१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एक करोड मूल्य बराबरको चरेस र गाँजासहित २ व्यापारी पक्राउ

प्रताप विष्ट

हेंटौडा — एक करोड बढी मूल्य बराबरको चरेस र गाँजाको धुलोसहित २ जना व्यापारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय हेंटौडाले बिहीबार सार्वजनिक गरेको छ । 

एक करोड मूल्य बराबरको चरेस र गाँजासहित २ व्यापारी पक्राउ

मकवानपुरको अत्यन्त दुर्गम क्षेत्र कैलाश गाउपालिका—१ डाँडाखर्कका ४३ वर्षीय मेवा भन्ने चन्द्रवहादुर घलानको घरबाट २ सय ७३ केजी चरेस र गोठबाट १ सय ९० केजी चरेस वनाउन तयार पारिएको गाँजाको धुलो प्रहरीले बुधबार वरामद गरेको हो । घरधनी घलान र अर्का चरेस व्यापारी धादिङ गजुरी गाउँपालिका—८ किरान्चोकका ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङलाई चरेससहित पक्राउ गरेको हो । तामाङ चरेस विक्री गर्न चन्द्रबहादुरकै घरमा बसेका थिए ।

‘घलान र तामाङ दुवै गाँजा व्यापारी हुन्,’ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले पत्रकार सम्मेलनमा भने, ‘पक्राउ परेका दुवै पुराना लागु औषधका व्यापारी हुन् ।’ प्रहरी व्यापारी बनेर चरेससहित उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।


पक्राउ परेकाले प्रहरीमा दिएको बयान अनुसार चरेस प्रतिकेजी ३० हजार रुपैयाँ र चरेस बनाउने गाँजाको धुलो प्रतिकेजी २० हजार रुपैयाँमा भारतीय व्यापारीलाई विक्री गर्ने गरेको बताएका छन् ।

पक्राउ परेका घलान र तामाङले धादिङबाट चरेस र गाँजाको धुलो खरिद गरेर ल्याएको बताएका छन । प्लाष्टिकले प्याक गरेको २६७ वटा पोकामा चरेस लुकाएर राखिएको थियो भने ५ वटा बोरामा गाँजाको धुलो लुकाएर राखिएको थियो प्रहरी निरिक्षक पवनकुमार झाले बताए ।


झाको नेतृत्वमा प्रहरी टोली डाँडाखर्क पुगेर चरेस, चरेस बनाउने गाँजाको धुलसहित २ जना पक्राउ गरेको हो । विगतमा प्रहरीले विक्री गर्न ल्याएको गाँजा र चरेसहरु खानतलासी गरेर बरामद गर्ने गर्थ्यो ।


अहिले दुर्गम गाउँका घर–घरमा पुगेर चरेस र गाँजा बरामद गर्नुको साथै घरधनी र व्यापारीलाई पक्राउ गर्न थालेको छ । चालु आवमा एक हजार ३५ केजी गाँजा र ३ सय ५ केजी चरेससहित १ सय ३ पक्राउ गरेको छ ।


प्रकाशित : फाल्गुन ९, २०७५ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?