कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

१०२ वर्षीया आमै

आफ्नो खास उमेर १२२ वर्ष भएको र कर्मचारीले ‘यति धेरै कोही बाँच्छ’ भन्दै घटाइदिएको जोनैयाको गुनासो
ठाकुरसिंह थारू

नेपालगन्ज — उमेरले जोनैया थरूनी १ सय २ वर्ष पुगिन् तर शारीरिक र मानसिक स्फूर्ति तन्नेरीजस्तै छ । एकाबिहानै उठ्छिन् । भाँडाकुँडा सफा गर्छिन् । बस्तुभाउको गोबर फाल्न दैनिक टाउकोमा झउवा बोक्छिन् । पानी भर्न धारा आफैं पेल्छिन् । घर–आ“गन सफासुग्घर पार्ने जिम्मा पनि उनकै हो । थारू भाषामा चन्द्रमालाई जोनैया भनिन्छ ।

१०२ वर्षीया आमै

बर्दिया बढैयाताल गाउँपालिका–५, बढैया गाउँमा १९७३ चैत ३० मा जन्मिएकी आमैको दिनचर्या देख्दा जोकोही आश्चर्यमा पर्छन् । उनले जन्माएका सन्तानलाई बोलाउने नाता पनि सकिएको छ ।


नाति, पनातिका पनि छोराछोरी जन्मिइसके । उनको पाँचौं पुस्ता चल्दै छ । ‘अब जन्मिने पुस्तालाई बजैले के भनेर बोलाउने हुन् समस्या छ । नाति, पनाति, खनाति त भइसके,’ ४४ वर्षीय नाति राधेश्याम चौधरीले भने, ‘पनातिपछिको पुस्तालाई के नाताले बोलाउने भनेर कुरा गरिरहन्छिन् ।’


जोनैयाका ५ छोरा र २ छोरी छन् । जेठा ठगै र माइला झुठारी ७० वर्ष कटिसके । उनीहरू ज्येष्ठ नागरिक भत्ता बुझ्छन् । जोनैयाका ११ जना नाति छन् भने ८ पनाति । २ जना खनाति पनि जन्मिसकेको उनले बताइन् ।


‘काम गर्ने बानी छ । खाली बस्न मन लाग्दैन । त्यसैले घरको काम गरिरहन्छु,’ उनले भनिन्, ‘काम गर्दा अझ जा“गर चल्छ । बसिरहने हो भने अल्छी भइन्छ ।’ सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लामो समयदेखि आफूले बुझिरहेको उनले बताइन् । पनाति प्रशान्त २४ वर्षका भए । उनका पनि छोराछोरी छन् ।


उनलाई नातिहरू जिस्क्याउँछन्, ‘खनातिका छोराछोरीलाई के भनेर सम्बोधन गर्नुहुन्छ ?’ उनी ठट्यौली गर्छिन्, ‘झनाति भनौंला नि !’


उमेरसँगै आफूहरूको काम गर्ने जोस–जाँगर मर्न थालेको तर आमामा भने फूूर्ति यथावत् रहेको जेठा ठगैले बताए । ‘आमाको जोस देखेर चित खान्छाैं,’ उनले भने, ‘उहाँलाई काम नगर्नुस् भन्दा मान्नुहुन्न । घरको काम सकेसम्म आफैं भ्याउन खोज्नुहुन्छ ।’


नागरिकतामा १०२ वर्ष लेखिए पनि आफ्नो उमेर त्यसभन्दा बढी भएको जोनैयाको दाबी छ । पुरानो नागरिकता सडेपछि उनले बर्दिया जिल्ला प्रशासनबाट प्रतिलिपि निकालेकी हुन् । आफू १२२ वर्ष भए पनि प्रतिलिपि लिन जा“दा यति धेरै उमेर कहा“ हुन्छ भनेर कर्मचारीले घटाइदिएको उनले सुनाइन् ।


'मेरो खास उमेर १२२ वर्ष भयो । ‘यति धेरै कोही बाँच्छ’ भन्दै उनीहरूले घटाइदिए,' जोनैयाको गुनासो छ, ‘मेरो उमेर बढी हुँदा उनीहरूको टाउको किन दुख्यो कुन्नि ?’ ‘श्रीमान् बितिसके । तर, छोराछोरीको मायाले आफूलाई बाँच्ने सहारा दिएको उनले बताइन् । नाति, पनाति, खनाति पाएर उनी दंग छिन् । उनी आफू बाँचुन्जेलसम्म काम गरेर खाने बताउँछिन् । ‘होइन हातगोडा चलेसम्म अरूको भरमा किन बाँच्ने ?’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?