२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

छोरीलाई मासिक भत्ता

सरुमारानी गाउँपालिकाभित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिने
गिरुप्रसाद भण्डारी

प्यूठान — छोरी भए पनि छोरा जन्मने बाटो हेर्ने तर छोरा जन्मे बन्ध्याकरण गर्ने परिपाटीका कारण अझै सन्तानमा विभेद कायमै रहेको पाइन्छ । छोरा र छोरीबीच विद्यमान विभेद कम गर्न सरुमारानी गाउँपालिकाले छोरीलाई मासिक भत्ता दिने गरी कार्ययोजना तयार गरेको छ ।

गाउँपालिकाले ल्याएको बालिकामैत्री नीति तथा कार्यक्रमले धेरै छोरी जन्माएका आमालाई समेत राहत मिलेको सरुमारानीका सामाजिक अगुवाले बताए । गाउँपालिकाले ल्याएको ‘छोरीलाई मासिक भत्ता कार्यक्रम’ निकै लोकप्रिय भएको बांगेसाल स्वास्थ्य चौकी इन्चार्ज विमला ज्ञवालीले बताइन् ।


‘छोरा नभएका आमा छोरी जन्मे घर फर्कंदा मन खिन्न बनाउँथे,’ उनले भनिन्, ‘कार्यक्रमपछि अवश्य पनि अवस्था फेरिनेछ । छोरी जन्मिँदा आमाहरू खुसी देखिनेछन् ।’ उनले गाउँपालिकाले ल्याएको कार्यक्रमले महिलालाई सम्मान मिलेको बताइन् ।


गाउ“पालिकाले छोरीलाई भत्ता दिने कार्यविधिसमेत बनाइसकेको छ । गाउँपालिकाभित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने र त्यही खातामा भत्ता जम्मा हुनेछ ।


आव ०७५।७६ को साउनदेखि जन्मने छोरीका लागि पेवा बचत कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । अहिले पनि समाजमा छोरी जन्म“दा नाक खुम्च्याउने र छोरा हुँदा भोज खुवाउने चलन रहेकाले त्यसको अन्त्य गर्न र छोरीको सम्मानका लागि यस्तो कार्यक्रम अघि सारिएको उनले बताए । ‘त्यसले छोरीमाथि हुने विभेदलाई अन्त्य गर्नेछ,’ उनले भने, ‘आर्थिक र सामाजिक रूपले पनि सक्षम गराउने विश्वास छ ।’


समाजमा छोरीप्रतिको दृष्टिकोण राम्रो नभएकै कारण कार्यविधि बनाएर कार्यक्रम लागू गरिएको उनले बताए । उक्त रकम छोरीको शिक्षा, स्वास्थ्यलगायतमा मात्र खर्च गर्न मिल्नेछ ।


कार्यक्रमले छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा–छोरीमा हुने विभेद हटाउने र समाजमा छोरीप्रतिको सकारात्मक धारणा विकास गर्ने गाउ“पालिकाको अपेक्षा छ । चालु वर्षमा यो कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यसै आवदेखि जन्मिएका छोरीका लागि मासिक एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था छ । ‘यो कार्यक्रम नया“ सोचसाथ सुरु गरेका हाैं,’ विश्वकर्माले भने, ‘आगामी वर्षमा रकम बढाइनेछ ।’


ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बडडाँडा र साना किसान कृषि सहकारी संस्था बांगेसाल गरी दुई सहकारीमा छोरीका लागि बचत गर्ने व्यवस्था मिलाइएको छ ।

छोरी पेवा बचत कार्यक्रम सञ्चालनका लागि कार्यविधिले २० वर्षे अवधारणासमेत अघि सारेको गाउ“पालिकाका कानुनी सल्लाहकार यादव खनालले बताए । ‘बालिका १० वर्षको हुँदासम्म गाउँपालिकाले नै बचत खातामा रकम जम्मा गरिदिन्छ,’ उनले भने, ‘बाँकी १० वर्षसम्म अभिभावक स्वयंले रकम जम्मा गर्नेछन् ।’


कार्यक्रमलाई लक्षित गरी गाउँपालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको छ । हालसम्म गाउँपालिकाभित्र जन्मिएका ३५ छोरीका नाममा गाउँपालिकाले सहकारीमा खाता खोलिसकेको छ । छोरीहरूको सम्मान, संरक्षण, सम्पत्तिमाथिको अधिकारका लागि जन्मिनेबित्तिकै खाता खोलिदिने गरिएको छ ।


अहिले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरूमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने गाउ“पालिकाको विश्वास छ ।


आर्थिक रूपमा सबल भए छोरीको शिक्षामा सहयोग पुग्ने र महिला हिंसामा समेत कमी गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष पार्वता आचार्यले बताइन् । ‘छोरा नै चाहिन्छ भन्नेका लागि कार्यक्रमले राम्रो सन्देश दिएको छ,’ उनले भनिन्, ‘यो छोरीलाई पनि राज्यले सम्मान गर्छ भन्ने उदाहरण हो ।’

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?