौं ।’

कान्तिपुरको लामो यात्रामा अनेक उतारचढाव आए पनि हरेक घटनाबाट केही न केही पाठ सिकेको उनले बताए । ‘टिम स्पिरिट नै हाम्रो मूल गहना हो,’ उनले भने ।


पब्लिकेसन्सका बिजनेश डाइरेक्टर रजनिश रिखीले कान्तिपुरजस्तो संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले २६ वर्षमा कान्तिपुर पाठकको ‘बेस्ट प्रेmन्ड’ बन्न सफल भएको बताए । दि काठमान्डु पोस्टका प्रधान सम्पादक अनुप काफ्लेले खोजी समाचारमा आफूहरू बढी केन्द्रित भएको बताए । साप्ताहिक/नारीका सम्पादक सुवास ढकालले नेपाली पत्रकारितामा चुनौती थपिँदै गए पनि त्यसलाई चिर्न सक्नुपर्ने बताए । नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले सामूहिक भावनाबाट संस्थाले काम गरिरहेको बताए । एजीएम महेश स्वाँरले भूकम्पपछि चुनौती थपिए पनि सबैको साथ–सहयोगले पब्लिकेसन्स यहाँसम्म आउन सफल भएको बताए ।


समारोहमा विभिन्न विभागका उत्कृष्ट कर्मचारीलाई अवार्ड र प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीका रूपमा कान्तिपुरका मकर श्रेष्ठ (काठमाडौं), मनोज पौडेल (कपिलवस्तु), दि काठमान्डु पोस्टबाट चन्दन मण्डल, नेपाल साप्ताहिक डिजाइनका यमन मानन्धर, नारी/साप्ताहिक फोटोग्राफीकी श्रुति श्रेष्ठ, प्रेस विभागका विनोद सुवेदी, बिक्रीवितरणका जर्नादन पराजुली र पुष्कर खतिवडा, मार्केटिङका अनुपम अधिकारी र फाइनान्सका भाष्कर खनाललाई अवार्ड प्रदान गरिएको थियो । यस्तै प्रोत्साहन पुरस्कार कान्तिपुरका प्रदिप खतिवडा (काठमाडौं), शिव पुरी (रौतहट), मेनुका ढुंगाना (अछाम), हरि गौतम (रुकुम पश्चिम), प्रतीक्षा काफ्ले (स्याङ्जा) र देवनारायण साह (विराटनगर) लाई प्रदान गरियो । फोटोग्राफीका हेमन्त श्रेष्ठ, सुरक्षा गार्ड रामबहादुर सापकोटा, चालक श्रवन साह, आईटीका पुरण श्रेष्ठ, डिजाइनका भक्तबहादुर कार्की, क्षेत्रीय कार्यालय नेपालगन्ज प्रेसका शिवु सिंह, विराटनगर सीटीपीका योगेश राई, भरतपुर प्रेसका सञ्जीवकुमार भुजेल र पोखरा कार्यालय प्रशासन विभागका वामदेव गौतमलाई पनि प्रोत्साहन पुरस्कार दिइएको थियो । यस्तै कान्तिपुर एफएमबाट उत्कृष्ट कर्मचारीका रूपमा इन्जिनियरिङका दीपक सापकोटा, समाचारका सुरज राजथला, कार्यक्रम प्रस्तोता एलिसा बज्राचार्य र महेश लिम्बू पुरस्कृत भए ।


यस्तै, प्रेस इन्स्टिच्युटबाट सञ्चालित २०७४/७५ को पत्रकारिता तालिममा सर्वाधिक अंक प्राप्त गर्ने लक्ष्मणबहादुर बस्नेत, राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित २०७४/७५ को परीक्षामा पत्रकारितामा सर्वाधिक अंक प्राप्त गर्ने आशिष चम्लागाईं र त्रिविबाट सञ्चालित २०७४ सालको मानविकी तथा सामाजिक शास्त्रतर्फको स्नातक तहको परीक्षामा पत्रकारिता विषयमा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण अमिर रेग्मीलाई पनि नगदसहित सम्मान गरियो ।

कार्यक्रममा उत्कृष्ट विज्ञापन एजेन्सीका रूपमा म्याक्स मिडिया, मिडिया सेन्स र थम्सन नेपाललाई सम्मानित गरिएको थियो । त्यस्तै पत्रिका बिक्रीवितरण गर्ने अधिकृत बिक्रेतातर्फ पहिलो झिंगु समाचार केन्द्र वीरगन्जका नारायण कर्माचार्य, दोस्रो श्रेष्ठ पुस्तक पसल दमकका ज्ञानेन्द्र श्रेष्ठ र तेस्रो जेएन पुस्तक पसल रामेछापका जगन्नाथ दाहाललाई सम्मान गरियो । पत्रिका बिक्रीवितरणतर्फ २१ जनालाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । जसमा दिलकुमार श्रेष्ठ, अच्युत खडका, विष्णु खडका, नेत्रप्रसाद कोइराला, वीरकुमार लामा, लक्ष्मीराम चौधरी, विपिन खडका, राकेश कोजु, दिकार अधिकारी, बिर्खनारायण चौधरी, श्रीकृष्ण श्रेष्ठ, पर्शुराम ढुंगाना, राजाराम बस्नेत, केशव ढकाल, राजु श्रेष्ठ, निरज राउत, उमेश श्रेष्ठ, प्रकाश विष्ट, बलबहादुर विष्ट, ध्रुब केसी र गर्भे माझी छन् ।


यस्तै, वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद र क्विजका विजयी कर्मचारीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?