१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्तिम प्रतिवेदन बुझाउन एकता कार्यदलले माग्यो थप एक हप्ताको समय

समय थप्ने बारे भोली छलफल हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको बिहीबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकमा एकता कार्यदलले थप अन्तिम प्रतिवेदन बुझाउन थप एक हप्ताको सयम माग गरेपछि सांगठनिक एकिकरणका विषयमा कुनै निर्णय भएन ।

अन्तिम प्रतिवेदन बुझाउन एकता कार्यदलले माग्यो थप एक हप्ताको समय

एकता कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव बुझाउन ढिलाई गरेकै कारण एकतासम्बन्धी विषयमा विवाद यथावत रहेको छ । बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गर्दै हालसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाएका थिए । पूर्ण प्रतिवेदन तयार पार्न थप एक साता लाग्ने जानकारी उनले दिएका थिए ।


बैठकमा कार्यदलका अन्य सदस्यले पनि बाँकी काम सम्पन्न गर्न केही समय थप्न सचिवालयसँग माग गरेका थिए । कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि आफूहरुले एक हप्ताको समय माग गरेको बताए ।


पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले कार्यदलको म्याद थप गर्ने/नगर्ने भन्ने विषयमा निर्णय नभएकोले शुक्रबार पुन: बैठक बस्ने जानकारी दिए।


गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।


गृहमन्त्री थापा संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन्।

प्रकाशित : फाल्गुन ९, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?