कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगातारको हिमपातले खुलेनन् विद्यालय

भर्ना अभियान प्रभावित हुने
जयबहादुर रोकाया

हुम्ला — फागनुबाट नयाॅ शैक्षिक सत्र सुरु भए पनि लगातारको हिमपातका कारण विद्यालय खुल्न सकेका छैनन् । सदरमुकाम सिमकोटसहित जिल्लाभरि हिउँ पर्ने क्रम जारी रहेकाले विद्यालय सञ्चालन गर्न समस्या भएको हो । अधिकांश विद्यालय भवन हिउँमा पुरिनुका साथै जिल्लाभर अत्यधिक चिसो छ ।

माघ महिनामा दुईपटक परेको हिउँ पग्लन नपाउँदै फागुनमा पनि पटकपटकको हिमपातले चिसो घटेको छैन । फागुन पहिलो साताबाटै हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । बिहीबार बिहानदेखि हिमपात भएको छ । पुरानो हिउँ नपग्लेकै अवस्था पुनः थपिएपछि सिमकोटमा अहिले पुरानै हिउँमाथि दुई इन्च बाक्लो जमेको छ ।


पहिलेकै एक फिट हिउँ पग्लेको थिएन । हिउँ पर्न नरोकिँदा जिल्लाको उत्तरी भेगका विद्यालय हिउँले पुरिएका छन् । विद्यालय हातामा हिउँ जमेकाले विद्यार्थी र शिक्षकलाई आउजाउमै समस्या छ । बेंसीतिरका केही विद्यालय भने खुल्ने तर्खरमा छन् । 


सदरमुकामस्थित बालमन्दिर माविले हिउँ पुरिएको भवनको बरण्डामा टेबल र कुर्सी राखेर हिउँ पर्न रोकिएको समयमा विद्यार्थी भर्ना लिन सुरु गरेको छ । पहिलो दिनमै विभिन्न कक्षाका नयाॅ र पुराना गरी ४५ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए । सदरमुकामकै मानसरोवर माविले पनि फागुन ३ गतेबाट भर्ना सुरु गरेको प्रअ अमर शाहीले सुनाए ।


सदरमुकामस्थित सिमकोट गाउॅपालिकामा आधारभूत र मावि गरी ११ सामुदायिक विद्यालय छन् । सदरमुकामभन्दा उत्तरका विद्यालय हिमपातले बढी प्रभावित भएको शिक्षा विकास समन्वय इकाईले जनाएको छ । विद्यालय खुल्न अझै केही समय पर्खनुपर्ने स्थानीयले बताए ।


हुम्लामा सरकारको भर्ना अभियान सञ्चालन नगर्ने भएकाले स्थानीय विद्यालयले आफैं भर्ना लिने गरेका छन् । केही गाउॅपालिकाका जिम्मेवार पदाधिकारी जिल्लामा नहुँदा स्थानीय तहबाट भर्ना अभियानका कुनै कार्यक्रम हुन सकेका छैनन् ।


हुम्लामा फागुनदेखि नै नयाॅ शैक्षिक सत्र सुरु हुने भए पनि सरकारले मुलुकभरि एकैसाथ कार्यक्रम पठाउने भएकाले अहिले कुनै कार्यक्रम नआएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वर्ष फडेराले बताए । उनले सरकारबाट कार्यक्रम नआए पनि माविसम्मको भर्ना अभियान स्थानीय तहले सञ्चालन गर्न सकिने जनाए ।


हिमालपारिको बस्ती लिमीका विद्यालय भने बर्सेनि वैशाखपछि मात्रै सञ्चालन आउने गरेका छन् । लिमी आउजाउ गर्ने बाटो हिउँले पुरिएर बन्द भएकाले हिउँ पग्लेर बाटो खुलेपछि मात्र पठनपाठन सुरु हुन्छ । हिउँ पर्नुअघि नै लिमीका स्थानीले घर छाड्ने गरेका छन् । उनीहरू वैशाखमा मात्रै गाउँ फर्कन्छन् ।


इकाईका अनुसार जिल्लामा नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । हवाई ढुवानी गर्नुपर्ने भए पनि हिमपातले जहाज आउन नसक्दा पुस्तक ढुवानी हुन नसकेको हो । इकाई प्रमुख फडेराका अनुसार जिल्लामा पुस्तक ढुवानी गर्ने तीन एजेन्ट छन् ।


यसैबीच पटकपटकको हिमपातका कारण हवाई उडान प्रभावित हुँदा स्थानीयलाई जिल्ला बाहिर जान र फर्कन समस्या भएको छ । सडक यातायातको सुविधा नभएको हुम्लाका लागि हवाई सेवाको विकल्प छैन ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?