१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बालिका बचाउन थरीथरीका उपाय

सामुदायिक विद्यालयदेखि गाउँगाउँमा तालिम र सीप सिकाइ
दुर्गालाल केसी

दाङ — देशका विभिन्न ठाउँमा दिनहुँजसो बालिका बलात्कार, हत्याजस्ता डरलाग्दा घटना घटिरहेका छन् । यसले तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर मावि रक्षाचौरमा ९ कक्षामा अध्ययनरत लक्ष्मी घर्तीलाई पनि तर्साइरहन्छ ।

बालिका बचाउन थरीथरीका उपाय

सधैं डराएर कति बस्नु, अब त केही न केही गर्नैपर्छ भनेर उनी विभिन्न दुर्व्यवहारबाट बच्ने ज्ञान र सीप सिक्न थालेकी छन् । उनले बाल, महिला अधिकार, हिंसा, दुर्व्यवहारविरुद्ध कानुनका साथै आत्मरक्षाको प्रयोगात्मक ज्ञान हासिल गरेकी हुन् ।


‘बालिकामाथि अति नै अत्याचार हुन थाल्यो । बलात्कार अनि हत्याजस्ता जघन्य अपराध भइरहेका छन्,’ उनले भनिन्, ‘अब यसविरुद्ध सशक्त रूपमा उभिनुपर्छ । हामी बालिका एकजुट भएर हिंसाविरुद्ध बोल्न थालेका छौं ।’ उनको विद्यालयमा धेरै किशोरी अहिले आफूमाथि हुने कुनै पनि दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सक्छन् । चुप लागेर बस्दा नै बालिकामाथि निरन्तर हिंसा भइरहेको उनीहरूको बुझाइ छ । त्यसकारण विद्यालय, घर, समाज जता पनि कसैले दुर्व्यवहारजन्य व्यवहार गरे तत्कालै प्रतिकार गर्न उत्रिहाल्छन् ।


तुलसीपुर–१२, उरहरीकी कविता घिमिरे १२ कक्षामा पढ्छिन् । उनी पनि दिनहुँजसो भइरहेका यौन हिंसा र बलात्कारका घटनाबारे जानकार छिन् । यस्ता घटनाबाट बच्न र चिन्ता कम गर्न उनी पनि आत्मरक्षा तालिममा सहभागी भइन् ।


कलेजमा पढ्ने साथीहरूसँगै आत्मरक्षाको तालिममा सहभागी भएपछि उनको मनोबल बढेको छ । ‘बलात्कारीबाट कसरी उम्कने भन्ने प्राविधिक ज्ञान सिकियो,’ उनले भनिन्, ‘यसले आत्मविश्वास बढाएको छ ।’ देशभर यौन दुर्व्यवहार र बलात्कारका घटना बढ्न थालेपछि किशोरीमाझ आत्मरक्षा तालिम लोकप्रिय भइरहेको छ । यसमा किशोरीको आत्मबल बढाउने सैद्धान्तिक कक्षासँगै मार्सल आर्टका केही तरिकालाई मोडिफाई गरेर प्राविधिक सीप सिकाइन्छ ।


सुनील स्मृति गाउँपालिका–६, गजुल रोल्पाकी सरिता थापा तुलसीपुरमा प्राविधिक शिक्षा अध्ययनरत छन् । उनी पनि कलेजका साथीसँगै आत्मरक्षा तालिममा सहभागी भइन् । ‘आवाज, हात–खुट्टा, दाँतलगायतको बलमा कसरी आफूलाई सुरक्षित गर्ने भन्ने सिकियो,’ उनले भनिन्, ‘आपतकालीन अवस्थामा आफूलाई बलात्कारीको पन्जाबाट कसरी उम्काउने भन्ने विभिन्न प्राविधिक तरिका थाहा भयो । यसले मनोबल बढाएको छ ।’


तुलसीपुरमा मात्रै एकसाथ ३ सय किशोरीले तालिम लिए । जागृति बाल तथा युवा सरोकार नेपाल, राष्ट्रिय युवा परिषद्, गर्ल्स किक र हेल्पिङ हेन्डसले तालिम गराएको हो । निःशुल्क तालिम लिन पाइने भएपछि किशोरीहरू उत्साहसाथ सहभागी भए ।


कतिपयले यसलाई मार्सल आर्ट अर्थात कराँते सिकाइरहेको भन्ने बुझे पनि तालिम त्यस्तो नभएको ११ कक्षामा अध्ययनरत तुलसीपुर १२ की मीना आचार्यले बताइन् । ‘यो हान्ने, मार्ने तालिम होइन । कतिपयले यसलाई गलत बुझिरहेको देखिन्छ,’ उनले भनिन्, ‘जसले पनि कमजोरलाई नै आक्रमण गर्ने भएकाले आफूलाई कसरी बलियो रूपमा प्रस्तुत गर्ने भन्ने कला सिकाइन्छ । समस्या पर्दा हतास नभएर कसरी प्रतिरक्षा गर्ने भन्ने कुरा सिकाइन्छ ।’


तालिममा १, ५ र १५ दिनसम्मका विषयवस्तु छन् । पहिलो दिन किशोरीको क्षमता चिन्नेसम्बन्धी अभिमुखीकरण हुन्छ । त्यसपछि जोखिम क्षेत्र पहिचान, शारीरिक अभ्यास, अभिभावकसँग छलफल र बलात्कारसम्बन्धी कानुनी प्रावधान सिकाइन्छ ।


‘यो तालिमले शारीरिक रूपमा मात्रै नभएर मानसिक रूपमा पनि बलियो बनाउँछ,’ प्रशिक्षक प्रियंका बरालले भनिन्, ‘यो शारीरिक तालिममात्रै होइन, मानसिक रूपमा आत्मविश्वासको तह बढाउने उपाय पनि हो ।’ कसैले एक्कासि समाइहालेमा कसरी फुत्कने भन्ने ज्ञान तालिममा सिकाइन्छ । ‘सुरुमा मौखिक रूपमै आफूलाई सशक्त बनाउनुपर्छ,’ अर्की प्रशिक्षक विद्या विष्टले भनिन्, ‘भौतिक रूपमा आक्रमण भए चलाखी गरेर उम्कने सीप छन् । अप्ठ्यारोबाट फुत्केपछि दौडेर, हल्ला गरेर अरूको मद्दत लिन सकिन्छ ।’


यो तालिम १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको कञ्चनपुर, छिमेकी जिल्ला कैलालीलगायतका क्षेत्रमा पनि सञ्चालन गरिएको छ । कैलालीका ३० सामुदायिक विद्यालयका ९० किशोरीले तालिम लिएको गर्ल्स किकका प्रशिक्षक नीरज न्यौपानेले बताए ।


अझै कैलालीका विभिन्न गाउँपालिकाका थप ३० सामुदायिक विद्यालयमा तालिम दिने उनले सुनाए । ‘यस तालिमले किशोरीलाई शारीरिक रूपमा आत्मरक्षामात्रै नभई मानसिक रूपमा पनि बलियो बनाएको छ । किशोरीले गर्ने हरेक काममा परिवर्तन आएको महसुस हुन्छ,’ उनले भनिन्, ‘तालिमप्राप्त किशोरीको पढाइ, दैनिक क्रियाकलापलगायतमा परिवर्तन आएको छ ।’


केही ठाउँमा तालिम सञ्चालन भएपछि अन्य जिल्लाबाट पनि यस तालिमका लागि सहयोग र सहकार्य गर्न अनुरोध आइरहेको मर्सिकोर नेपालका कार्यक्रम व्यवस्थापक नवीन लामिछानेले बताए । कतिपय ठाउँमा तालिम लिएका किशोरकिशोरी नै प्रशिक्षण दिंदै हिंडेका छन् । तालिम लिएकी कैलाली फूलबारीकी इशु क्षत्रीले अहिले विभिन्न विद्यालयमा ६ वटा तालिम चलाइसकेकी छन् । उनले १ सय ५० भन्दा बढी किशोरीलाई तालिम दिइसकेकी छन् ।


प्रशिक्षण तालिम लिएका कैलालीको गौरीगंगा–९, शंकरपुरका २० वर्षीय नरेश कार्कीलाई पनि अहिले आत्मरक्षा तालिम दिन भ्यानभ्याइ छ । ‘विभिन्न वडा कार्यालय र विद्यालयले तालिम दिन बोलाइरहेका छन्,’ उनले भने, ‘किशोरीहरू तालिमबाट निकै उत्साहित छन् । उनीहरूको आत्मबल बढाउन पाउँदा मलाई पनि आत्मसन्तुष्टि मिलेको छ ।’


तालिममा बलात्कारीले गर्न सक्ने सम्भावित क्रियाकलापको जानकारी दिई विभिन्न अवस्थाको प्रतिरक्षाका उपाय सिकाइने प्रशिक्षक निकेश तामाङले बताए । ‘बलात्कारीका संवेदनशील अंग र अवस्थाको जानकारी दिई आवश्यक पर्दा कसरी उम्किने भन्ने कुरा सिकाइन्छ,’ उनले भने, ‘धेरै किशोरी बलात्कारका सुरुका चरण थाहा नपाउँदा र थाहा पाए पनि सहेर बस्दा यस्तो समस्या आएका छन् ।’ यसले मनोवैज्ञानिक रूपमा बालिकालाई बलियो बनाउँदै बलात्कारीलाई हतोत्साहित गर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?