१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सुरक्षाबिनै काम

निर्माणस्थल सुरक्षाबारे कानुन भए पनि व्यवहारमा लागू नगर्दा दुर्घटना – विभाग महानिर्देशक 
दीपेन्द्र विष्ट

काठमाडौँ — वीर अस्पतालको सर्जिकल भवन निर्माणमा जुटेका कामदारलाई सामान्य सुरक्षा तालिमसम्म नदिएको पाइएको छ । सुरक्षा सामग्री अभावमा जोखिम मोलेर काम गर्नुपरेको उनीहरू बताउँछन् । 

सामान ओसार्ने क्रममा लिफ्ट चुँडिँदा बिहीबार राति दुई कामदारको मृत्यु भएको छ । एकको अवस्था गम्भीर छ ।

तेस्रो तलाबाट पाँचौं तला ढलानका लागि पाइप लैजाने क्रममा ओभरलोड भएर लिफ्ट सिधै बेसमेन्टमा बजारिएको थियो ।


लिफ्टको सामग्री बोक्ने क्षमता थाहा नपाउँदा दुर्घटना भएको मजदुरको भनाइ छ । ‘ओभरलोड भयो, लिफ्टको बोक्ने क्षमता कति हो भन्नेसम्म हामीलाई थाहा थिएन,’ एक कामदारले भने भने, ‘मजदुर हुन्, यिनलाई जसरी काम लगाउँदा हुन्छ भन्ने मानसिकता मात्र छ, त्यसकारण दुर्घटना भएको हो ।’ उक्त भवन ‘शर्मा एन्ड शर्मा’ कम्पनीलाई ठेक्का दिइएको छ ।


उनका अनुसार रोजीरोटीकै लागि जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ । निर्माण व्यवसायीले मजदुरलाई सुरक्षासम्बन्धी सामान्य तालिमसमेत दिएका छैनन् । ‘७ तलाको भवन छ, सामान्य हेलमेट मात्र दिइएको छ, पन्जासमेत छैन,’ उनले भने, ‘गमबुट त दिएकै छैन ।’


साइटमा इन्जिनियर, सबइन्जिनियर र योजना अधिकृतबाहेक सुरक्षासम्बन्धी जानकारी दिने कुनै अधिकारी नआएको ती कामदारले बताए । ‘मैले विदेशलगायत नेपालका विभिन्न स्थानमा अग्लाअग्ला भवन निर्माण गरेँ, त्यहाँ सुरक्षा थियो, आपतकालीन अवस्थामा उद्धार गर्ने सामग्री पनि थिए तर यहाँ केही छैन,’ सिमेन्टले फुटेका हातगोडा देखाउँदै उनले भने, ‘यो त चरम लापरबाही हो ।’


ट्रमा सेन्टरको आईसीयू कक्षबाहिर निराश भेटिएका अर्का कामदार लिफ्टको क्षमता पहिल्यै थाहा पाएको भए साथीहरूले ज्यान गुमाउनु नपर्ने बताउँछन् । ‘काम गरेको चार महिना भयो, हेलमेटबाहेक केही पाएको छैन,’ उनले भने । लिफ्ट खस्दा आफू दोस्रो तलामा रहेको उल्लेख गर्दै उनले मानिस चिच्याएको मात्र सुनेको बताए ।


‘जमिन निकैबेर थर्कियो, मानिस चिच्याएको आवाज आयो, एकछिन सबै स्तब्ध भयौं,’ उनले भने, ‘लिफ्टमा लगिँदै गरेको ढलान गर्ने पाइपले मानिस च्यापेको थियो, तत्काल निकाल्न सक्ने अवस्था थिएन ।’ दुर्घटनाको करिब १५ मिनेटपछि मात्र उद्धार गर्न सकिएको चौधरीले बताए । उनका अनुसार भवन निर्माणमा करिब २ सय कार्यरत छन् । ‘कुनै साथी काम गर्ने मनस्थितिमा छैनन्, भुक्तानी दिए अधिकांश काम छोडेर घर जाने भन्दै छन्,’ उनले भने, ‘सुरक्षा नभएको स्थानमा काम नगर भनेर परिवारले दबाब दिन थालेका छन् ।’


सुरक्षासम्बन्धी ऐन–कानुन व्यवहारमा लागू नगर्दा दुर्घटना भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । भवन विभागले करिब अढाई अर्ब रुपैयाँमा उक्त भवन ठेक्का लगाएको हो । ठेक्का सम्झौतामा मजदुरलाई पेसागत स्वास्थ्य सुरक्षासम्बन्धी तालिम दिने प्रावधान रहेको गेलालको भनाइ छ । श्रम तथा रोजगार ऐनमै बिमा, सुरक्षालगायत पर्याप्त प्रावधान रहेकाले निर्माण व्यवसायीले मजदुरको सुरक्षा र हकहितमा कन्जुस्याइँ गर्न नहुने उनले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?