२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

‘वर्ष दिनभित्रै पश्चिम सेती’

डीआर पन्त, मोहन शाही

डडेलधुरा/डोटी — प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती विद्युत् परियोजनाको काम तत्काल सुरु हुने बताएका छन् । डडेलधुराको स्याउलेस्थित विद्युत् सबस्टेसनको मंगलबार उद्घाटन गर्दै ओलीले परियोजनाको काम वर्ष दिनभित्रै सुरु गर्ने जनाएका हुन् । 

‘वर्ष दिनभित्रै पश्चिम सेती’

उनले अब सरकारकै लगानीमा परियोजनाको काम अघि बढाइने बताए ।


२०३८ सालदेखि चर्चामा आएको पश्चिम सेती परियोजनाको जिम्मा सुरुमा अस्ट्रेलियन कम्पनी स्मेकलाई दिइएको थियो । तर उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि २०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारले आयोजना निर्माणका लागि थ्री गर्जेजसँग समझदारी गरेको थियो ।


थ्री गर्जेजले समेत गत भदौमा उक्त आयोजनाबाट हात भिकेको थियो । २०६८ मा ६ वर्ष ७ महिनामा निर्माण सम्पन्न हुने गरी भएको सम्झौतामा यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत जोडदा १ अर्ब ८१ करोड अमेरिकी डलर छ । निर्माण अवधिको ब्याजबाहेक आयोजना लागत १ अर्ब ४० करोड डलर छ ।


प्रधानमन्त्रीले पश्चिम सेतीमात्र नभई देशका हरेक गाउँ–गाउँमा विद्युतीकरण हुने पनि बताए । ऊर्जामन्त्री वर्षमान पुनले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो योजनाका रूपमा पश्चिम सेती बनाउने गरी सरकारले तयारी गरिरहेको र यस वर्षदेखि सुरु गरिने जनाए ।


पश्चिम सेती मात्र नभई देशका हरेक गाउँ–गाउँमा विद्युतीकरण हुने ओलीले बताए । प्रधानमन्त्रीसँगै आएका ऊर्जामन्त्री पुनले पनि अहिलेकै सरकारले पश्चिम सेती बनाउने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो योजनाका रूपमा पश्चिम सेतीलाई बनाउने गरी तयारी गरिरहेको र त्यसको सुरुवात यसै वर्षदेखि गरिने बताए ।


विश्वस्त छैनन् स्थानीय

करिब ४ दशकदेखि पश्चिम सेतीको चर्चा चले पनि काम अघि नबढदा स्थानीयले आशा नै मारिसकेका छन् । नेताहरूका थुप्रै आश्वासन र प्रतिबद्धता सुनेर थाकेका स्थानीय प्रधानमन्त्रीको पछिल्लो प्रतिबद्धताप्रति पनि विश्वस्त छैनन् । थ्री गर्जेजले माघ अन्तिम साता हेलिकप्टरबाट आफ्ना सामग्री लैजाँदा पश्चिम सेतीको आशा मरेको निर्माणस्थल ढुंगाढका लोकेन्द्र चन्दले दुखेसो पोखे ।


‘कति कम्पनी आए, कति नेता–मन्त्रीले गाउँमै पुगेर भाषण गरे,’ चन्दले ३ वर्षअघि ऊर्जामन्त्री जनार्दन शर्माले हेलिकप्टरमा गाउँमै आएर दिएको भाषण सम्झिँदै भने, ‘त्यसैगरी प्रधानमन्त्रीले पनि आशा देखाउनुभयो तर हामीलाई पत्यार छैन ।’


‘अब विकासले गति लिन्छ’

प्रधानमन्त्री ओलीले सरकार बनेको पहिलो वर्ष नीति निर्माणमा मात्र सीमित भएका कारण आगामी वर्ष विकासले गति लिने बताएका छन् । ‘नीति निर्माणको चरण सकिएको छ, अब विकासको चरण सुरु हुन्छ ।’ प्रधानमन्त्रीले विपक्षी दललाई लक्षित गर्दै केही काम नपाएकाहरूले विरोध मात्र गरिरहेको बताए । ‘काम नपाएकाहरू विरोध मात्र गर्छन्,’ उनले कुनै पार्टीको नाम नलिई भने ।


ऊर्जामन्त्री पुन र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पनि सुदूरपश्चिमको विकासका लागि सरकारले गरिरहेका प्रयासका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि उपस्थित थिए ।


प्रधानमन्त्री ओलीले उद्घाटन गरेको १३२/३३ केभी सबस्टेसनबाट सुदूरपश्चिमका डडेलधुरा, डोटी, बैतडी, अछाम, बझाङ तथा दार्चुलामा विद्युत् वितरण गरिरहेको छ । उक्त सबस्टेसनमा ६ महिनाअघिदेखि ३८ मेगावाट विद्युत् सुदूरपश्चिमका विभिन्न जिल्लामा वितरण भइरहेको छ ।


विद्युत् वितरणका लागि पहाडी जिल्लामा निर्माण भएको यो सबैभन्दा ठूलो सबस्टेसन हो । पहाडी जिल्लाका विद्युत् प्रवाह गर्न निर्माण गरिएको सबस्टेसनले अहिले चमेलिया र नौगाडको बिजुली वितरण गर्ने काम गरिरहेको छ । करिब ४५ करोडको लागतमा उक्त सबस्टेसन निर्माण भएको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।


प्रधानमन्त्रीले मंगलबार नै ३१ वर्षअघि सुरु भएको डोटीको सहजपुर–बोगटान सडकको पुन: शिलान्यास गरेका छन् । उक्त सडकको शिलान्यास २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खडकाले गरेका थिए ।


बोगटान सडक ३ वर्षभित्र निर्माण सम्पन्न हुने प्रधानमन्त्री ओलीले बताएका छन् । त्यस क्रममा उनले रोजगारी, विद्युतीकरणका लागि स्थानीय बासिन्दालाई चिन्ता नगर्न आश्वासन दिए । गत वर्ष असोजमा टेन्डर आहवान गरिएको बोगटान सडकमा अहिले काम सुरु भएको छ । सो सडक नेपाल–भारत सरकारबीच २०७१ सालमा गरिएको सम्झौताअनुसार एक्जिम बैंकमार्फत प्राप्त रकममध्येबाट बनाउन लागिएको सडक सुधार तथा विकास आयोजनाका निर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?