३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओभरलोडले चुँडियो लिफ्ट

वीर अस्पतालको सर्जिकल भवन निर्माणका क्रममा लिफ्ट ओभरलोड हुँदा चार तलाबाट खसेर बिहीबार दुई कामदारले ज्यान गुमाए । एक गम्भीर घाइते छन् । ठेकेदारले कामदारलाई सामान्य सुरक्षा तालिमसम्म दिएका छैनन् ।
फातिमा बानु

काठमाडौँ — शुक्रबार साँझ साढे पाँच बजेतिर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्दा मनोजकुमार चौधरी सेतो कपडाले छोपेको शवअगाडि सल्केको एक मुट्ठी धूप लिएर बसेका थिए । शव थियो उनकै कान्छा भाइ नवीनकुमारको ।

ओभरलोडले चुँडियो लिफ्ट

थकित स्वरमा उनी फोनमा कुरा गरिरहेका थिए । सायद, फोनमार्फत घरमा नवीनकै कुरा गर्दै थिए । अस्पतालले पोस्टमार्टम गरी फिर्ता दिएको शव एम्बुलेन्समा हालेर गाउँ जाने तयारीमा रहेछन् उनी ।


बिहीबार राति वीर अस्पतालको सर्जिकल भवनको सामान ओसार्ने लिफ्ट चुँडिँदा त्यसमा रहेका सप्तरी शम्भुनाथ नगरपालिकाका २५ वर्षीय नवीनकुमारले ज्यान गुमाएका हुन् । ‘हामी दाजुभाइ एकै ठाउँमा काम गर्थ्यौं, घर चलाउन गाह्रो भएकाले पढ्न रहर गर्ने भाइलाई मैले सँगै काम गर्न काठमाडौं ल्याएको थिएँ,’ उनले भने । दाजु मनोजकुमारका अनुसार नवीन बीएससी सकेर स्नातकोत्तर पढ्ने तयारी गरिरहेका थिए । पढदै काम गरिरहेका थिए । उनी घरका कान्छा सदस्य थिए ।


नवीनलाई आँखैअगाडि क्षतविक्षत भएको देखेका थिए सँगै काम गर्ने साथी जयकान्त चौधरीले । ‘बत्ती नभएको अँध्यारो ठाउँमा काम गरिरहेका थियौं, अचानक बम पडकिएको जस्तो ठूलो आवाज आयो,’ बिहीबारको घटना उनले सुनाए, ‘काम गर्ने ठाउँ बेस्सरी थर्किएको थियो, दौडेर तल पुगेर हेर्दा तीन जना साथी रगतैरगतमा डुबेको जस्तो देखेँ ।’


जयकान्तका अनुसार नवीन र अरू दुई जनाले लिफ्टबाट तीन तलामाथि पुगेको सामान झिक्ने जिम्मेवारी पाएका थिए । सामान झिक्न लाग्दा लिफ्ट चुँडिएको थियो । साँझ करिब साढे सात बजे चुँडिएको लिफ्टमा परेर उनीहरू घाइते भए ।


उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका उनको केही क्षणमै मृत्यु भयो । ट्रमा सेन्टरका निर्देशक डा. विनोद शेरचनका अनुसार चिकित्सकले हेर्दा नवीनको पूरै अनुहार क्षतविक्षत थियो, टाउकामा गम्भीर चोट थियो । उनले भने, ‘हामीले निकै प्रयत्न गर्‍यौं तर बचाउन सकिएन ।’


चुँडिएको लिफ्टमा परेर नवीनसँगै भूमिकुमार चौधरीले पनि ज्यान गुमाए । २० वर्षीय भूमिकुमार पनि सप्तरीकै हुन् । नवीनकै छिमेकी । अनुहारै चिन्न नसकिने गरी घाइते भएका उनको उपचार क्रममा राति ११ बजे निधन भएको थियो । उनी चार वर्षदेखि काठमाडौंमा बसेर काम गरिरहेका थिए । उनको शव लिन काठमाडौं आइपुगेका दाजु हिमाल थारू (चौधरी) ले भने, ‘गाउँमै बसेर पढ, राम्रो गर भनेको हो, मानेन । ६ कक्षा मात्रै पढेर काम गर्न हिँडेको भाइलाई आज गुमायौं ।’


६ दाजुमुनिका कान्छा भूमिकुमारको मृत्युको खबरले गाउँमा आमा अर्धबेहोस अवस्थामा रहेको उनले सुनाए । घटनाका प्रत्यक्षदर्शी भूमिकुमारका साथी जयकान्त उनी नम्र, बाँडीचुँडी खाने र धेरै नबोल्ने खालको भएको बताउँछन् ।


‘दिउँसो हामीले सँगै खाना खाएका थियौं, काम सकेर भरे घुम्न हिँडौंला भनेको थियो उसले,’ जयकान्तले भने । शुक्रबार बिहान १० बजेसम्म घरमा भूमिकुमारको मृत्युको खबर पुर्‍याउने आँट गर्न सकेका थिएनन् उनले ।

आँखैअगाडि आफ्ना साथीहरू रगताम्य भएका ठाउँमा अब काम गर्न जान जयकान्तलाई कत्ति मन छैन ।


लिफ्टबाट खसेर गम्भीर घाइते भएका सफ्तरीकै २० वर्षीय सचितानन्द चौधरीको ढाड र खुट्टाको हड्डी टुक्राटुत्रा भएको छ । ट्रमा सेन्टरको आईसीयूमा उपचाररत उनको राति नै शल्यक्रिया गरिएको थियो । अनुहार जोगिएको भए पनि उनको अवस्था अझै गम्भीर रहेको डा. शेरचनले बताए ।


घटनाको खबर पाउनेबित्तिकै काठमाडौं आएकी उनकी भाउजू रीना चौधरीका अनुसार सचितानन्द काठमाडौं हिँडेको १० दिन मात्र भएको थियो । सचितानन्द पनि घरका कान्छा छोरा हुन् । उनी कामका लागि काठमाडौं–सप्तरी आउनेजाने गरिरहन्थे ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?