कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा सयौं नेपाली अध्ययनरत कलेजको दर्ता खारेज, नर्सिङका विद्यार्थी बढी समस्यामा 

नारायण खड्का

अस्ट्रेलिया — सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको छ । कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरिदिएको हो ।

अस्ट्रेलियामा सयौं नेपाली अध्ययनरत कलेजको दर्ता खारेज, नर्सिङका विद्यार्थी बढी समस्यामा 

उक्त कलेजमा नेपाली विद्यार्थीहरु नर्सिङ, एकाउन्टिङ्ग, आइटी लगायतका विषय अध्ययनरत छन् । कलेजको दर्ता खारेजीसँगै नर्सिङ विषयका विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।


एआइबिटीमा डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न विभिन्न समयमा आएका सयौं नेपाली विद्यार्थीहरुले यहाँको नर्सिङ विषयको नियमन निकाय अष्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (आप्रा) र अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल (एनम्याक) मा उक्त कलेज दर्ता नभएको थाहा पाएपछि समस्या बाहिर आएको हो । नर्सिङ अध्ययन सकेका विद्यार्थीहरुको सर्टिफिकेटलाई दर्ता गर्ने र नर्सको रुपमा काम गर्न पाउने अधिकार दिने नियमन निकायहरुमा नै दर्ता नभएको खुलेपछि विद्यार्थीहरु सहयोग माग्दै अस्ट्रेलियास्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसा लगायतका स्थानमा पुगेका थिए ।


दूतावासले यहाँको शिक्षा विभागमा औपचारिक पत्र लेखेर विद्यार्थीहरुको समस्या समाधान गरिदिन आग्रह गरेको थियो । सिसाले समेत विद्यार्थीहरुको पक्षमा अस्ट्रेलियाको शिक्षा विभागहरुमा न्यायका लागि पहल गरेको थियो । अस्ट्रेलियाका लागि नेपाली निमित्त राजदूत दु्रपदा सापकोटाले विद्यार्थीहरुको समस्यामा परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल सरकारलाई जानकारी गराइसकेको बताइन् । उनले यहाँस्थित शिक्षा विभाग लगायतका उच्च निकायहरुसँग विद्यार्थीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको समेत जनान् । उनले आफू पीडित विद्यार्थीहरुको समेत सम्पर्कमा रहेको र उनीहरुलाई सहयोग पुर्‍याउन लागिरहेको दाबी गरिन् ।


अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसाका अध्यक्ष विजय सापकोटाले अहिले विद्यार्थीहरुको समस्या सुनवाईको प्रक्रिया सुरु भइसकेको बताए । उनले विद्यार्थीहरुको समस्याप्रति आफूहरु गम्भीर रहेको बताउँदै विद्यार्थीहरुलाई पूर्ण न्याय दिन लागिपरेको बताए । उनले विद्यार्थी तथा अभिभावकहरुलाई नआत्तिन सल्लाह दिँदै विद्यार्थीहरुको पक्षमा समस्या समाधान हुने दाबी गरे ।


यसैगरी एनआरएन अस्ट्रेलियाले विद्यार्थीहरुको शुल्क फिर्ता गरी न्याय दिनुपर्ने मागसहित दूतावासको ध्यानाकर्षण गराएको छ । समस्यामा परेका विद्यार्थीहरुले शैक्षिक परामर्शदाताले आफूहरुलाई यहाँ आउनुअघि पर्याप्त जानकारी नदिएको गुनासो गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनीहरुले आफ्नो हजारौं डलर खर्च भइसकेकाले दोधारमा परेको बताएका छन् । यसै क्षेत्रका जानकारहरु विद्यार्थीहरुको भविष्यमा असर नपार्ने दाबी गर्छन् । कलेज बन्द भएपनि ट्युसन प्रोटेक्सन स्किम (टिपिएस) अन्तर्गत विद्यार्थीको शुल्क फिर्ता हुनसक्ने जानकारहरु बताउँछन् ।


अस्ट्रेलियाको शैक्षिक नियमन निकायहरुले यसअघि पनि नियमानुसार सञ्चालन नगर्ने शैक्षिक संस्थाहरुलाई कारबाही गर्दै आएका छन् । दर्ता खारेज गरिदिएको नियमन निकाय आस्क्वाले उक्त कलेजलाई मार्चको अन्तिमसम्मको समय दिएको छ । सो समयभित्र एडमिनिष्ट्रेटिभ अपिल्स ट्राइबुनलमा (एएटी) मा कलेजले अपिल गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?