३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धर्नामा बस्दा निर्मलाका बाआमा बिरामी

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्ना स्थगित गरिएको छ । धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी परेपछि शुक्रबार धर्ना स्थगित गरिएको हो ।

धर्नामा बस्दा निर्मलाका बाआमा बिरामी

हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ देखि जिल्ला प्रशासनअघि सुरु भएको धर्ना १०५ दिनपछि स्थगित भएको हो । ज्येष्ठ नागरिक ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया बालिका आरुशी चन्दले निर्मलाका आमाबुवालाई जुस खुवाएर धर्ना स्थगित गराएका हुन् । ‘हामीले धर्नामात्रै स्थगित गरेका हौं, न्यायका लागि हाम्रो आन्दोलन जारी छ,’ निर्मलाका बुवा यज्ञराजले भने, ‘लामो समयसम्म चिसोमा बस्दा स्वास्थ्यमा समस्या आएकाले स्थगित गर्‍यौं ।’


निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै चरणबद्ध आन्दोलन भइरहेकै बेला पीडित परिवारले कात्तिक २५ देखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । बुवा यज्ञराजसंगै आमा दुर्गा र लक्ष्मी पनि पालैपालो धर्ना बसे । धर्नाकै क्रममा यज्ञराज बिरामी परे । ‘हामी १०५ दिन धर्ना बस्यौं, धेरैले सहयोग गरे, तर सरकारले हत्यारा सार्वजनिक गर्न आनाकानी गरिरहेको छ,’ यज्ञराजले भने, ‘न्यायका लागि सुरु आन्दोलन न्याय नपाएसम्म रोकिँदैन ।’


धर्ना बसेकै बेला मानसिक रूपमा अस्वस्थ भएपछि यज्ञराजलाई मंसिर ८ गते उपचारका लागि काठमाडौं लगिएको थियो । उनी पुस २ गते महेन्द्रनगर फर्केर पुनः धर्ना बसे । ‘डाक्टरले माघ १० गते नै बोलाएका हुन्, तर धर्ना छाड्न नसकेर ढिलो भयो,’ यज्ञराजले भने, ‘टाउको दुख्ने, पेट दुख्ने, खाना नरुच्ने समस्या बढ्दै गएको छ ।’ यसअघि उनको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भएको थियो ।


‘निर्मलाको हत्या भएको ठीक ७ महिना पुर्‍यो, चरणबद्ध रूपमा आन्दोलन चलिरहेको छ, हत्यारा सार्वजनिक भएको छैन,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘न्यायका लागि सबैले साथ दिए, फेरि पनि सबैको साथ आवश्यक छ ।’ उनले न्याय माग्दामाग्दै परिवारै बिरामी परे पनि सरकारले वास्ता नगरेको गुनासो गरिन् ।


निर्मलाकी कान्छी आमा लक्ष्मी पनि लगातारको धर्नाले अस्वस्थ भएकी छन् । उनलाई पनि टाउको, पेट र छाती दुख्ने समस्या देखिएको छ । ‘चिसोले विभिन्न समस्या देखिए,’ लक्ष्मीले भनिन्, ‘उपचारका लागि पनि धर्ना स्थगित गर्‍यौं ।’ यज्ञराज र लक्ष्मी शुक्रबारै काठमाडौं गएका छन् ।


धर्ना स्थगित गर्नुअघि यज्ञराजले जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई हत्यारा पत्ता लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । पत्र बुझाउने क्रममा पनि उनले आफू बिरामी भएर धर्ना स्थगित गर्न लागेको जानकारी गराए । सहायक प्रजिअ शंकर विष्टले पत्र बुझ्दै उपचारका लागि आवश्यक सहयोग गर्ने विषयमा गृह मन्त्रालयमा जानकारी

गराउने बताए ।


‘हत्यारा सार्वजनिक होला भन्ने आशा त छैन, तर पनि दबाबमूलक कार्यक्रम गरिरहनेछौं,’ दुर्गादेवीले भनिन्, ‘न्याय नपाउॅदासम्म हामी आन्दोलनमै छौं ।’ निर्मला घटना भएकै दिनदेखि आन्दोलनरत नागरिक संघर्ष समितिले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम चलिरहने जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?