कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लाइसेन्स नभएकाबाट बढी दुर्घटना

सवारी चलाउने अधिकांश  किशोरावस्थाका र अनुमतिपत्र नभएका छन्
प्रकाश बराल

बागलुङ — दुर्घटनामा चारको मृत्यु र दर्जनभन्दा बढी यात्रु घाइते भएको घटनापछि मात्रै उक्त जिपका चालकको अनुमतिपत्र (लाइसेन्स) नभएको खुलासा भयो । गत मंगलबार बेलुकी जैमिनी–८ को छिस्तीमा ध१ज ७९१ नम्बरको जिप दुर्घटना भएको थियो । 

उक्त जिपका चालक प्रवीन पुन १७ वर्षका मात्रै थिए । गाडी चलाउन सिके पनि उनीस“ग सवारीचालक अनुमतिपत्र छैन । जनकल्याण माविको ४४ औं वार्षिकोत्सव सकेर घर फर्कन लागेका विद्यार्थी र शिक्षक बोकेको जिप सडकदेखि १ हजार मिटर तल नेपानेको भीरमा खसेको थियो । घटनामा चालक पुनकै बैनी ज्योतिको पनि मृत्यु भयो ।


बागलुङका जिप चालकहरूबीच पुन नौला मानिँदैनन् । उनी दिनहुँ यात्रु लिएर सदरमुकाम आउजाउ गर्थे । घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक बयानका आधारमा कच्ची बाटो र उकालोमा क्षमताले नधानेपछि जिप खसेको प्रहरीले पत्ता लगाएको छ ।


‘गाडीमा २५ यात्री थिए, उकालोमा नचढेपछि पछाडि गुडेर खसेको देखिन्छ,’ प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘लाइसेन्स नभएकै व्यक्तिले दैनिक यात्री बोकेर आउजाउ गरेको भेटियो ।’ सामान्य घाइतेले गाउँमै उपचार गरेका छन् । उनीहरूको तथ्यांकसमेत खोजिएको छैन ।


पिकअपको पछाडिको सिट हटाएपछि चालकहरूले सामान राखेझैं मानिस कोचेर लैजाने गरेको रेग्मीले टिप्पणी गरे । स्थानीय भने सिटै नभए पनि यात्रा गर्नु बाध्यता भएको गुनासो गर्छन् । ‘दैनिक ४–५ वटा जिप गाउँ जान्छन्, यात्रा गर्ने सयभन्दा बढी हुन्छन्,’ स्थानीय कमला पुनले भनिन्, ‘जसरी पनि जानैपर्छ ।’ गाउँमा खनिएका सडक ग्रेड नमिलेको, घुम्ती र सिकारु चालकले दुर्घटनाको खतरा भएको उनले बताइन् ।


सदरमुकामदेखि जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बलेवा क्षेत्रमा जाने अधिकांश पिकअप जिप दैनिक ५ सय रुपैयाँ जरिवाना तिरेर गाउँ जान्छन् । पिकअप र जिप गरी दैनिक ५० भन्दा बढी सवारी दक्षिण बागलुङका गाउँ जाने अधिकांश सवारीसाधन रातो प्लेटका छन् । उनीहरूले सार्वजनिक यातायातले झैं मानिस बोक्ने काम गरिरहेका छन् ।


एक दिन ५ सयको चिट काटेपछि चौबीस घण्टालाई बिनालाइसेन्स सवारी चलाउन छुटसमेत छ । प्रहरी र ट्राफिकले चिट काटेको सवारीले क्षमताभन्दा धेरै यात्री बोकेको, रातो प्लेटले यात्री ओसारेको मूकदर्शक बनेर हेर्ने गरेका छन् । त्योभन्दा बढी अधिकांश सवारी चलाउने किशोर अवस्थाका छन् । अधिकांश उमेर नपुगेकै कारण लाइसेन्स बनाउन नपाएकाहरू छन् । उमेर पुगेकाहरूको पनि लाइसेन्स छैन ।


विद्यालयमा शोक

मंगलबार ४४ औं वार्षिकोत्सव मनाएको जैमिनी ८ को जनकल्याण मावि बुधबारदेखि शोकमा परेको छ । वार्षिकोत्सव सकेर फर्केका विद्यार्थी र शिक्षक दुर्घटनामा परेपछि बुधबारदेखि विद्यालय बन्द भएको हो ।


‘हाम्रा १२ विद्यार्थी र १ शिक्षक घाइते छन्, ३ विद्यार्थी र १ शिक्षकको मृत्यु भयो,’ शिक्षक रेशम पौडेलले भने, ‘घाइतेहरूको उपचारमा लाग्नुपरेकाले विद्यालय जाने कुरै भएन ।’ अघोषित रूपमा बन्द विद्यालय कहिले खुल्छ उनले बताउन सकेनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूरबहादुर पुनकै जिप दुर्घटनामा परेको हो । घटनामा उनकै छोरा चालक र मृतक ज्योति उनकै छोरी हुन् ।


घटनामा विद्यार्थीहरू प्रियंका पुन, ज्योति पुन र एलिन पुनको मृत्यु भएको थियो । सोही घटनामा शिक्षक टीका भनिने तुलसी पुनको पनि मृत्यु भएको छ । सबै मृतकको धौलागिरी अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ ।


मंगलबार राति १२ बजे ल्याइएका बिरामीलाई मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलको नेतृत्वमा प्राथमिक उपचारपछि पोखरा रिफर गरिएको थियो । उद्धार र उपचारका लागि सेनाको २३ नं. वाहिनीका चिकित्सक टोलीसमेत आएको थियो ।


दुई दिनका लागि वडा बन्द

मंगलबारको घटनाका कारण जैमिनी नगरपालिका वडा नं. ८ कार्यालय, सबै सरकारी तथा शिक्षण संस्था बुधबारका लागि बन्द गरिएको छ ।


वडाध्यक्ष विजय अधिकारीका अनुसार वडाभित्रै ठूलो दुर्घटना भएको र उद्धार तथा राहतका लागि जुट्नुपरेकाले सेवा बन्द गर्नुपरेको बताए । घाइतेहरू स्थानीय स्वास्थ्य संस्था, बागलुङ र पोखरामा भएकाले गाउँलेहरूले टोली बाँडेर उपचारमा सहयोग गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?