३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजनीति भ्रष्टीकरण भयो : बाबुराम भट्टराई

हरि गौतम

रुकुम पश्चिम — नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राजनीतिमा भ्रष्टीकरण बढ्दै गएको बताएका छन् । नेताहरूले देशलाई आर्थिक विकास समृद्धिमा लिनुको साटो भ्रष्टिकरण र फोहरीकरण गरिरहेको भट्टराईको भनाई छ । 

राजनीति भ्रष्टीकरण भयो : बाबुराम भट्टराई

बुधवार बिहान नयाँ शक्ति पार्टीले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिदा देशको अवस्था सुध्रन नसकेको बताए । ‘यो बेला आर्थिक विकास र समृद्धिको एजेन्डा सहित अघि बढ्नुपर्ने बेला हो,’ डा.भट्टराईले भने, ‘तर राजनीतिमा भ्रष्टीकरण बढ्यो, विकास र समृद्धिलाई नचिन्दा जनताले दु:ख पाइरहेको अवस्था कायमै छ ।

उनले राजनीतिक परिवर्तन भए पनि विकासले गति लिन नसकेको बताए । अधिकांश सर्वसाधारण जनताको जीवन स्तर पुरानै भएकाले विकासलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई गति दिनुपर्ने भनाई उनको छ । ‘राजनीतिक परिवर्तनले मात्रै जनताको जीवन स्तर नफेरिने रहेछ भन्ने पुष्टि भइसक्यो, त्यसैले अब आर्थिक विकास तथा समृद्धिका लागि नेताहरूले राजनीतिक पार्टी भन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्छ,’ डा.भट्टराईले भने ।


पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले वर्तमान सरकारको एक वर्षे कार्यकाल निराशाजनक बितेको बताए । दुई तिहाइ बहुमतको सरकारबाट धेरै अपेक्षा गरिएपनि सरकारले खास काम गर्न नसकेको टिप्पणी डा.भट्टराईको छ ।


भ्रष्टाचारका धेरै प्रमाण बाहिर आइसक्दा पनि सरकार त्यसप्रति चुप रहनुले सरकारले केही गर्न खोजेको छैन भन्ने पुष्टि हुने उनले बताए । वाइडबडी प्रकरण, ३३ किलो सुन काण्ड, निर्मला हत्या प्रकरणमा सरकार चुकेको भन्दै उनले अरू विकास निर्माणका कुरामा सरकारले गति लिन नसकेको उनले आरोप लगाए । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना कमिसनकै कारण अन्योलमा पारिएको समेत उनले आरोप लगाए ।

प्रकाशित : फाल्गुन ८, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?