कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाँदर नियन्त्रण गर्न बाँसको खोर

एलिसा श्रेष्ठ

भोजपुर — बाँदरले दुःख दिन थालेपछि भोजपुरका किसानहरूले नयाँ उपाय निकालेका छन् । बाली खाएर किसानहरूलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि बाँसको खोर बनाउन थालेका छन् । बाँसको भाटा र चोयाको प्रयोग गरी बाँदर थुन्न पासो बनाइएको छ । स्थानीय सामग्रीको प्रयोग गरेर बनाइने यो प्रविधि कम खर्चिलो हुनाले प्रभावकारी भएको स्थानीयले बताएका छन् ।

बाँदर नियन्त्रण गर्न बाँसको खोर

पासोमा वरिपरिबाट भाटाको बारा लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ । माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिने र मकै तथा अन्य खानेकुराहरू खोरभित्र राखेपछि खानको लागि खोरमा पसेको बाँदर बाहिर निस्कन सक्दैन ।


टेम्केमैयुङ-६ का वडा अध्यक्ष सूर्यप्रसाद नेपालले वार्ड भरी पासो बनाउने काम भइरहेको जानकारी दिए । उनले भने,' कृषकको प्रत्यक्ष समस्यासँग गाँसिएको विषय समाधान गर्न स्थानीय सरकारको जिम्मेवारी हो । बसाइ सरेर गाउँ नै रित्तिने सम्भावना बढ्न थालेपछि हामीले गाउँलेलाई नै परिचालन गरेर बाँदर नियन्त्रणको अभियान थालेका हौँ ।'


गाउँपालिकाका प्रमुख ध्रुवराज राईले बाँदरलाई पासोमा पार्न यो विधि प्रभावकारी देखिएकाले यसलाई अन्य वडामा पनि विस्तार गर्ने बताए । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।


धनकुटा, खोटाङ लगायतको जिल्लामा भारतबाट बाँदर समात्ने मान्छे ल्याएर स्थानीय तहले नियन्त्रणको कामहरू गरिरहेका छन् । भोजपुरमा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएको यो पासोलाई व्यापक गर्न सके बाँदरबाट आजित बनेका कृषकहरूको पलायनलाई रोक्न सकिने गाउँपालिकाका प्रमुख राईले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?