कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हत्या आरोपी १० वर्षपछि पक्राउ

गर्भवतीसहित २ जनाको हत्या 
कान्तिपुर संवाददाता

ताप्लेजुङ — गर्भवती र उनका श्रीमान्लाई एकै ठाउँमा हत्या गरेका मुख्य आरोपी १० वर्षपछि पक्राउ परेका छन् । मिक्वाखोला गाउँपालिका ४ साँवाका साँवा माइला भनिने चतुरमान लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुल्तबीमा रहेको उनको मुद्दा ब्युँताएर जिल्ला अदालतमा कानुनी प्रक्रिया सुरु भएको छ । जाँडको निगार (छिप्पिएको जाँडको रस) खान नदिएको झोकमा साँवा र बामफोके भन्ने चन्द्र कामीले चक्कु हानेर ती दम्पतीको हत्या गरेका थिए ।


सदरमुकाम बजारमै भएको हत्याले आतंक सिर्जना गरेको थियो । असुरक्षित भएको भन्दै व्यवसायी आन्दोलित बनेका थिए । चन्द्रलाई पक्राउ गरेपछि आन्दोलन मत्थर भएको थियो । तर हरेक सुरक्षा निकायका प्रमुख फेरिँदा व्यवसायीले हत्यामा संलग्न सबैलाई पक्राउ गर्न ध्यानाकर्षण गराउँदै आएका थिए । उनीहरूले ०६५ वैशाख ५ गते साँझ ८ कोप्चे बजारमा होटल गर्ने दिलकुमार र शान्ता राईलाई चक्कु प्रहार गरेका थिए । पोस्टमार्टम रिपोर्टमा शान्ता गर्भवती रहेको प्रहरीले जनाएको थियो ।


प्रहरीले गराएको जानकारीमा साँवाले आफूहरूले निगार मागेको र नदिएपछि हत्या गरेको स्वीकारे । ‘गएर निगार माग्यौं, हुँदैन रात पर्‍यो भनेपछि श्रीमान्/श्रीमती दुवैलाई हान्यौं,’ अभियुक्तले भने । दुवैको शरीरमा यत्रतत्र प्रहार गरेर भागेका थिए । ती दम्पती व्यवसाय गर्न झापाको गौरीगन्जबाट आएका थिए ।


चतुरमानलाई पोखरामा रहेका बेला विशेष सुराकीका आधारमा कास्की प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए । थापालगायतका प्रहरीको व्यवसायीले प्रशंसा गरेका छन् । जिल्लामा आएका डीएसपी शान्तिराज कोइराला र थापाले विशेष सक्रियता देखाएको होटल व्यवसायी संघ ताप्लेजुङले जनायो ।


साँवा हत्यापछि चतुरमान भागेर भारतको सिक्किम गएका थिए । त्यसपछि सिक्किम र नेपाल आउजाउ गरिरहेका उनलाई पोखरामा फर्निचरमा काम गरेको थाहा पाएपछि पक्राउ गरेको प्रहरीले जनायो । साँवाका श्रीमती र दुई छोराछोरी छन् । श्रीमती भने वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको उनले बताए ।


घटनाका दिन उनीहरू मिक्वाखोला २ खोक्लिङमा लागेको रामनवमी मेलामा मादक पदार्थ सेवन गरेर आएका थिए । नशाकै सुरमा हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?