वडाध्यक्षबाटै कुटिइन् महिला

कान्तिपुर संवाददाता

रुकुमपूर्व — शौचालय बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षबाट एक महिला कुटिएकी छन् । पुथाउत्तरगंगा गाउँपालिका ११ का अध्यक्ष जयकुमार बुढाले स्थानीय ३९ वर्षीया जयपुरी बुढामगरलाई कुटेका हुन् । 

वडाध्यक्षबाटै कुटिइन् महिला

गाउँकै महिला भवनका लागि बनाइँदै गरेको शौचालयको खाडलको विषयलाई लिएर विवाद हुँदा वडाध्यक्ष बुढाले फागुन ५ गते जयपुरीलाई कुटेका थिए । वडाध्यक्षले हेल्मेटले हान्दा टाउकामा गहिरो चोट लागेको जयपुरीका भाइ लक्ष्मणले बताए । शौचालयको सेफ्टी टयांकीको खाडल खन्ने क्रममा पानी भेटिएपछि विवाद सुरु भएको थियो । सेफ्टी टयांकी खनिरहँदा पानी भेटिएपछि अब के गर्ने भनेर प्राविधिकसँग सल्लाह लिने क्रममा आफूलाई नसोधिएको भन्दै दिदीलाई कुटपिट गरेको लक्ष्मणले बताए ।


वडाध्यक्षको कुटाइपछि जयपुरीको स्थानीय मेडिकलमा उपचार गरिएको थियो । वडाध्यक्षमाथि कारबाही हुनुपर्ने मागसहित इलाका प्रहरी तकसेरामा छलफल गर्न खोज्दा वडाध्यक्षले नमानेपछि पीडित पक्षले जिल्ला प्रशासन, प्रहरी तथा महिला सन्जालमा निवेदन दिएका छन् । निवेदन दिएको २ दिनसम्म पनि छलफलका लागि प्रशासन तथा प्रहरी तयार नभएको लक्ष्मणले गुनासो गरे । ‘हामी आफंै पीडित भएका छौं,’ उनले भने, ‘तैपनि, न्यायका लागि छलफल नै हुँदैन ।’


वडाध्यक्ष जयकुमारले भने जयपुरीमाथि कुटपिट नगरेको बताए । छलफलका क्रममा आफूमाथि नै आक्रमण हुन थालेपछि आफू भाग्न खोज्दा महिला लडेर घाइते भएको उनको दाबी छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?