३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नर्सरीका नर्स

मधु शाही

बाँके — मालीले घाँस भन्ठानेर फूलका बिरुवा उखेलिदिए छन् । त्यस रातभर रेनुका महर्जनलाई निद्रै लागेन । आफूले निकै मिहिनेत गरी हुर्काएको फूल उखेलिँदा नर्सरी व्यापारी ३० वर्षीया रेनुका खिन्न हुनु स्वाभाविक थियो ।

नर्सरीका नर्स

यस घटनापछि नेपालगन्ज उपमहानगरपालिका–१० मा बस्ने उनी नर्सरीको काममा मालीसँगै आफैं खटिने गरेकी छन् ।


नर्सरी सञ्चालन गर्दै आएकी उनलाई फूल संरक्षण गर्नु सबैभन्दा रमाइलो काम लाग्छ । उनलाई फूल र बिरुवाकी नर्स नै भन्दा फरक पर्दैन । उनी बिरुवा जन्माउनेदेखि हुर्काउनेसम्मको जिम्मेवारी आफंै सम्हाल्छिन् । ‘सबैले मायाले बिरुवा हुर्काउँदैनन्,’ उनले भनिन्, ‘नर्सरीमा फूललाई मान्छेजस्तै स्याहार्नुपर्छ ।’


उनले १५ वर्षदेखि नर्सरी गर्दै आएकी छन् । अर्घाखाँचीबाट बिहे गरेर नेपालगन्ज आउँदा उनका सासू–ससुराले यो व्यवसाय गर्थे । घरको सानो जमिनबाट सुरु भएको नर्सरीलाई रेनुकाले यतिबेला बृहत् रूप दिएकी छन् । ८ कक्षा मात्रै अध्ययन गरेकी उनी ससुराले रहरका रूपमा सुरु गरेको नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन लागिन् । सीटीईभीटीबाट ३ महिने तालिम लिएपछि नर्सरीबारे राम्रो ज्ञान पाएको उनले सुनाइन् ।


घरमा श्रीमान्, ३ छोराछोरी र आफूसहित सबै जना नर्सरीकै भरमा धानिएको रेनुकाले बताइन् । उनले व्यापार फस्टाउँदै गएपछि ठाउँ अभावमा घरको छतमा समेत नर्सरी राखेकी छन् । यति मात्रै होइन, उनले वरिपरि करेसाबारी र आँगन पेटीमा समेत नर्सरीका बिरुवा जमाएकी छन् ।


घरमै बसेर बिरुवा बिक्री गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाइन् । एउटा संस्थाबाट ७५ हजार रुपैयाँ अनुदान पाएपछि उनले छतमा नर्सरी सुरु गरेकी थिइन् । सकेसम्म लोकल बिरुवा उत्पादन गर्छिन् । यसमा लगानी कम र फाइदा धेरै हुने उनको भनाइ छ ।

रेनुकाकै छिमेकी सिर्जना श्रेष्ठ पनि लामो समयदेखि नर्सरी व्यवसायमा सक्रिय छन् । ससुराले सञ्चालन गरेको १० वर्ष पुरानो नर्सरीलाई आधुनिकीकरण गर्नुमा उनको ठूलो योगदान छ ।


सिर्जनाले बिहे गरेपछि गृहिणीमा सीमित हुन चाहिनन् । जागिरका लागि भौंतारिनुभन्दा घरमै सञ्चालित नर्सरीलाई व्यवस्थित बनाउने उनको सोच पलायो । कक्षा १२ अध्ययन सकेपछि नर्सरीबारे सीटीईभीटीबाट तालिम लिएको उनले बताइन् । दैनिक १० हजारभन्दा बढीको व्यापार गर्ने उनको यो काममा श्रीमान् र परिवारका अन्य सदस्यले उत्तिकै साथ दिएका छन् ।


रेनुकाजस्तै सिर्जनालाई पनि आफूले नर्सरीको प्रत्यक्ष निगरानी नगर्दासम्म चित्त बुझैन । उनी छोराछोरीलाई स्कुल पठाएपछि बिहान नर्सरी आउँछिन् । बिरुवाको काँटछाँट र पानी राख्ने गर्छिन् । यद्यपि, उनको नर्सरीमा १० जना कर्मचारी खटिएका हुन्छन् । तर, नर्सरीमा बिरुवा जोगाउन उनी बढी सचेत हुने बताइन् ।


सिर्जनालाई बिरुवाको भाषा हुन्छ भन्ने लाग्छ । त्यो भाषा उनले सुटुक्क महसुस गर्छिन रे †कुनै बिरुवा आवश्यकताभन्दा बढी मलजल पाए मर्छ भने कुनै पानी नै नपाएर पनि मर्छ । यस्तो अवस्थामा उनी फूलका प्रजातिको जीवनी अध्ययन गरेर उपचार गर्न सिपालु छन् । ‘पहेंला पात काटछाँट गर्नु पर्छ, नभए बिरुवा मुर्झाउँछन्,’ उनले भनिन् । पछिल्लो समयमा लोकल फूलको माग बजारमा कम भएकामा सिर्जना दु:खी छन् । ‘हाइब्रेट फूल ल्याउन विदेशीको मुख ताक्नुपर्छ,’ उनले भनिन्, ‘लोकल फूल जमाउँदा घाटा र नाफाको टुंगै हुँदैन ।’


तैपनि, नर्सरी व्यवसायबाट उनले दैनिक १० हजारको आम्दानी गर्ने बताइन् । रेनुका र सिर्जना नर्सरी सम्हाल्ने नर्स हुन् । उनीहरूको मिहिनेत देखेर नर्सरी व्यवसाय अपनाउने पनि उत्तिकै छन् । स्थानीय सरस्वती गौतमले रेनुकाको सफलता देखेर लोभिएको बताइन् । उनी रेनुकाको नर्सरीमा फूल किन्न ग्राहक हुन् ।


आफ्नो करेसाबारी र छतमा भएको खाली ठाउँमा नर्सरी जमाउने सोचमा रहेको उनले सुनाइन् । ‘छतमै नर्सरी बनाउन सकिंदो रहेछ,’ उनले भनिन्, ‘म पनि रेनुका दिदीले जस्तै छतबाटै यो व्यवसाय सुरु गर्छु ।’

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?