२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेकपाको एकता कार्यदल भंग, सचिवालयले नै सांगठनिक एकता प्रस्तावको खाका कोर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठन भएको एकता कार्यदललाई भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

नेकपाको एकता कार्यदल भंग, सचिवालयले नै सांगठनिक एकता प्रस्तावको खाका कोर्ने

बिहीबारदेखि सुरु भएको छलफलमा कार्यदलको संयोजक रहेका गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गरेका थिए । थापाको मागमा कार्यदलका अन्य सदस्यहरु पनि सहमत थिए । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने हिजो नै कार्यदल भंग गर्ने मनसाय व्यक्त गरेका थिए ।


अन्तिम प्रतिवेदन नबुझाउँदै एकता कार्यदल भ‌ंग भएपछि अब शीर्ष नेताहरु रहेको सचिवालयले नै सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने भएको छ ।


शुक्रबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार निर्णय भएको हो ।


'अब एकता प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।


गृहमन्त्री थापा संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए ।


गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।


प्रकाशित : फाल्गुन १०, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?