कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । 
कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । 

९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

ताप्लेजुङको याङवरक गाउँपालिकाको नाम पाथीभरा याङवरक राखिएको छ भने मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा गाउँबाट थलङमा सारिएको छ । पाँचथरको मिक्वाखोला गाउँपालिकाको केन्द्र मेमेङबाट वडा ३ को थोक्लिम्बामा, इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र माईपोखरीबाट वडा ३ को माबुमोड देउरालीमा, इलामकै रोङ गाउँपालिकाको केन्द्र कोल्बुङबाट पहरीगाउँमा तथा झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र जलथलबाट धनुषपोखरीमा कायम गरिएको छ । सुनसरीको भोक्राहा गाउँपालिकाको नाम परिवर्तन गरी भोक्राहा नरसिंह राखिएको छ भने केन्द्र चिरौली चोकमा सारिएको छ ।

सुनसरीकै हरिनगरा गाउँपालिकाको नाम हरिनगर र बराह नगरपालिकाको नाम बराहक्षेत्र तथा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको नाम सहिदभूमि बनाइएको छ । धनकुटाकै छथर गाउँपालिकाको केन्द्र तांखुवाबाट जोरपाटीमा सारिएको छ । भोजपुरको टयाम्केमैयुम गाउँपालिकाको नाम टेम्केमैयुङ बनाइएको छ । सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको नाम थुलुङ दूधकोसी राखिएको छ भने दूधकोसी गाउँपालिकाको नाम माप्य दूधकोसी र केन्द्र बासाबाट माझगाउँखोलामा कायम गरिएको छ ।


खोटाङको लामिडाँडा गाउँपालिकाको नाम रावा बेसी र केन्द्र खार्पाबाट कुभिन्डेको हरमटार, साकेला गाउँपालिकाको केन्द्र मात्तिमबाट मानेभन्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचउरबाट बाघखोर भन्ज्याङ, रूपाकोट मझुवागढीको नाम दिक्तेल रूपाकोट मझुवागढी तथा दिप्रुङ गाउँपालिकाको नाम दिप्रुङ चुइचुम्मा कायम गरिएको छ । उदयपुरको सुनकोसी गाउँपालिकाको नाम परिवर्तन गरी लिम्चुङबुङ बनाइएको छ ।


त्यसैगरी सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र सीतापुरबाट सीतापुर कोलोनीको सडक कार्यालय भवन, बेल्ही चपेना गाउँपालिकाको नाम राजगढ र केन्द्र बेल्ही चपेनाबाट नर्घो कायम गरिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकाको नाम जनकपुरधाम बनाइएको छ । पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुडलीबाट हरिहरपुर बिर्ता, विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा र ठोरी गाउँपालिकाको केन्द्र सुवर्णपुरबाट घ्याङडाँडामा सारिएको छ ।


त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केन्द्र महेन्द्रझयाडीबाट झनझने कायम गरिएको छ । रामेछापको लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी राखिएको छ भने केन्द्र बिजुलीकोटबाट वडा ३ र ५ को बीचमा सारिएको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र काभ्रेबाट पाँडुडाँडा, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र किउलबाट बाहुन ढोडेनी, काभ्रेको चौरीदेउराली गाउँपालिकाको केन्द्र कात्तिके देउरालीबाट ढाँडखर्क भन्ज्याङ तथा काभ्रेकै महाभारत गाउँपालिकाको केन्द्र बनखुचौरबाट देवीटार कायम गरिएको छ ।


रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम आमाछोदिङमो र केन्द्र गोल्जुङ, नुवाकोटको मेघाङ गाउँपालिकाको नाम म्यगङ र केन्द्र देउरालीबाट मानेेब्ले तथा नुवाकोटकै पञ्चकन्या गाउँपालिकाको मठभञ्ज्याङबाट लाकुरीभन्ज्याङ केन्द्र कायम गरिएको छ । तर, पञ्चकन्या गाउँपालिकाको कार्यालय भने अस्थायी रुपमा घलेभञ्ज्याङमा राखिएको छ । धादिङको नेत्रावती गाउँपालिकाको नाम नेत्रावती डबजोङ र केन्द्र तिखाढुंगाबाट सेमजोङ तथा थाक्रे गाउँपालिकाको केन्द्र थाक्रेबाट महादेवबेंसी बनाइएको छ । मकवानपुरको वाग्मती गाउँपालिकाको केन्द्र फापरबारीबाट झुरझरे, बकैया गाउँपालिकाको केन्द्र छतिवनबाट हात्तीसुँढे, मनहरी गाउँपालिकाको केन्द्र मनहरीकै रजैया, राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर, चितवनको इच्छाकामना गाउँपालिकाको केन्द्र चण्डीभन्ज्याङबाट कुरिनटार सारिएको छ ।


गोरखाको सुलिकोट गाउँपालिकाको नाम बारपाक सुलिकोट बनाइएको छ । गोरखाकै भीमसेन गाउँपालिकाको नाम भीमसेन थापा र केन्द्र बगुवाबाट घ्याम्पेसाल तथा धार्चे गाउँपालिकाको केन्द्र गुम्दाबाट माछीखोला कायम गरिएको छ । लमजुङको दूधपोखरी गाउँपालिकाको केन्द्र गौंडाबाट लेवरचोक, तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछाप, स्याङ्जाको गल्याङ नगरपालिकाको केन्द्र जगत्तदेवी गुठीबाट गल्याङ बजार, कास्कीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र लुम्लेबाट माछापोखरी लगिएको छ । कास्कीकै पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा बनाइएको छ ।


मनाङको नासोङ गाउँपालिकाको नाम नासों, नेस्याङ गाउँपालिकाको नाम मनाङ डिस्याङ र केन्द्र साबिक मनाङ गाविस भवनबाट हुम्डे, नारफु गाउँपालिकाको नाम नार्पा भूमि र केन्द्र साबिक नार गाविस भवनबाट च्याँखु कायम गरिएको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको नाम बारागुङ मुक्तिक्षेत्र र दालोमे गाउँपालिकाको नाम लोघेकर दामोदरकुण्ड बनाइएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँट, धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट सातमुले घट्टेखोला, अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट पोखरेबगर, पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँटबाट लामाखेत, मोदी गाउँपालिकाको केन्द्र देउपुरबाट पातीचौर बजार, नवलपरासी -सुस्तापूर्व) को बुङदीकाली गाउँपालिकाको केन्द्र डेढगाउँबाट बबकमा सारिएको छ ।


त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र पल्लीकोटबाट हर्दिनेटाको चोएगा, धुर्कोट गाउँपालिकाको केन्द्र जैसीथोकबाट बर्बोट, रूपन्देहीको कञ्चन गाउँपालिकाको केन्द्र गजेडीबाट व्यहोरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको केन्द्र बुडढीबाट हनुमानचोक र अर्घाखाँचीको पाणिनी गाउँपालिकाको केन्द्र खिदिमबाट दुर्गाफाँट कायम गरिएको छ । रोल्पाको दुईखोली गाउँपालिकाको नाम परिवर्तन र केन्द्र राङकोटबाट पुत्लाचौर बनाइएको छ । रोल्पाकै सुवर्णावती गाउँपालिकाको नाम सुनिल स्मृति र केन्द्र सुवर्णावती तथा सुकिदह गाउँपालिकाको नाम गंगादेव र केन्द्र जिनाबाङबाट सानाडाँडा कायम गरिएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र मोराबाङबाट खाबाङ बगर तथा पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र कोलबाट तकसेरा पुर्‍याइएको छ । दाङको बबई गाउँपालिकाको केन्द्र हंसपुरबाट हापुरे, बाँकेको बैजनाथ गाउँपालिकाको केन्द्र वनकटवाबाट रामपुर, राप्ती सोनारी गाउँपालिकाको केन्द्र कचनापुरबाट अगैया सारिएको छ ।


रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरुबाट सिम्रुतु खारानेटा, सल्यानको कुमाखमालिका गाउँपालिकाको नाम कुमाख तथा केन्द्र मर्मपारिकाँडाबाट रागेचौर र त्रिवेणीको बीचमा कायम गरिएको छ । सल्यानकै ढोरचौर गाउँपालिकाको नाम सिद्ध कुमाख र केन्द्र सिद्धेश्वरीबाट ढोरचौर तथा दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौरमा राखिएको छ ।

दैलेखको महावु गाउँपालिकाको केन्द्र रानीवन, जाजरकोटको कुशे गाउँपालिकाको केन्द्र बाटुल्लेबाट थर्पु भार्मा, बारेकोट गाउँपालिकाको केन्द्र नायकबाडाबाट लिम्सा तथा त्रिवेणी नलगाड नगरपालिकाको नाम नलगाड र केन्द्र खगेनकोट मन्मैबाट दल्ली कायम गरिएको छ । डोल्पाको मुडकेचुला गाउँपालिकाको केन्द्र नर्कुबाट इलननिलदह र ठूलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारिएको छ । कालिकोटको कालिका गाउँपालिकाको नाम शुभकालिका र केन्द्र सुकाटियाबाट कालिखोला सुकाटिया डाँडा कायम गरिएको छ । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र मुचुबाट याल्वाङमा सारिएको छ ।


सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको छ । बैतडीको सिगास गाउँपालिकाको केन्द्र साबिकको शिवलिंग गाविसको गर्जेमा कायम गरिएको छ । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा राख्ने निर्णय गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।


दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला बान्चौर कायम गरिएको छ ।

यस्तै, बझाङको काडा गाउँपालिकाको नाम साइपाल, डोटीको बोगटान गाउँपालिकाको नाम बोगटान फुडिसल, सायल गाउँपालिकाको केन्द्र ओमनगरमा राखिएको छ । बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाधु धुलाचौर तोकिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?