कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पराजुली र लोकमानलाई पनि कारबाही गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँगै पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि समेत कारबाही गर्न माग गरेका छन् । अख्तियारले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घूस लिएको सार्वजनिक भएपछि आफ्नै पूर्वआयुक्त पाठकमाथि सार्वजनिक पद दुरुपयोगमा कारबाही गर्न छानबिन अघि बढाएको छ ।

पराजुली र लोकमानलाई पनि कारबाही गर्न माग

केसीले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक पदको चरम दुरुपयोग गरेका पराजुली र लोकमानमाथि समेत कानुनअनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्न माग गरेका छन् ।


विज्ञप्तिमा चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले दुई वर्षअगाडि आफूले पराजुली र लोकमानलाई महाभियोग लगाउन माग गरेको उल्लेख गरेको छ । केसीले पाठकले घूस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली लामो समयसम्म मौन बस्नु गम्भीर आपत्तिजनक भएको टिप्पणी गरेका छन् । ‘एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने, अर्कापट्टि दण्डहीनताको विषयमा मौन बस्नुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदांग भएको छ,’ विज्ञप्तिमा छ ।


उनले गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको माग पूरा गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण प्रदर्शनमाथि अंकुश लगाउने गरी ल्याइएको शान्तिसुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक सच्याउन माग गरेका छन् । उनले सरकारसित १५ औं अनशनक्रममा भएको सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेका छन् । सरकार सहमतिविपरीत अघि बढे जुनसुकै समय सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।


प्रकाशित : फाल्गुन ८, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?