२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दिनहुँ कोर्रा

साउदी जेलमा रहेका नेपालीमध्ये झन्डै ८० प्रतिशत मदिरा उत्पादन, सेवन र यौनसम्बन्धका मुद्दामा थुनिएका छन् ।
होम कार्की

काठमाडौँ — साउदी अरबको जुवेलमा कार्यरत देव खत्रीले लुकिछिपी मदिरा उत्पादन गर्दै आएका थिए । उनी धार्मिक प्रहरीको फन्दामा परे । स्थानीय अदालतले उनलाई तीन वर्ष कैदसहित ३ सय ५० कोर्रा हान्ने सजाय सुनायो । खत्रीलाई एकै पटक पुरै कोर्रा हानिएन ।

कुनै दिन १० त कुनै दिन ५ कोर्राका दरले जेल बसुन्जेल पिटियो । साउदी जेलमा कोर्रा खाने नेपालीको सूची लामै छ । दीपलिस रेलाई १ सय ५० कोर्रा सुनाइयो । टीकाराम राना मगरलाई एक वर्ष कैदसहित १ सय ५० कोर्रा सुनाइयो । रियादस्थित नेपाली दूतावासका अनुसार साउदी जेलमा रहेका नेपालीमध्ये झन्डै ८० प्रतिशत मदिरा उत्पादन, सेवन र यौनसम्बन्धका मुद्दामा थुनिएका छन् ।


साउदीमा मदिरा उत्पादन र बिक्रीमा जति धेरै जोखिम छ, मूल्य त्यति नै महँगो छ । लुकिछिपी ल्याइएका मदिरा निकै महँगो भएकाले न्यून आम्दानी भएकाहरूले कोठामै उत्पादित मदिरा प्रयोग गर्छन् ।


'नेपालीलाई जाँडरक्सी बनाउने तरिका कसलाई थाहा छैन र,' ८ वर्षदेखि साउदीमा कार्यरत गोरखाका रमेश फुयाँलले भने, 'उहाँ ड्रमका ड्रम जाँडरक्सी बनाउनेहरू भेटिन्छन् । जसले सेवन गर्छन्, उनीहरूले सजिलै पाउँछन् ।'


पेप्सीका बोतलमा हालेर बिक्रीवितरण हुने गरेको फुयाँलले बताए । 'पिउँदा त जेल जानुपर्ने यो मुलुकमा बनाउनेलाई झन् के होला ?' उनले भने, 'धेरै एकै पटक कमाउने लोभमा जेल जाने जोखिम मोल्न तयार भएका छन् ।' धार्मिक प्रहरीको फन्दामा परेपछि साउदीबाट डिपोर्टसमेत हुने गरेको छ ।


दूतावासका अनुसार जेलमा रहेका अधिकांश नेपाली मदिरासँग जोडिएका छन् । 'जुन जुन जेल भ्रमण गर्न कर्मचारीलाई पठाइन्छ, त्यहाँ मदिराको मुद्दा लागेका नेपालीको बाहुल्य भेटिन्छ,' साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने । दूतावासले साउदीमा गर्न हुने र नहुने क्रियाकलापबारे क्याम्प-क्याम्प पुगेर चेतना जगाइरहेको छ । 'थाहा पाएर नै कानुन विपरीत काम गरिराख्दा दुःख लाग्छ,' उनले भने ।


साउदीको अलहायेर जेलमा २५, दमाम जेलमा २२, अलहासामा ४, अलखोवरमा चार, अलजुवैयरमा ८, हैलमा एक, अल हैयरमा ६ जना नेपाली थिए । 'उनीहरूलाई दूतावासको प्रयासमा आममाफी दिलाइएको छ,' उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?