उपचार नपाएको घाइतेको गुनासो

२ जना अझै अस्पतालमा
कान्तिपुर संवाददाता

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाले उपचार नपाएको गुनासो गरेका छन् । उनीहरूले राम्रो उपचार र सरकारले दिने खर्च नपाएको बताए ।

निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै भदौ ७ र ८ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये कतिपयले अझै उपचार पाउन सकेका छैनन् । केही अहिले पनि उपचाररत छन् । गोलीका छर्रा लागेकाले केहीले उपचार पाउन सकेका छैनन् ।


भदौ ८ गते गोली लागेका उमेश देउवा र ७ गते गोली लागेका अर्जुन भण्डारा, तेज भट्ट अहिले पनि अस्पतालमै छन् । देउवा र भण्डाराको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भट्टको भने चितवनमा उपचार भइरहेको छ । तर समयमा उपचार खर्च नपाउँदा समस्या भएको उनीहरूका आफन्तले बताए ।


‘तीन महिनादेखि सरकारले खर्च दिन छाडेको छ, आफ्नै खर्चमा उपचार गरिरहेका छौं,’ बिहीबार पीडित तथा आफन्तले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उमेशकी आमा गंगादेवीले भनिन्, ‘पुसमा अस्पतालबाट घर पठाएको हो, हरेक महिना काठमाडौं लैजानुपर्छ, त्यसमै धेरै खर्च भइसकेको छ ।’ उनका अनुसार पुससम्म उमेशको उपचार खर्च सरकारले व्यहोरेको थियो । घर ल्याएदेखि भने खर्च दिन छाडेको हो ।


उनको बायाँ खुट्टा र बायाँ हातमा गोली लागेको थियो । हरेक पटक एम्बुलेन्समा ल्याउन, लैजानमात्रै ६० हजार र बस्न, खान तथा उपचारमा ठूलो रकम खर्च भइरहेको छ ।


भदौ ७ गते जिल्ला प्रशासनअगाडि गोली लागेर घाइते भएका अर्जुन अहिले पनि काठमाडौं शिक्षण अस्पतालमै छन् । उनी बेहोस अवस्थामै छन् । गोली लागेको दायाँ खुट्टा काटिइसकेको छ । ‘उपचारमा पनि लापरबाही भयो, समयमा खर्च पनि पाइँदैन,’ अर्जुनका दाइ योगेन्द्रले भने, ‘१०/१५ दिन गृह मन्त्रालय धाएपछि मात्रै खर्च पाइन्छ ।’ उनले लामो समयदेखि उपचार भइरहेकाले डाक्टर र अन्य स्वास्थ्यकर्मीले समेत लापरबाही गर्न थालेको गुनासो गरे ।


भदौ ७ गते खुट्टामा गोलीका छर्रा लागेका लालझाडी गाउँपालिका ५ का कृतप्रसाद पनेरूले त उपचार नै पाएनन् । छर्रा लाग्नेबित्तिकै धनगढीबाट काठमाडौं पठाए पनि छर्रा निकाल्न नसकिने भन्दै डाक्टरले घर पठाएको उनले बताए । ‘शिक्षण अस्पतालमा देखाउनेबित्तिकै छर्रा धेरै छ, खुट्टा काट्नुपर्छ भनियो,’ कृतले भने, ‘अहिले खुट्टा दुखेर हिंड्नै गाह्रो हुन थालेको छ ।’ उनले तीनपटक उपचारका लागि काठमाडौं गए पनि अहिलेसम्म सरकारले दिने उपचार खर्च नपाएको बताए ।


‘डाक्टरले हातमा धेरै छर्रा छ भनेका छन्,’ घाइते चेतन भट्टले भने, ‘कुनै बेला त हात हल्लाउनै सकिँदैन, डाक्टरले दुखेपछि मात्रै आउनु भनेका छन् ।’ चेतन आफूले अहिले दोस्रो जुनी पाएको महसुस गर्छन् । भदौ ८ गते प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको थियो । अधिकांश सञ्चारमाध्यममा चेतनकै खबर आइरहेको थियो ।


उनी आफैंले समेत अनलाइनमा आफ्नो मृत्युको खबर पढेका थिए । घाइते भएर उपचारका लागि धनगढी लगिरहेका बेलामात्रै उनले उक्त खबर थाहा पाएका हुन् । उनले सुरुमा एकपटक आउने, जाने र उपचार खर्च जिल्ला प्रशासनबाट बुझे पनि त्यसपछि सबै आफ्नै खर्चले उपचार भइरहेको बताए ।


निर्मला घटनाको दोस्रो दिन साउन ११ गते भीमदत्त नगरपालिका कार्यालयअघि लाठीचार्जबाट घाइते वेदकोट नगरपालिका १ का सुरेन्द्र देउवाले पनि उपचार नपाएको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?