विद्यार्थीको समस्या समाधान गर्न अस्ट्रेलियाको शिक्षा विभागलाई नेपाली दूतावासको आग्रह

नारायण खड्का

अस्ट्रेलिया — नेपाली दूतावासका अधिकारीहरुले अन्योलमा परेका विद्यार्थीहरुको न्यायपूर्ण समाधानका लागि अस्ट्रेलियाको शिक्षा विभागलाई आग्रह गरेका छन् । अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता रद्द भएपछि समस्यामा परेका सयौं नेपालीको  भिसा, नर्सिङ पढिरहेकाको भविष्य, क्रेडिट ट्रान्सफरलगायत विषयमा दूतावासका अधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

विद्यार्थीको समस्या समाधान गर्न अस्ट्रेलियाको शिक्षा विभागलाई नेपाली दूतावासको आग्रह

एआइबिटीको दर्ता खारेज भएपछि ८ सयभन्दा बढी नेपाली विद्यार्थी समस्यामा परेका छन् ।


क्यानबेरामा रहेको शिक्षा विभागमा भएको छलफलमा क्यानबेरास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत दु्रपदा सापकोटाको नेतृत्वमा प्रथम सचिव निर्मल भट्टराईलगायतका अधिकारी र विभागका साउथ एसिया डिभिजन, अन्तर्राष्ट्रिय ग्रुप हेर्ने निकाय र कानुन तथा नीति निर्माण शाखाका उच्च अधिकारीहरु सम्मिलित थिए ।


नेपाली टोलीले विद्यार्थीहरुको भिसा, नर्सिङ पढेका विद्यार्थीको भविष्य, शैक्षिक विषयको क्रेडिट ट्रान्सफरलगायत विषयमा औपचारिक धारणा राखेको थियो । शिक्षा विभागका अधिकारीहरुले नेपाली विद्यार्थीको समस्यालाई मध्यनजर गरी विभिन्न निकायहरुसँग छलफल गरिरहेको र चाँडै समस्या समाधान निकालिने बताएका थिए । 'उनीहरुले विद्यार्थीको समस्याप्रति गम्भीर रहेको र क्रेडिट ट्रान्सफर, अंग्रेजी भाषा परीक्षा, भिसालगायतको समाधान गर्न लागिपर्ने आश्वासन दिएका छन् ' राजदूत सापकोटाले कान्तिपुरसँग भनिन् ।


दूतावासले बिहीबार अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुसँग विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको थियो । यसैगरी दूतावासका अधिकारीहरुले यसै साता अस्ट्रेलियाको नर्सिङ नियमन निकाय अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल (एनम्याक) का अधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् । विद्यार्थीहरु पीडित रहेको कलेज एआइबिटीका अधिकारीहरुसँग समेत छलफल गरिने छ ।


गलत कार्य गरेका कन्सल्टेन्सीहरुलाई कारबाही गर्न नेपाल सरकारलाई दूतावासमार्फत् आग्रह गरिएको कार्यवाहक राजदूत सापकोटाले बताइन् ।


विद्यार्थी समस्या चर्किँदै गएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संस्था (सिसा)ले बिहीबार विद्यार्थी र सरोकारवालासँग अन्तर्क्रिया गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो समस्या समाधान गरिदिन आग्रह गरेका थिए । उनीहरुले हजारौं डलर शुल्क तिरिसकेको, भिसा सकिन लागेको लगायत समस्या दर्साएका थिए ।


अस्ट्रेलियाको शैक्षिक नियमन निकाय अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले गलत व्यावसायिक तरिका अपनाएको भन्दै मार्च २६ सम्मको म्याद दिएर गत मंगलबार उक्त कलेजको दर्ता खारेज गरेको थियो । कलेजले सबैभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत डिप्लोमा अफ नर्सिङको नियमन निकाय एनम्याकमा दर्ता नगरेका कारण समस्या थपिएको हो ।


एनम्याकमा दर्ता नभएको शैक्षिक संस्थाको नर्सिङ विषय अध्ययनलाई अस्ट्रेलियामा मान्यता नहुने प्रावधान छ । उक्त कलेजमा अध्ययनरत नर्सिङबाहेकका अन्य सयौं विद्यार्थी पनि प्रभावित बनेका छन् ।

यो पनि पढौं : अस्ट्रेलियामा सयौं नेपाली अध्ययनरत कलेजको दर्ता खारेज, नर्सिङका विद्यार्थी बढी समस्यामा

प्रकाशित : फाल्गुन १०, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?