कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस कोइराला परिवारको बपौती होइन : देउवा

भूषण यादव

(वीरगन्ज) — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताएका छन् । वीरगन्ज नगर सभागृहमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताए ।

कांग्रेस कोइराला परिवारको बपौती होइन : देउवा

चार दिनअघि मात्र जीपी कोइराला फाउन्डेसन कार्यालय उद्घाटनका लागि वीरगन्ज आएका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै मञ्चबाट कोइराला परिवार एक भएको उद्घोष गरेका थिए । उनीहरूले कार्यक्रमबाट कोइराला परिवार एक ढिक्का भएको सन्देश दिए । कांग्रेस नेतृत्वले वर्तमान राजनीतिक अवस्थामा आफूलाई सशक्त प्रतिपक्षका रूपमा उभ्याउन नसकेको भन्दै देउवाको आलोचना गरेका थिए ।


‘थर कोइराला छ भन्दैमा कांग्रेस पार्टीको सभापति बन्न पाउनैपर्छ भनेर भन्न पाइन्छ,’ बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले भने, ‘कोइराला थर हुँदैमा सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो ।’ बीपी र गिरिजाप्रसाद कोइरालाको योगदान भए पनि उनका छोरा/भतिजाको पार्टीमा कुनै योगदान नरहेको दाबी देउवाको थियो । पार्टीमा केही योगदान नगर्नेहरू कार्यकर्ताबीच जथाभावी बोल्दै हिँडेकामा देउवाले आक्रोश पोखे । ‘मण्डलेहरूले मेरो टाउको फुटाउँदा, म जेल बस्दा शेखर कहाँ थिए ?’ उनले प्रश्न गरे, ‘कुनै योगदान नै नगर्ने अनि अहिले कोइराला थर भयो भन्दैमा पार्टी सभापति बन्नुपर्ने ।’ जथाभावी बोल्दै हिंड्नेलाई पार्टीले कारबाहीसमेत गर्ने उनले चेतावनी दिए ।


पर्साका अधिकांश नेताले अन्तरघातीकै कारण निर्वाचन हारेको गुनासो गरेका थिए । अनुशासन र अन्तरघातीकै कारण विगतको निर्वाचनमा कांग्रेस पराजित भएकाले त्यस्तालाई कारबाही गरी पार्टीलाई सुदृढ बनाउने देउवाले दाबी गरे । ‘अन्तरघाती र अनुशासनहीनलाई कारबाही नगरेसम्म पार्टी अब अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘अराजकलाई कारबाही गर्ने बेला आएको छ ।’


कांग्रेस जिल्ला सभापति अजय द्विवेदीको अध्यक्षतामा भएको भेलालाई प्रकाशशरण महत, गगन थापा, चन्द्र भण्डारी, रमेश रिजाल, सुरेन्द्र चौधरी, फरमुल्लाह मन्सुर, अजय चौरसिया, विनोद चौधरी, उमेश श्रेष्ठलगायत नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?