३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको गृहमन्त्रीको दाबी

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले भने, 'मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।' गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको दोहोर्‍याए ।

शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको गृहमन्त्रीको दाबी

उनले भने, “निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई समेत कारवाही गरिसकिएको छ ।”


गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताए । तस्करले फेरि पनि नयाँ बाटो प्रयोग गरेर छिटफुट सुनको तस्करी भइरहेको जानकारी आएको बताउँदै ती रुटलाई पनि ध्वस्त पार्न सरकार लागिपरेको स्पष्ट पारे । पूर्वराजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए ।


मुलुकमा जुनकुनै प्रकारको एकाधिकारको अन्त्य भइसकेको बताउँदै उनले भने, “नयाँ कानून निर्माण गरेर भएपनि सिण्डिकेटको अवस्था अन्त्य गरेरै छाड्छौँ ।” उनले सर्वसाधारणलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने गरी योजना निर्माण गरिरहेको उल्लेख गरे । गृहमन्त्रीले विभिन्न राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका व्यक्तिलाई शहीद घोषणाको प्रक्रिया अघि बढाइएको र केही समयअघि करीब तीन हजार सेना, प्रहरीलाई शहीद घोषणा गरिएको बताए ।


यसअघि राष्ट्रियसभा सदस्य कोमल वलीले आश्रममा आनीमाथि दुर्व्यवहार गर्ने रामबहादुर बम्जनमाथि तत्काल कारवाही गर्न माग गरिन् । अर्को सदस्य जीतेन्द्रनारायण देवले तराईमा हुने आगलागीको घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । छलफलमा अन्य सदस्यहरुले मुलुकमा भइरहेका हत्या, हिंसाका घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।



राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा सांसद वृषेशचन्द्र लालले जुनसुकै बहानामा मेलम्ची खानेपानी आयोजनाको निर्माणमा ढिलाइ हुन नहुने बताए । सांसद सरिता प्रसार्इंले काष्ठमण्डप पुनःनिर्माणमा दुई प्रकारको काठ प्रयोग गरिएको भन्दै नयाँ र पुरानो काठ प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : फाल्गुन ८, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?