अलैंची छोडेर पुरानै खेती

आनन्द गौतम

ताप्लेजङु — फक्तालुङ लिंखिमका वीरबहादुर विकले २२ रोपनीमा लगाएको अलैंची बगान फाँडिदिए । खेतका लगाएको अलैंची यसै साता सबै निकालेपछि अब विगतमै जस्तो धान खेतीको तयारीमा जुटेका छन् । लहलहाउँदो बगान फाड्नुको मुख्य कारण अहिलेको बजार मूल्य नै हो ।

अलैंची छोडेर पुरानै खेती

लगातार मूल्य घटिरहँदा भविष्यमा बिहानबेलुका भात खाने धानको समस्या हुने भएपछि बगानै रित्याएको उनले सुनाए । अब वैशाखमा बीउ राखेर बाँझो जोत्ने र असारमा धान खेती गर्ने उनको तयारी छ ।


धेरै किसानको मनसाय पेसा बदल्ने कि भन्ने देखिएको छ । अलैंचीको मूल्य अत्यधिक घटेपछि किसान आत्तिएका हुन् । अहिले ताप्लेजुङका किसानले प्रतिकिलो ५ सय रुपैयाँ पाउने गरेका छन् । भारतीय व्यापारीले निर्धारण गरेको मूल्यमा नेपालको बजार चलिरहेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।


किसानले अलैंची लगाएर सुक्खा पाखा र खेर गइरहेको जंगललाई हरियाली बनाएका छन् । पाखापखेरा पछि लहलह धान फल्ने खेत, कोदो, मकै, गहुँ, जौजस्ता अन्नबाली उत्पादन हुने बारीसम्म मासेर अलैंची लगाए । पानी तर्काउनुपर्ने भएकाले धान फल्ने खेतका गह्राका आलीहरू सबै भत्काइएको छ ।


२०७३ सालमा अलैंची प्रतिमन (४० किलो) १ लाख २० हजार रुपैयाँ पुगेको थियो । तत्कालीन कृषि विकास कार्यालयका प्राविधिक सहायक प्रकाश काफ्लेका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २४ सय १० टन उत्पादन हुँदा ६ अर्ब रुपैयाँसम्म जिल्ला भित्रियो । ठूलो बगान हुने किसान र कारोबार गर्ने व्यापारीले ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि झापा, मोरङ, सुनसरीका मुख्य बजारहरू बिर्तामोड, दमक, उर्लाबारी, इटहरी, विराटनगर र काठमाडौंमा घरघडेरी जोडे । थोरै अलैंची लगाएका किसानले राम्रो बजार हुने रहेछ भनेर बगान विस्तार गरे ।


आर्थिक वर्ष ०७४/७५ मा देशका ४३ पहाडी जिल्लामा अलैंची खेती विस्तार भएको अलैंची व्यवसायी महासंघले जनाएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार अहिले नेपालको १३ हजार हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको छ । देशभरिबाट वार्षिक ५ हजार टन उत्पादन हुने गरेको छ । यहाँका किसान समूह बनाएर पश्चिम नेपालमा पनि पुगेर खेती गरे ।


ताप्लेजुङबाट बागलुङ गएर जग्गा भाडामा लिएर खेती गर्ने किसान प्रसस्तै रहेका छन् । अहिलेको मूल्यले अब बाहिर गएर खेती गर्न नसकिने लक्ष्मी काफ्ले बताउँछन् । काफ्लेको टोलीले बागलुङमा गएर खेती गरेको छ । मजदुर र सामानको मूल्य बढेकाले प्रतिकिलो १५ सय रुपैयाँ आम्दानी भए मात्रै खेती गर्न सकिने किसानको तर्क छ ।


अलैंचीलाई राम्रो बनाउन नियमित मलजल गर्नुपर्ने, सिँचाइ सुविधा पुर्‍याउनुपर्ने, गोडमेलमा ध्यान दिनु जरुरी छ । समुद्र सतहबाट ८ देखि १८ सय मिटरसम्मको उचाइमा राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म फलेको छ । वार्षिक २ हजारदेखि २५ सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा यो राम्रो फस्टाएको पाइन्छ । ८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायाँदार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।


अलैंचीको राम्रो फल खान तीन वर्ष पर्खनुपर्छ । पहिलो वर्ष सर्ने, दोस्रो वर्ष मजबुत भएर फूल लगाउने र तेस्रो वर्ष फल दिने हुन्छ । राम्रो मलजल हुने ठाउँमा भने दुई वर्षमा पनि फल लागेको पाइन्छ । एकैखालको अलैंची नेपाल, भारत र भुटानमा मात्रै उत्पादन हुन्छ ।


प्रकाशित : फाल्गुन ८, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?